फक्सकन र सफ्टब्याङ्क मिलेर स्टारगेट परियोजनाका लागि ओहायोमा डाटा सेन्टर उपकरण बनाउने

  • Technology Khabar | ४ भाद्र २०८२, बुधबार
फक्सकन र सफ्टब्याङ्क मिलेर स्टारगेट परियोजनाका लागि ओहायोमा डाटा सेन्टर उपकरण बनाउने

काठमाडौं ।

फक्सकनले सोमबार जापानको सफ्टबैंकसँग मिलेर अमेरिकाको ओहायोमा रहेको आफ्नो पूर्व इलेक्ट्रिक सवारीसाधन कारखानामा डाटा सेन्टर उपकरण उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ। यो परियोजना अमेरिकी कृत्रिम बुद्धिमत्ता पूर्वाधारलाई अगाडि बढाउने ‘स्टारगेट’ योजनाअन्तर्गत हुने भएको छ।

सफ्टबैंकले लर्डस्टाउन साइट खरिद गरेको फक्सकनका अध्यक्ष यङ लियुले पत्रकारलाई बताए। उनका अनुसार, फक्सकन उक्त साइटमा सञ्चालनलाई जारी राख्नेछ, जसका लागि दुबै कम्पनीले संयुक्त उद्यम स्थापना गर्नेछन्।

रोयटर्सका अनुसार फक्सकनले यस महिनाको सुरुमा कारखाना र यसको मेसिनरी ३७५ मिलियन डलरमा बेच्ने सम्झौता गरेको जानकारी दिएको थियो, तर त्यतिबेला खरिदकर्ताको नाम खुलाइएको थिएन।

स्टारगेट सफ्टबैंक, च्याटजीपीटी निर्माता ओपनएआई र ओराकलबीचको संयुक्त उद्यम हो। यो परियोजनाको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा गरेका थिए। उनले सो अवसरमा यी कम्पनीहरूले ५०० अर्ब डलरसम्म लगानी गर्ने बताएका थिए। सफ्टबैंकले तत्कालै यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।

फक्सकन अध्यक्ष यङका अनुसार, सफ्टबैंक र फक्सकनले यो परियोजनाका लागि आधा वर्षभन्दा अगाडिदेखि नै तयारी सुरु गरेका थिए।
“हामीलाई थाहा छ, यस परियोजनाका लागि पहिलो प्राथमिकता उर्जा, स्थल र समय हो— यसलाई धेरै ढिलाइ गर्न सकिँदैन। यी सबै पक्षलाई ध्यानमा राख्दा हामीलाई ओहायो उपयुक्त स्थान लाग्छ, र सफ्टबैंक पनि यसै विचारमा छ,” उनले भने।

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार