Technology Khabar १ भाद्र २०८२, आईतवार
काठमाडौं ।
नर्वेका गुप्तचर प्रमुखले रुसी ह्याकरहरूलाई बाँध नियन्त्रण प्रणालीमा आक्रमण गरेको आरोप लगाएका छन्। गत अप्रिलको सुरुवातमा रुसी ह्याकरहरूले नर्वेको पश्चिमी भागमा रहेको ब्रोमाङ्गर बाँधको कम्प्युटर प्रणाली नियन्त्रणमा लिएर करिब चार घण्टासम्म सञ्चालन रोक्दै लाखौँ ग्यालन पानी बगाएको नर्वेका गुप्तचर प्रमुखले बिहीबार बताएका छन्।
ह्याकरहरूले बाँधको फ्लडगेट खोल्दा करिब तीन ओलम्पिक आकारका पौडी पोखरी बराबरको पानी बाहिर बगेको नर्वेजियन मिडियाले जनाएको छ।
नर्वेको सुरक्षा पुलिस सेवाकी प्रमुख बियाटे गाङ्गासले बिहीबारको भाषणमा यो साइबर आक्रमणका लागि रुसी ह्याकरहरूलाई दोष दिएका हुन्।
रोयटर्सका अनुसार, नर्वेमा रहेको रुसी दूतावासले भने यस घटनामा संलग्नता नकारेको छ।
पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकका ऊर्जा प्रणालीमा भएको तोडफोडमा रुसी ह्याकरहरू संलग्न भएको आरोप लाग्दै आएको छ। यसअघि सन् २०१५ र २०१६ मा युक्रेनको विद्युत् प्रणालीमाथि भएको साइबर आक्रमणका कारण व्यापक अन्धकार छाएको घटनामा पनि रूसलाई दोष लगाइएको थियो। रूस समर्थित ह्याकरहरू लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय लक्ष्य राख्दै आएका छन्।
प्रकाशित: १ भाद्र २०८२, आईतवार