दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुन्छ: सञ्चारमन्त्री गुरुङ

Technology Khabar २ भाद्र २०८२, सोमबार

दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुन्छ: सञ्चारमन्त्री गुरुङ
फाइल तस्बि्र

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताएका छन्।

राष्ट्रिय युवा सङ्घको आयोजनामा आइतबार ललितपुरमा भएको ‘इन्टरनेसनल आइटी युथ कन्फ्रेन्स २०२५’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘डिजिटल’ नेपाल कार्यान्वयन गर्न ‘एआई’को प्रयोग गरेर उत्पादन बढाउन आठवटा क्षेत्र पहिचान गरेको उल्लेख गर्दै युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न आग्रह गरे।

“हालै जारी भएको एआई नीति कार्यान्वयन गर्न नियमावली बनाउने तयारी गर्दैछौं एआईको उत्पादन र उद्यमशीलता बढाउन जोड दिने नीतिगत व्यवस्था गर्दैछौँ, अबको दश वर्षमा सूचना प्रविधिको क्षेत्रबाट ३० खर्ब आम्दानी हुने अपेक्षा गरिएको छ, सबै युवालाई नवप्रवर्तनमा लाग्न आग्रह गर्छु”, मन्त्री गुरुङले भने।

मन्त्री गुरुङले यस किसिमको सम्मेलनमा नेपालको सूचना प्रविधिसम्बन्धी नीति, कानुन र कार्यान्वयनबारे छलफल हुने विश्वास व्यक्त गरे। “नेपाली युवाहरूलाई विश्वव्यापी रूपमा जोड्ने प्रेरणादायी विषयवस्तुअन्तर्गत आज नेपालको जुम्लादेखि ‘सिलिकन भ्याली’जस्ता विश्वका नवप्रवर्तन केन्द्रहरूसम्म जोड्ने प्रयास गरिएको छ, हजारौँ नेपाली युवा प्रविधिमार्फत एकापसमा जोडिएका छन्, यसले प्रविधिको कुनै सिमाना हुँदैन भन्ने प्रमाण प्रस्तुत गरेको छ”, उनले भने।

नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत प्रेरणालाई नवप्रवर्तनमा परिणत गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए।

“देशभित्र र विश्वभरका करिब एक करोड नेपाली युवालाई एकसाथ ल्याउने यस दृष्टिकोणमार्फत हामी केवल सपनालाई अवसरसँग जोडिरहेका छैनौँ, बरु नेतृत्वका माध्यमबाट नवप्रवर्तन र सहकार्यको डिजिटल आन्दोलन निर्माण गरिरहेका छौँ”, उनले भने।

युवाहरूको नेतृत्वमा नेपाल विश्वव्यापी डिजिटल क्रान्तिको योगदानकर्ता बन्न सक्ने मन्त्री गुरुङले बताए।

“हाम्रो डिजिटल पारिस्थितिकतन्त्रको शक्ति, कमजोरी, अवसर र चुनौती अरूको विश्लेषण गर्ने, युवा ‘करिअर’, उद्यमशीलता र लगानी अवसरहरू खोज्ने, विश्वका उत्कृष्ट अभ्यासहरू सिक्ने तथा भौगोलिक सीमालाई पार गर्दै नीति, अभ्यास र नवप्रवर्तनबीच पुल निर्माण गर्ने अवसर प्रदान गर्दछ”, उनले भने, “हाम्रो प्रमुख प्राथमिकतामा डिजिटल नेपाल ‘फ्रेमवर्क’ २.० अन्तर्गत नीति, पूर्वाधार र मानव स्रोत सुदृढीकरण, डिजिटल सम्बन्ध, सुशासन, ‘साइबर’ सुरक्षा, ‘फाइभजी’ प्रवर्द्धन, ‘डाटा सेन्टर’ र उपग्रह परियोजनाहरू समावेश छन् ।”

कृत्रिम बुद्धिमत्ता, ‘ब्लकचेन’ र उदाउँदो प्रविधिलाई शासन, शिक्षा, उद्यमशीलतामा लागू गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै मन्त्री गुरुङले युवालाई परिवर्तनको केन्द्रमा राख्दै, गाउँगाउँमा स्मार्ट विद्यालयदेखि लिएर विश्वका सहरमा एआई नवप्रवर्तन केन्द्रसम्म, डिजिटल साक्षरता अभियानदेखि लिएर अन्तरराष्ट्रिय लगानी साझेदारीसम्म नेपालले भविष्यका लागि सुदृढ जग बसाउँदै गरेको बताए।

विश्वको डिजिटल कूटनीतिका सन्दर्भमा, नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा समावेशी डिजिटल रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएको उनले बताए।

राष्ट्रिय युवा सङ्घका अध्यक्ष छितिज थेबेले नेपाललाई कसरी राम्रो बनाउँदै विकसित र सुन्दर बनाउन सकिन्छ भनेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै समयसापेक्ष सूचना प्रविधिको विकासलाई अगाडि बढाउन लागिपरेको बताए।

उनले सूचना प्रविधिले ल्याएको परिवर्तनलाई स्वीकार गर्दै विश्वभर रहेका सम्भावनालाई मध्यनजर गरेर नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकारात्मक सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए।-रासस

Sajilo Visa

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार