Technology Khabar ३ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
माइक्रोसफ्टले विन्डोज १० र विन्डोज ११ को लागि आफ्नो माइक्रोसफ्ट स्टोर एप अपडेट गरेको छ। यो अपडेटले विगत केही वर्षदेखि प्रयोगकर्ताहरूले भोग्दै आएको व्यवहारलाई केवल एउटा सुविधाको साथ परिवर्तन गरेको छ।
पहिले, स्वचालित एप अपडेटहरू पूर्ण रूपमा असक्षम गर्न र प्रयोगकर्ताले चाहेको बेला मात्र अपडेट गर्न सम्भव थियो। तर अबदेखि यो सम्भव नहुने भएको छ।
अब, अपडेटहरू “पज” गर्न मात्र अनुमति दिइएको बताइएको छ जुन सीमित समयको लागि मात्र उपलबध हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
पज गर्दा, एउटा मिति छनौट गर्नुपर्ने बताइएको छ। छनौट गरिएको मितिपछि भने स्वचालित रुपमा अपडेटहरू पुनः सक्षम हुने र त्यसपछि सबै एपहरू थप पुष्टि बिना अपडेट हुनेछन्। पज विकल्पहरू एकदेखि पाँच हप्तासम्मको भएको जनाइएको छ।
सुरक्षा कारणहरूले गर्दा माइक्रोसफ्टले सामान्यतया प्रणालीलाई विन्डोज वा एप्लिकेसनहरूको पुरानो संस्करणमा चल्न अनुमति नदिने भएकाले यो कार्य अचम्मको नभएको थप उल्लेख छ।
पुरानो सफ्टवेयरमा कमजोरीहरू वा त्रुटिहरू हुन सक्ने सम्भावनाले गर्दा माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई सकेसम्म धेरै सुरक्षित गर्ने प्रयास गरेको रिपोर्ट गरिएको छ।
त्यसैगरी यो तर्क पहिले प्रस्तुत गरिएको परिवर्तनको पछाडि पनि रहेको जनाइएको छ जहाँ विन्डोज ११ २४एच२ मा इनबक्समा रहेका एपहरूले क्लिन इन्स्टलको समयमा स्वचालित रूपमा अपडेटेड भर्सन (अद्यावधिक गरिएका संस्करण) हरू प्राप्त गर्नेछ।
यो नयाँ नीति उपयुक्त नलाग्नेहरुका लागि भने, माइक्रोसफ्ट स्टोर बाहेक अन्य स्रोतहरूबाट एपहरू डाउनलोड गर्ने विकल्प सधैं उपलब्ध रहेको छ।
विन्डोज ११ को संस्करण २५एच२ पनि काममा भएको बताइएको छ जसले प्रयोगकर्ताहरूलाई माइक्रोसफ्ट स्टोर सहित सिस्टम एपहरूमा थप नियन्त्रण ल्याउने रिपोर्ट गरिएको छ।
प्रकाशित: ३ भाद्र २०८२, मंगलवार