Technology Khabar ३० श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
हुम्लाका गाउँ गाउँमा टोली खटाएको भए पनि नागरिकता र मतदाता परिचयपत्रमा भएका विवरण नमिल्दा राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको छ। स्थानीय नागरिकले यसअघि नागरिकता र मतदाता परिचयपत्र बनाउने क्रममा सम्बन्धित निकायको चरम लापर्बाहीका कारण सेवाग्राहीले हाल राष्ट्रिय परिचयपत्र बनाउनमा सास्ती खेपेका हुन्।
गाउँबाट आउने स्थानीय निरक्षर हुने र उनीहरूले बनाएको प्रमाणमा हेर्न नजान्ने भएपछि आफूहरूले यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनमा धोका खाँदै आएको चङ्खेली गाउँपालिका-६, कोक गाउँका स्थानीय खड्क बुढाले गुनासो गरे। स्थानीय बुढाका अनुसार आफ्नो नागरिकतामा पत्नीको नाम हुनुपर्ने ठाउँमा आमाको नाम, आमाको नाम हुनुपर्ने ठाउँमा बाजेको नाम लेखेका कारण यतिबेला आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको हो।
उक्त समस्याका कारण एक दिन लगाएर सदरमुकाम सिमकोट पुगेका बुढाको आर्थिक खर्च मात्रै भयो तर राष्ट्रिय परिचयपत्र बनेन। जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय जस्तो सरकारी निकायमा बौद्धिक क्षमतावान् र गुणस्तरीय शिक्षा हासिल गरेका कर्मचारी नभएकै कारण हाल आएर आफूलगायत हुम्ला जिल्लाका अधिकांश सर्वसाधारणले दुःख भोग्नु परेको उनले बताए। जसका कारण राष्ट्रिय परिचयपत्र वितरणमा समेत ढिलाइ भएको स्थानीयले बताएका छन्। यसअघि नागरिकता बनाउँदा हचुवाका भरमा बनाइएकाले यतिबेला राष्ट्रिय परिचयपत्र बनाउन निकै ढिलाइ भएको छ।
राष्ट्रिय परिचयपत्र बनाउँदा सक्कलै नागरिकता आवश्यक पर्ने र सोही अनुसार बनाउनुपर्ने भएकाले कसैका नागरिकता नम्बर नमिल्ने, कसैको जारी मिति नमिल्ने त कसैका जन्ममिति नै नमिल्दा धेरैको नागरिकता सच्याउँदै परिचयपत्र बनाउँदा निकै ढिलाइ हुने गरेको पाइएको छ।
केही दिनदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली हुमलाको दुर्गम ग्रामीण गाउँबस्तीमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दै आएको छ तर त्यहाँ सबै नागरिकको राष्ट्रिय परिचयपत्र बन्न सफल हुन सकेको छैन। हुम्लाको सात वटै पालिकामा विभागले एक/एक जना खटाई गाउँपालिकाका अन्य कर्मचारीको सहयोगमा यतिबेला वडा वडामा गएर राष्ट्रिय परिचयपत्र बनाउन र पुरानाको कार्डसमेत वितरण गरिँदै आएको छ।
नागरिकतामा भएको त्रुटि सच्याउनका लागि जिल्ला प्रशासन कार्यालमा वा इलाका प्रशासन कार्यालयमै गएर नागरिकता बनाउने वा सच्याउनुपर्ने भएपछि ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको छ। यसअघि गाउँ गाउँमा गएर जिल्ला प्रशासन कार्यालयको घुम्ती टोलीले बनाएका नागरिकतामा पनि धेरै त्रुटि देखिएको छ।
उक्त विषयमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दसँग बुझ्दा उनले जिल्ला प्रशासन कार्यालय हुम्लाको अभिलेखमा रहेको विवरण र नागरिकतामा रहेको विवरण फरक परेमा जिल्ला प्रशासन कार्यालय हुम्लाले कानुनले सच्याउन मिल्नेसम्मको विवरण सच्याउन सकिने बताए। यदि कानुनले नमिल्ने भए सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार राष्ट्रिय परिचयपत्र बनाउन सकिने सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार