अलर्ट आईडीबाट आउने यूआरएल लिङ्क नखोल्नूस्, बैंक खाता रित्तिन सक्छ: नेपाल टेलिकम

Technology Khabar ४ भाद्र २०८२, बुधबार

अलर्ट आईडीबाट आउने यूआरएल लिङ्क नखोल्नूस्, बैंक खाता रित्तिन सक्छ: नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई अनलाइन ठगी अभियानबारे सचेत रहन आग्रह गरेको छ। पछिल्ला केही दिनयता विभिन्न अलर्ट आईडीमार्फत ग्राहकको मोबाइलमा नक्कली यूआरएल लिंक पठाइ, “Dear valued customer, your Connect IPS account has been locked. Please verify…” भन्ने भनी झुट्टो सूचना फैलाएर ठगी गर्ने प्रयास भएको पाइएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका अनुसार ती सन्देशहरूमा दिइएका लिंक खोल्न लगाई कनेक्ट आईपीएसको यूजरनेम र पासवर्ड प्रविष्ट गराउनुपर्ने अवस्था सिर्जना गरी अनधिकृत लगइन गर्ने प्रयास भइरहेको छ।

यसरी व्यक्तिगत विवरण चोरेर खाताबाट ठगी गर्ने सम्भावना बढ्ने भएकाले कम्पनीले सम्पूर्ण सेवाग्राहीलाई ती लिंक नखोल्न र सजग रहन टेलिकमले अनुरोध गरेको हो।

आधिकारिक सूचनामात्र पालना गर्न आग्रह

नेपाल टेलिकमले सेवाग्राहीलाई आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु-टिक सहितको आधिकारिक फेसबुक, एक्स तथा वेबसाइट मात्र विश्वास गर्न सुझाव दिएको छ।

साथै अन्य अनधिकृत सामाजिक सञ्जाल वा शंकास्पद वेबसाइटहरूमा प्रकाशित सूचनामा भर नपर्न चेतावनी दिइएको छ। कम्पनीले भनेको छ, “नेपाल टेलिकमका सूचना, जानकारी र सन्देशहरू कम्पनीको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालमार्फत मात्र प्रकाशन गरिन्छ। सेवाग्राहीलाई अपुष्ट स्रोतमा आधारित सूचनामा भर नदिन जोडदार आग्रह गर्दछौं।”

नेपाल टेलिकमले हालै देखिएका यस्ता साइबर ठगी घटनाले डिजिटल सुरक्षा पक्षप्रति अझै सचेत हुनुपर्ने आवश्यकता देखाएको बताएको छ। कम्पनीले साइबर अपराधविरुद्ध निरन्तर निगरानी गरिरहेको र प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिने जनाएको छ।

Sajilo Visa

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार