नाडा अटो शोमा राखिने भनिएको एयर ट्याक्सी देखाउन मात्र मिल्ने, छैन उडाउने अनुमति

  • Technology Khabar | २ भाद्र २०८२, सोमबार
नाडा अटो शोमा राखिने भनिएको एयर ट्याक्सी देखाउन मात्र मिल्ने, छैन उडाउने अनुमति

काठमाडौं ।

– साजन सुबेदी

भदौ ३ गते मंगलबारदेखि भृकुटीमण्डपमा नाडा अटो शो आयोजना हुँदैछ। हरेक वर्ष झैं सवारीसाधनका पारखीहरु नयाँ दुई पाङ्रे र चार पाङ्रे सवारीको अपडेट तथा नयाँ प्रविधिको बारे जानकारी लिन नाडा अटो शो मा जाने गरेका छन्। केही दिनअघि गाडी आयातकर्ता तथा उत्पादकहरुको संस्था नाइमाले विद्युतीय सवारीहरुको यसै प्रकारको प्रदर्शनी गरिसकेको छ।

नाडामा “दीपल” ब्राण्डको पहिलो इभीटीओएल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) एयर ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् औपचारिक रूपमा सार्वजनिक गराउने तालिका रहेको आयोजकले जानकारी दिएको छ।

तर उक्त फ्लाईङ्ग ट्याक्सी दीपलले उत्पादन गरेको नभई ईहाङ्ग नामक कम्पनीले उत्पादन गर्दै आएको छ। इहाङ्ग र दिपल ब्राण्डको माउ कम्पनी चाङ्गान बीच रणनीतिक साझेदारी रहेको छ। जसअनुसार ईहाङ्ग अटोनोमस सिस्टममा चाङ्गानले पहुँच पाउँछ।

ईहाङ्गले फ्लाइङ ट्याक्सी-ईहाङ्ग ईएच२१६-एस (EHang EH216-S) उत्पादन गरेर बिक्रीका लागि उपलब्ध गराएको छ। संभवत यहि मोडल नेपालमा अहिले ल्याईएको हो।

कम्पनीकाअनुसार यसको मूल्य करिब ४ लाख १० हजार अमेरिकी डलर अर्थात लगभग ६ करोड रुपैयाँ रहेको छ।

एमएडब्लु वृद्धिले चिनियाँ अटो निर्माता चांगान अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत गर्ने घोषणा गरेको हो। यसै सन्देशलाई मजबुत बनाउन उक्त इभीटीओएललाई यसपालिको प्रदर्शनीको मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न लागिएको बुझिएको छ। केही दिनयता कम्पनीले उड्ने ट्याक्सी प्रदर्शन गर्ने खबर यत्रतत्र चर्चाको विषय बनेको छ।

कम्पनीले उक्त एयर ट्याक्सी तातोपानी भन्सार नाकाबाट प्रवेश गराइ प्रदर्शनी स्थलसम्म ल्याइसकेको छ। तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले उक्त एयर ट्याक्सी औपचारिक रुपमा उक्त नाकाबाट प्रवेश गरेको टेक्नोलोजीखबरसँग पुष्टि गरे।

के कति प्रक्रिया पूरा गरेर भित्रिएको हो भन्ने टेक्नोलोजीखबरको जिज्ञासामा सूचना अधिकारी काफ्लेले भने, ‘यसमा धेरै प्रक्रिया गर्नुपर्ने हुँदैन। यो किनेर ल्याइएको नभई केही समयपछि फिर्ता गर्नेगरी ल्याइएको हो।’

किनेर ल्याएकामा भन्सार शुल्क लगायतका लामो प्रक्रिया हुने भए पनि फिर्ता लैजाने शर्तमा सामानहरु भित्र्याउन पाइने र त्यसका लागि केही रकम भन्सारमा धरौटीका रुपमा राखेर पछि फिर्ता गर्दा तोकिएको दस्तुर कटाएर धरौटी फिर्ता लान सकिने उनले बताए।

‘यो एयर ट्याक्सी पनि केही महिनापछि फिर्ता गर्नेगरी ल्याइएको हो। हामीले धरौटी रकम राखेर प्रवेश इजाजत दिएका छौं। अब उहाँहरुको सम्झौता अनुसार २/४ महिना राखेर फिर्ता लैजाने क्रममा उहाँहरुले तोकिएको दस्तुर तिरेर सामान चीनतर्फ नै फर्काएर आफ्नो धरौटी रकम फिर्ता पाउनुहुन्छ’, उनले थपे।

नाडामा एयरट्याक्सी राखिने खबरले उत्साहित प्रविधिका पारखीहरु त्यसमा ‘मान्छे राखेर उडाइने’ ऐतहासिक क्षण अवलोकन गर्न लालायित देखिन्छन्। कम्पनीले प्रदर्शनीमा राखिने भनेको तर उडाएर देखाउने कतै उल्लेख गरेको छैन। यस हिसाबले ग्राउण्डमा राखिएको ईभीटोलको अवलोकन मात्र हुने अपेक्षा गर्न सकिन्छ।

यसै तथ्यबारे बुझ्न नेपाल नागरिक उड्डयन प्राधिकरणमा जिज्ञासा राख्दा प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले टेक्नोलोजीखबरलाई भने, ‘यो एयर ट्याक्सी उडाउनका लागि भनेर कुनै संस्थाले औपचारिक अनुमति लिएको छैन।’

उनले यो उपकरण विशुद्ध ड्रोन मात्र पनि नभएको र पूर्णरुपमा हेलिकप्टर वा हवाइजहाजको वर्गमा पनि नपर्ने बरु सामान बोक्ने ड्रोन र यात्रु बोक्ने हेलिकप्टरको हाइब्रिड मोडल भएको जनाउँदै यस प्रकारका उपकरण प्राधिकरणका लागिसमेत नौलो भएको जानकारी दिए।

उनले थपे, ‘हामीसँग यस प्रकारका उपकरणबारे स्पष्ट नियमावली बनेको छैन। यस अवस्थामा उडाउनै पर्ने भएमा विशेष बैठक बसेर अनुमति दिन सकिन्छ तर सामान्य अवस्थामा अनुमति दिने स्पष्ट नियमावली छैन।’

उनले हाल ड्रोनका लागि पनि स्पष्ट नियमावली नभएका कारण दर्ता मात्रै गर्ने गरेको बताउँदै अबका दिनमा विश्वभरी नै यस प्रकारका उपकरणहरु प्रचलनमा आउन सक्ने देखिएकाले नेपालमा पनि स्पष्ट नियमावली बनाउनुपर्छ भन्ने मनन गर्दै प्राधिकरण आन्तरिक छलफल तथा गृहकार्यमा लागेको बताए।

यस्तो उपकरण प्रदर्शनीका लागि भनेर उडाउन पाइन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘बिल्कुलै पाइन्न। ल्याएर प्रदर्शन गर्न पाइन्छ, कुनै हलभित्र डेमोका रुपमा सम्म उडाउन पाइन्छ तर खुला ठाउँमा एयर स्पेस लिनेगरी जमीनबाट थोरै माथिसम्म पनि उडाउन पाइन्न। उहाँहरुले एक्जिबिशनका लागि मात्र ल्याउनुभएको हुन सक्छ। उडाउनका लागि अनुमति लिनुभएको छैन।’

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार