सूचना प्रविधि केन्द्रको ठेक्कामार्फतको खरिदमा भ्रष्ट्राचार गरेको मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग्ने आदेश

Technology Khabar २ भाद्र २०८२, सोमबार

सूचना प्रविधि केन्द्रको ठेक्कामार्फतको खरिदमा भ्रष्ट्राचार गरेको मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग्ने आदेश
सुनिल पौडेल, पूर्व कार्यकारी निर्देशक राष्ट्रिय सूचना प्रविधि केन्द्र

काठमाडौं ।

भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग विशेष अदालतले धरौटी माग्ने आदेश गरेको छ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले गैरकानुनी लाभ तथा हानी नोक्सानी पुर्याइ भ्रष्टाचार मुद्दामा सोमबार सुनुवाई गर्दै ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो।

आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली तथा म्याक्स इन्टरनेसनल प्रालि र यसका सीईओ अकबर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरुबाट ५ करोड ७९ लाख रुपैयाँ बिगो दावी गरिएको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिहंदरवार, काठमाडौंबाट ट्रेनिङ्ग एण्ड वनटाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी (Training and onetime Installation and Configuration at GIDC and DRC) शीर्षकको भ्याट बाहेक २ करोड ६५ लाख रुपैयाँ र थ्री इयर्स वारेन्टी वीथ अनसाइट सपोर्ट (Three Years warranty with onsite Support) शीर्षकको भ्याट बाहेक ३ करोड १४ लाख रुपैयाँ रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको आयोगको ठहर छ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ अनुसारको कसुरमा पौडेलसहित सबै विरुद्ध सोही रकम बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया