Technology Khabar ३ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाएर अप्टिकल फाइवर कोरको भाडा यहि भदौ १ गतेदेखि करिब ६ प्रतिशतले बढेको र उक्त बढेको भाडा बुझाउन ताकेता गरेको छ।
विद्युत प्राधिकरणले आफ्नो पोल प्रयोग गरेबापत र आफ्नो अप्टिकल फाइबर प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायकहरुसँग भाडा दर लिँदै आएको छ। यदपी उक्त भाडादर एकतर्फीरुपमा तोकिएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले विरोध जनाउँदै आएका थिए।
जसले गर्दा प्राधिकरणले समयमा भाडा नतिरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिने गरेको छ। यस्तो कार्यको विरुद्द इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अदालतबाट आदेश समेत ल्याएको थियो।
हेर्नुस् सम्बन्धित समाचार-
इन्टरनेटको तार काट्ने वा इन्टरनेट सेवा अवरुद्ध गर्ने जस्ता कार्य नगर्न उच्च अदालतको फैसला
यसअघि नेपाल विद्युत प्राधिकरणले २०७७ भदौ ५ गतेको बोर्ड बैठकबाट नयाँ मूल्य कायम गराएको थियो। र सोहीअनुसार विभिन्न किसिमका भाडाको शुल्क तिर्न भनिएको थियो।
सम्बन्धित समाचार-
यस्तो छ विद्युत प्राधिकरणले बढाएको विवादित पोल भाडादर, हेर्नुस् पुरानो र नयाँ भाडादरको तुलना
यसपछि अहिले कम्पनीले अप्टिकल फाइबरको भाडा बढाएको जानकारी दिएको हो।
आजै मंगलबार नेटवर्क सेवा प्रदायकहरुलाई पत्र काटेर विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागले ५/५ वर्षमा ५ प्रतिशत वा नेपाल राष्ट्र बैंकको मूल्य सूची मध्ये जुन बढी हुन्छ सोही दरले वृद्धि गरिने सहितको सम्झौता रहेको भन्दै सोहीअनुसार फाइवरको प्रति कोर प्रति कि.मी. प्रति वर्ष ३३ हजार ८७२ रुपैयाँ तोकिएको उल्लेख गरेको छ। यसैगरी विद्युत प्राधिकरणको हातामा नोड प्वाइन्ट (Node Point) को लागि उपकरण जडान गरे बापत प्रति वर्ष रु. १ लाख ६० हजार ४६ रुपैयाँ हुने गरि कायम गरिएको बताएको छ।
प्राधिकरणले पठाएको पत्रमा भनिएको छ, “नेपाल विद्युत प्राधिकरणको मिति २०८२/४/३० को निर्णयानुसार मिति २०८२/०५/०१ देखि लागु हुने गरि नेपाल राष्ट्र बैंकको विगत ५ वर्षको औसत Price Index ५.८५% रहेकोले सोहि अनुसार भाडा बृद्धि गरि फाइवरको प्रति कोर प्रति कि.मी. प्रति वर्ष रु. ३३,८७२।०० र ने.वि.प्रा. को हातामा Node Point को लागि उपकरण जडान गरे बापत प्रति वर्ष रु.१,६०,०४६।०० हुने गरि कायम गरिएको व्यहोरा अनुरोध छ।”
विद्युत प्राधिकरणले काठमाडौं उपत्यकमा भएका नेपाल दूरसंचार कम्पनी लिमिटेड, एनसेल आजियाटा लिमिटेड, वल्डलिंक कम्युनिकेशन लिमिटेड, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेशन लि., भायानेट कम्युनिकेशन लिमिटेड, टेकमाइण्डस् नेटवर्क प्रा.ली., सुबिसु केवलनेट प्रा. ली., सिम्पल मिडिया नेटवर्क प्रा.ली., नेपाल डिजिटल सर्भिस प्रा. लि., मर्कन्टायल कम्यूनिकेशन प्रा.ली., क्लासिक टेक प्रा. ली., सि.जी.कम्यूनिकेसन्स लिमिटेडसहित सोलुखुम्बुको नुम्बुर नेटवर्क प्रा. लि र नवलपरासीको फाईबरवल्ड कम्युनिकेसन प्रा.लि.लाई पत्र काटेको हो।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार