
काठमाडौं ।
इन्टेलका सेयर शुक्रबार प्रि–मार्केट कारोबारमा ४.६ प्रतिशतले उकालो लागेपछि ब्लूमबर्ग न्युजले ट्रम्प प्रशासन संघर्षरत चिप निर्माता कम्पनीमा अमेरिकी सरकारले सम्भावित रूपमा हिस्सेदारी लिन सक्नेबारे वार्ता भइरहेको जनाएको छ। यो समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इंटेलका सीईओ लिप–बु टानबीच यसै हप्ताको भेटपछि आएको हो।
ट्रम्पले केही दिनअघि चीनसम्बन्धी लगानीका आरोपमा टानको राजीनामा मागेका थिए। इन्टेलले बिहीबार यो रिपोर्टबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ।
साम्भावित सम्झौताले रणनीतिक उद्योगहरू सुरक्षित गर्न ह्वाइट हाउसको बढ्दो प्रत्यक्ष भूमिकालाई देखाउने विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार घाटामा रहेको फाउन्ड्री व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा रहेको इन्टेललाई प्रत्यक्ष सरकारी सहयोग फाइदा पुग्न सक्छ।
“सरकारको बढी संलग्नताले अमेरिकी फ्याबलेस चिप निर्मातालाई इंटेलका सुविधा प्रयोग गर्न प्रेरित गर्न सक्छ,” सिएफआरए रिसर्चका वरिष्ठ इक्विटी विश्लेषक एन्जेलो जिनोले भने।
“तर यसले इन्टेलको उत्पादन दृष्टिकोणमा परिवर्तन ल्याउँदैन। हामी अझै पनि यसको बाह्य फाउन्ड्री विस्तारमा नेतृत्व गर्ने ‘ह्वाइट नाइट’ पाउने कि नपाउने पर्खिरहेका छौं।” गत महिना इन्टेलले बाह्य ग्राहकबिनै चिप उत्पादनबाट बाहिरिन सक्ने चेतावनी दिएको थियो र ओहायोमा निर्माणाधीन कारखानाको काम ढिलो पार्ने योजना बनाएको थियो।
हर्ग्रिभ्स ल्यान्डाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानका अनुसार यो कदम इन्टेलको घरेलु महत्वाकांक्षाका लागि “गेम–चेन्जर” हुनसक्छ, तर कार्यान्वयन जोखिम कायम छ। “सरकारी समर्थनले विश्वास कायम गर्न मद्दत पुर्याउन सक्छ, तर यसले प्रविधिक दृष्टिले उन्नत नोडहरूमा रहेको मौलिक प्रतिस्पर्धात्मक अन्तर घटाउँदैन,” उनले भने।
यो समाचार इन्टेलका लागि उतार–चढावपूर्ण हप्ताको अन्त्यमा आएको हो। यस हप्ताको सोमबारदेखि कम्पनीका सेयर करिब २० प्रतिशत बढेका छन्, जसको कारण टान र ट्रम्पबीचको तनाव कम हुने आशा रहेको बताइन्छ।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार