
काठमाडौं ।
अदालतले अमेरिकी फेडरल ट्रेड कमिसन (एफटीसी) ले ‘मिडिया म्याटर्स’ विरुद्ध थालेको अनुसन्धान रोक्ने आदेश दिएको छ। मिडिया वाचडग संस्थाले यसअघि एक्स (पूर्व ट्विटर) मा विज्ञापनहरू निओ–नाजी र यहूदीविरोधी सामग्रीसँगै देखिएको अनुसन्धान प्रकाशित गरेको थियो।
सन् २०२३ मा इलन मस्कको एक्सले मिडिया म्याटर्सविरुद्ध मुद्दा दायर गरेको थियो। विज्ञापनदाताहरू प्लेटफर्मबाट बाहिरिएपछि दायर गरिएको सो मुद्दामा संस्थामाथि “जानाजानी र दुर्भावनापूर्ण रूपमा विज्ञापन पोस्टहरू निओ–नाजी र सेतो सर्वोच्चतावादी सामग्रीसँगै देखिने गरी तयार गरेको” आरोप लगाइएको थियो।
यसै वर्ष मे महिनामा एफटीसीले मिडिया म्याटर्सले विज्ञापनदाता र वकालत समूहहरूसँग मिलेर एक्स को बहिष्कार गराउने प्रयास गर्दै प्रतिष्पर्धा–विरोधी कानुन तोडेको हो कि भन्नेबारे अनुसन्धान सुरु गरेको थियो।
तर जुनमा मिडिया म्याटर्सले उल्टै एफटीसी विरुद्ध मुद्दा दायर गर्दै संस्थालाई अन्यायपूर्ण रूपमा लक्षित गरिएको दावी गर्यो।
“एफटीसीले मिडिया म्याटर्सलाई पत्रकारिता र अभिव्यक्तिको अधिकार प्रयोग गरेर सार्वजनिक चासोका विषय उजागर गरेको कारण सजाय दिन खोजेको हो — जसमा मस्कले लिएपछि एक्स डटकममा चरमपन्थी सामग्री कसरी बढ्यो र त्यसबाट नाफा कमाइयो भन्ने उजागर गरिएको छ,” मिडिया म्याटर्सले त्यतिबेला बताएको थियो।
इन्ग्याजेटका अनुसार अहिले न्यायाधीश स्पार्कल एल. सुन्नाननले संस्थाको पक्षमा प्रारम्भिक स्थगन आदेश जारी गरेका छन्। उनले एफटीसीको अनुसन्धानलाई “प्रतिशोधी कदम” भनेका छन् र पहिलो संशोधन (फर्स्ट अमेन्डमेन्ट) अन्तर्गत मिडिया म्याटर्सको दावी सफल हुने सम्भावना बढी रहेको बताएका छन्।
आफ्नो निर्णयमा उनले यस्तो अनुसन्धानले अन्य पत्रकारलाई पनि बोल्न रोक्ने खतरा पैदा गर्ने बताएका छन्। उनको भनाइमा, अनुसन्धानकै कारण मिडिया म्याटर्सले एफटीसी, अध्यक्ष फर्गुसन र एलन मस्कसम्बन्धी केही कथाहरू अघि नबढाउने निर्णय गरिसकेको छ।
“अदालतको यो आदेशले दबाबमा झुक्ने नभई प्रतिरोध गर्नुपर्ने देखाएको छ,” मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो कारुसोनले न्यूयोर्क टाइम्स लाई भने। “हामी हरेक अमेरिकीलाई संरक्षण गर्ने पहिलो संशोधनअन्तर्गतका अधिकारका लागि निरन्तर लड्नेछौं।”
प्रकाशनका अनुसार, यसअघि टेक्सास र मिसौरीका अटर्नी जनरलहरूले पनि संस्थाविरुद्ध सुरु गरेका अनुसन्धान अदालतले रोकेको थियो। तर मस्कले मिडिया म्याटर्सविरुद्ध दायर गरेका मुद्दाहरू भने अझै चलिरहेका छन्।
प्रकाशित: २ भाद्र २०८२, सोमबार