
सांकेतिक तस्बिर।
काठमाडौं ।
मकालु गाउँपालिकास्थित मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विश्वको पाँचौँ अग्लो मकालु हिमाल, बेसक्याम्प र धार्मिक तथा पर्यटकीय क्षेत्र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने निर्णय गरेको हो।
मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएकामा बैठकले सेवा विस्तार गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। टेलिफोन तथा इन्टरनेट सुविधा नभएका कारण बिरामी परेमा आन्तरिक तथा बाह्य पर्यटकको तत्काल उद्धारका लागि कठिनाइ हुने गरेकाले उक्त निर्णय गरिएको उनको भनाइ छ।
मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सुविधा नहुँदा बर्सेनि मानवीय क्षतिका अप्रिय घटना घट्ने भएकाले सो क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको सहायक प्रजिअ घिमिरेले बताए। बैठकले सञ्चार विस्तारका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मकालु बरुण राष्ट्रिय निकुञ्जसहित सरोकार भएका निकायसँग समन्वयमार्फत उपयुक्त हुने प्रविधिअनुसार टेलिफोन, इन्टरनेटलगायत सुविधा पुर्याउन नेपाल टेलिकम सङखुवासभामार्फत टेलिकम केन्द्रीय कार्यालयमा अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए।
बैठकले वर्षात्को समयमा सदरमुकाम जोड्ने पालिकाको केन्द्र एवं वडा केन्द्रलगायत सडकमा पहिरो गई यातायात कुनै पनि बेला अवरुद्ध हुनसक्ने भएकाले सडक अवरुद्ध हुन नदिन सम्बद्ध कार्यालय तथा पालिकालाई अनुरोध गर्ने निर्णय गरेको सहायक प्रजिअ घिमिरेले बताए। रासस
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार