Technology Khabar २ भाद्र २०८२, सोमबार
काठमाडौं ।
ओपनएआईका बहालवाला र पूर्व कर्मचारीहरूले करिब ६ अर्ब डलर बराबरको कम्पनीको सेयर बेच्ने तयारी गरेका छन्। यो सेयर बिक्रीमा सफ्टब्याङ्क र थ्राइभ क्यापिटलसहितका लगानीकर्ताहरूको रुचि देखिएको छ भन्ने कुरा विषयसँग परिचित एक स्रोतले शुक्रबार रोयटर्सलाई जानकारी दिएको छ।
यो सम्भावित सम्झौताले कम्पनीको मूल्यांकनलाई हालको ३०० अर्ब डलरबाट बढाएर ५०० अर्ब डलर पुर्याउनेछ। यसले ओपनएआई को प्रयोगकर्ता संख्या र आम्दानीमा भएको तीव्र वृद्धिलाई मात्र होइन, कृत्रिम बौद्धिकता कम्पनीहरूबीच प्रतिभा आर्कषण गर्ने तीव्र प्रतिस्पर्धालाई पनि देखाउँछ।
सफ्टब्याङ्क, थ्राइभ र ड्रायनएयर इन्भेस्टमेन्ट ग्रुपले यसबारे कुनै प्रतिक्रिया नदिएको जनाइएको छ। यी तीनै कम्पनीहरू पहिले नै ओपनएआईमा लगानी गरिरहेका छन्। ब्लूमबर्ग न्युजले यो घटनाबारे पहिले नै जानकारी दिँदै वार्ता प्रारम्भिक चरणमा रहेको र बिक्री हुने सेयरको आकार परिवर्तन हुन सक्ने उल्लेख गरेको छ।
सेकेन्डरी सेयर बिक्रीले सफ्टब्याङ्कको भूमिका अझै बलियो बनाउनेछ, जसले ओपनएआई को ४० अर्ब डलरको प्राथमिक लगानी राउन्डमा नेतृत्व गरेको थियो। ओपनएआईले आफ्नो प्रमुख उत्पादन च्याटजीपीटीको सहायताले यो वर्षका पहिलो सात महिनामा आम्दानी दोब्बर बढाएर वार्षिक दरमा १२ अर्ब डलर पुर्याएको थियो। वर्षअन्त्यसम्म यसलाई २० अर्ब डलरमा पुर्याउने लक्ष्य लिएको रोयटर्सले अगस्टमा रिपोर्ट गरेको छ।
माइक्रोसफ्ट समर्थित ओपनएआईका च्यटजीपीटीउत्पादनमा साप्ताहिक सक्रिय प्रयोगकर्ता हाल करिब ७० करोड पुगेका छन्, जुन गत फेब्रुअरीमा ४० करोड मात्र थियो।
प्रकाशित: २ भाद्र २०८२, सोमबार