‘कम्युनिटी गाइडलाइन’ अपडेट गर्दै टिकटक: लाइभ क्रियटर र एआई कन्टेन्टमा परिवर्तन आउने

Technology Khabar २ भाद्र २०८२, सोमबार

‘कम्युनिटी गाइडलाइन’ अपडेट गर्दै टिकटक: लाइभ क्रियटर र एआई कन्टेन्टमा परिवर्तन आउने
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन’ (समुदायका नियमहरू) अपडेट गर्ने तयारी गरेको छ जसले प्रयोगकर्ताले प्लेटफर्ममा कसरी सहभागी हुने र कुन स्तरका भिडियोहरू फर यू फिडमा देखिने भन्ने निर्धारण गर्छ। नयाँ गाइडलाइन सेप्टेम्बर १३, २०२५ बाट लागू हुनेछ।

यो अपडेट प्रायः पुराना नियमलाई सरल भाषामा पुनर्लेखन गर्ने उद्देश्यले गरिएको भए पनि विशेषगरी टिकटकले आफ्नो मार्केटप्लेसलाई प्राथमिकता दिने, प्रत्येक प्रयोगकर्ताका लागि अझ गहिरो व्यक्तिगत अनुभव दिने र एआई–आधारित सामग्रीबारे सानो परिवर्तन ल्याउने केही महत्वपूर्ण परिवर्तनहरू देखिएका छन्।

नयाँ गाइडलाइनमा ‘टिकटक लाइभ’ गर्ने प्रयोगकर्तासम्बन्धी नियम थपिएका छन्। कम्पनीले भनिएको छ कि लाइभमा जे हुन्छ त्यसको जिम्मेवारी सिर्जनाकर्तामाथि हुन्छ, चाहे त्यहाँ तेस्रो पक्षका उपकरण जस्तै अनुवाद वा भ्वाइस–टु–टेक्स्ट प्रयोग किन नहोस्। सिर्जनाकर्ताले यस्ता उपकरण प्रयोग गर्दा नियम उल्लंघन नहोस् भनेर ध्यान दिनुपर्ने चेतावनी दिइएको छ।

व्यावसायिक सामग्रीसम्बन्धी नयाँ नियम पनि थपिएका छन्। व्यावसायिक सामग्री खुलाउनैपर्ने (डिस्क्लोज गर्नुपर्ने) टिकटकले बताएको छ। साथै, टिकटक शप उपलब्ध भएका बजारमा प्रयोगकर्तालाई प्लेटफर्म बाहिरका सामान किन्न निर्देशन दिने सामग्रीको दृश्यता घटाइनेछ।

टेकक्रञ्चका अनुसार अपडेटमा प्रयोगकर्ताको खोजी परिणाम (सर्च रिजल्ट्स) र सिफारिस पनि व्यक्तिगत हुने स्पष्ट गरिएको छ। अब खोज परिणामहरू प्रत्येक प्रयोगकर्ताका लागि फरक देखिन सक्नेछन्, जुन उनीहरूको अघिल्लो खोजी र हेरेका भिडियोका आधारमा तय हुनेछ। अघिल्ला प्रतिक्रिया, लाइक र रिपोर्टजस्ता संकेतका आधारमा कमेन्टसमेत व्यक्तिगत हुने बताइएको छ।

एआई सामग्रीसम्बन्धी खण्डमा ठूलो परिवर्तन छैन, तर भाषालाई छोटकरी बनाइएको छ। पहिले सार्वजनिक व्यक्तिहरूलाई बलपूर्वक समर्थन गराएको वा झूटा संकट देखाएको जस्ता उदाहरणहरू प्रस्ट्याइएको थियो।

तर अब यो नियमलाई “सार्वजनिक महत्वका विषयमा भ्रम फैलाउने वा व्यक्तिलाई हानी पुर्‍याउने सामग्री अनुमति छैन” भन्ने गरी छोटकरी गरिएको छ। सार्वजनिक व्यक्तित्वसँग सम्बन्धित एआई ‘इन्डोर्समेन्ट’ को उल्लेख हटाइएको छ, जसले भविष्यमा अनुमोदित एआई–आधारित विज्ञापनलाई बाटो खोल्ने संकेत दिन सक्छ।

फर यू फीड (एफवाईएफ) सम्बन्धी नियममा पनि सरलीकरण गरिएको छ। पहिले एफवाईएफ मा नदेखिने सामग्रीको लामो सूची दिइएको थियो, तर अहिले ती विवरण गाइडलाइनका विभिन्न खण्डमा छुट्टाछुट्टै राखिएका छन्। यसले नियमलाई बुझ्न अलिक गाह्रो बनाएको छ।

अन्त्यमा, सामग्री नियमनको कारणबारे भाषा परिवर्तन गरिएको छ। पहिले टिकटकले यसलाई “प्लेटफर्मलाई सुरक्षित, विश्वासिलो र जीवन्त राख्ने” प्रक्रिया भनेको थियो। अब भने यसलाई “सबैका लागि सुरक्षित, रमाइलो र सिर्जनशील स्थान” बनाउने भनिएको छ। यसमा ‘विश्वासिलो’ भन्ने शब्द हटाइएको छ।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया