Technology Khabar ३० श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
अमेरिकी अधिकारीहरूले चीनतर्फ अवैध रूपमा मोडिन सक्ने उच्च जोखिममा रहेका अत्याधुनिक चिपहरूको लक्षित थानहरुमा गोप्य रूपमा लोकेशन ट्र्याकिङ उपकरण राखेका यसबारे प्रत्यक्ष जानकारी राख्ने दुई व्यक्तिले बताएका छन्।
यी उपायहरू अमेरिकी निर्यात प्रतिबन्धअन्तर्गत रहेका गन्तव्यतर्फ एआई चिपहरू मोडिएको पत्ता लगाउनका लागि अपनाइएका हुन् र अनुसन्धानमा रहेका केही सीमित खेपहरूमा मात्र लागू हुने ती व्यक्तिहरूले भनेका छन्। यसले चीनमाथि चिप निर्यात प्रतिबन्ध कार्यान्वयन गर्न अमेरिकाले कति टाढासम्म जाने गरेको छ भन्ने देखाउँछ। यद्यपि ट्रम्प प्रशासनले उन्नत अमेरिकी सेमीकन्डक्टरमा चीनको पहुँचका केही प्रतिबन्धहरू खुकुलो पार्ने प्रयास गरिरहेको छ।
रोयटर्सका अनुसार लोकेशन ट्र्याकरहरूले अमेरिकी निर्यात नियन्त्रण उल्लङ्घन गरेर नाफा कमाउने व्यक्तिहरू र कम्पनीहरूविरुद्ध मुद्दा बनाउन मद्दत गर्न सक्ने ती व्यक्तिहरूले बताएका छन्। विषय संवेदनशील भएकाले उनीहरूले नाम खुलाउन मानेनन्।
लोकेशन ट्र्याकरहरू दशकौँदेखि अमेरिकी कानून कार्यान्वयन निकायहरूले विमानका पार्ट्स जस्ता निर्यात प्रतिबन्धित वस्तुहरूको निगरानी गर्न प्रयोग गर्दै आएका छन्। पछिल्ला वर्षहरूमा सेमीकन्डक्टरहरूको अवैध मोडाविरुद्ध पनि यसको प्रयोग भएको एउटा स्रोतलाई उद्धृत गरिएको छ।
एआई सर्भर आपूर्ति श्रृंखलामा सक्रिय पाँच अन्य व्यक्तिहरूले डेल र सुपर माइक्रो जस्ता उत्पादकका सर्वर खेपमा ट्र्याकर प्रयोग भएकोबारे आफूहरूलाई जानकारी भएको बताए।
यी सर्भरहरूमा एनभिडिया र एएमडीका चिपहरू हुन्छन्। यी व्यक्तिहरूका अनुसार ट्र्याकरहरू प्रायः सर्भर खेपको प्याकेजिङमा लुकाइएका हुन्छन्। कसले र आपूर्ति मार्गको कुन बिन्दुमा राखेका हुन् भन्ने उनीहरूलाई थाहा छैन।
रोयटर्सले चिपसम्बन्धी अनुसन्धानमा ट्र्याकरहरू कति पटक प्रयोग भएको वा अमेरिकी अधिकारीहरूले चिप तस्करीको अनुसन्धानका लागि कहिलेदेखि प्रयोग गर्न थालेका हुन् भन्ने पत्ता लगाउन सकेन। अमेरिकाले २०२२ देखि एनभिडिया, एएमडी र अन्य उत्पादकका उन्नत चिपहरूको चीनतर्फ बिक्री प्रतिबन्ध लगाएको हो।
सर्भर आपूर्ति श्रृंखलामा संलग्न दुई व्यक्तिले बताएअनुसार २०२४ को एउटा घटनामा एनभिडिया चिपसहितको डेल सर्भर खेपमा ढुवानी बक्सहरूमा ठूलो ट्र्याकर र प्याकेजिङभित्र तथा सर्भरभित्र नै लुकाइएका साना उपकरणहरू राखिएका थिए।
तेस्रो व्यक्तिले डेल र सुपर माइक्रो सर्भरबाट अन्य चिप पुनर्विक्रेताले ट्र्याकर निकालिरहेको तस्वीर र भिडियो देखेको बताए। केही ठूला ट्र्याकरहरू स्मार्टफोन जत्रा आकारका रहेका उनले बताए।
निर्यात नियन्त्रण र कार्यान्वयन हेर्ने अमेरिकी वाणिज्य विभागअन्तर्गतको ब्यूरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी प्रायः संलग्न हुने गरेको र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन र एफबीआईले पनि सहभागिता जनाउन सक्ने स्रोतहरूले जनाएका छन्।
एचएसआई र एफबीआई दुवैले प्रतिक्रिया दिन अस्वीकार गरे। वाणिज्य विभागले पनि टिप्पणीको अनुरोधमा जवाफ दिएन। चिनियाँ विदेश मन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन।
रोयटर्सका अनुसार सुपर माइक्रोले आफ्नो “सुरक्षा अभ्यास र नीति” सार्वजनिक नगर्ने बताउँदै विश्वव्यापी सञ्चालन, साझेदार र ग्राहकको सुरक्षाका लागि यस्ता उपाय अपनाइने बताए। अमेरिकी अधिकारीहरूले गरेका कुनै ट्र्याकिङबारे टिप्पणी गर्न भने इन्कार गर्यो।
डेलले आफ्नो उत्पादन खेपमा अमेरिकी सरकारले ट्र्याकर राख्ने कुनै पहल भएकोबारे आफूलाई जानकारी नभएको बतायो। एनभिडियाले टिप्पणी गर्न मानेन । एएमडीले भने टिप्पणीको अनुरोधमा जवाफ दिएन।
प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार