‘मेरो जागिर जोगाउन पनि माघ मसान्तभित्र फाइभजी लन्च गर्नुपर्छ’: सञ्चारमन्त्री गुरुङ

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
‘मेरो जागिर जोगाउन पनि माघ मसान्तभित्र फाइभजी लन्च गर्नुपर्छ’: सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यहि माघ मसान्तसम्म फाइभजी सेवा शुरु गर्न निर्देशन दिएका छन्।

मन्त्री गुरुङले आज शुक्रबार आयोजित ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी गण्डकी तथा लुम्बिनी प्रदेशमा ब्याकबोन नेटवर्क निर्माण गर्ने परियोजनाको लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमबीच एमओयू हस्ताक्षर गर्ने कार्यक्रममा यहि माघ मसान्तसम्ममा काठमाडौं र पोखरामा ५जी शुरु गर्नुपर्ने बताएका हुन्।

उनले उक्त अवधि भित्र दुबै स्थानमा ५जी शुरु गर्ने भनेर आफूले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको खुलासा गरे।

“मेरो जागिर जोगाउन पनि एनटिए र एनटिसीले फाइभजी लन्च गर्नुपर्छ। मैले प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा समेत सोही प्रतिबद्धता गरेको छु,” मन्त्री गुरुङले भने, “नत्र मेरो जागिर जान्छ।”

यस्तै दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले फाइभजीको लागि आवश्यक पर्ने फ्रिक्वेन्सी दिनका लागि अक्सनको तयारी भईरहेको बताए।

“अहिलेकै फोरजीको क्षमता बढाउन र ५जी दिनका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी अक्सनमार्फत दिनेगरी अध्ययन गरिरहेका छौं,” भण्डारीले भने।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार