Technology Khabar १ भाद्र २०८२, आईतवार
काठमाडौं ।
स्मार्टफोन, ल्यापटप, ट्याब्लेटजस्ता विद्युतीय साधनको अत्यधिक प्रयोगले आँखाको स्वास्थ्यमाथि गम्भीर असर पार्न थालेको चिकित्सकले बताएका छन्। पछिल्लो समय ड्राई आई सिन्ड्रोम अर्थात् आँखाको सुक्खापन हुने समस्या निकै तीव्र रूपमा बढिरहेको छ। दैनिक चार घण्टाभन्दा बढी मोबाइल वा अन्य डिजिटल डिभाइस प्रयोग गर्ने व्यक्तिमा आँखाको सुक्खापन हुने सम्भावना अत्यधिक हुने देखिएको छ।
कपिलवस्तुको छन्दे कालेबाबु नारायणी आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सुलक्ष्मी कटुवालले पछिल्लो समय डिजिटल स्क्रिनमा बिताउने समयसँगै आँखासम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको बताए।
विशेषज्ञका अनुसार लामो समयसम्म स्क्रिनमा हेरेर काम गर्दा आँखा झिम्क्याउने क्रियामा कमी आउँछ, जसले गर्दा आँखा पर्याप्त ओसिलो हुन पाउँदैन। यसले आँखामा पोल्ने, रातो हुने, धमिलो देखिने, दुख्नेलगायतका समस्या ल्याउने गरेको उनले बताए।
डा.कटुवालका अनुसार आँखा सुक्खा हुँदा धेरै असजिलो बनाउँछ। सुक्खापन बढ्दै जाँदा मसिनो घाउ बन्छ। निद्रा नलागे जस्तो हुने, घाममा हेर्न असहज हुने, आँखा बिझाउने, आँखा सानो पारेर हेर्नुपर्ने जस्ता समस्या देखिन्छ। सुक्खापनका कारणले आँखामा कुनै पनि रोगले छिटो आक्रमण गर्न तथा सङ्क्रमित गराउन सक्छ।
सङ्क्रमण बढ्दै जाँदा आँखाको नानीमा घाउ हुन सक्छ। जसले गर्दा आँखाको दृष्टि कमजोर हुँदै जान्छ र समयमै उपचार नगरे आँखाको नानी पूर्ण रूपले बिग्रने सम्भावना हुन सक्छ। अन्तिम अवस्थामा आँखाको नानी फुट्छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १ भाद्र २०८२, आईतवार