प्रविधिको प्रयोगमार्फत गुनासो सुनुवाइ गर्दै स्याङ्जाको हरिनास गाउँपालिका

Technology Khabar ४ भाद्र २०८२, बुधबार

काठमाडौं ।

स्याङ्जाको हरिनास गाउँपालिकाले प्रविधि प्रयोगमार्फत नागरिकका गुनासा सुन्ने र तत्काल सम्बोधन गर्ने अभियान थालेको छ। गाउँपालिकाले जनताका गुनासो सुनेर सेवा दिने उद्देश्यले ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम अगाडि बढाएको हो।

गाउँपालिका अध्यक्ष खिमबहादुर मानन्धरले यो अभियान जनता र जनप्रतिनिधिबिचको सम्बन्धलाई अझ नजिक र जीवन्त बनाउने प्रयास भएको बताए। पालिकाले स्थानीयलाई क्युआर कोडमा स्क्यान, ह्वाट्स एप र पालिका सचिवालयको फेसबुक पेजबाट आफ्ना समस्या प्रत्यक्ष जनप्रतिनिधिसम्म पुऱ्याउने व्यवस्था गरेको छ।

क्युआर कोड स्क्यान गरेपछि फर्म आउने र सोही फर्म भरेर गुनासा तथा समस्या पठाउन मिल्ने गरेर व्यवस्था गरेको छ भने पालिकाको सचिवालयको ह्वाट्स एप नम्बरमा पनि पठाउन मिल्ने व्यवस्था गरेको छ। अभियानमा नागरिकले गुनासो दर्ता गर्दा प्रयोग गर्ने क्युआर कोड, ह्वाट्स एप र म्यासेन्जरले कार्यालय धाउनुपर्ने बाध्यता हटाउने छ भने समय र खर्च दुवै बचत हुने छ।

पालिकाभित्रका नागरिकको गुनासोलाई जोसँग सम्बन्धित छ, सोही जनप्रतिनिधिले नागरिकलाई शनिबार फोन, फेसबुक र ह्वाट्स एपबाट आएका गुनासाको सम्बोधन गर्ने व्यवस्था पालिकाले गरेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया