Technology Khabar २९ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
गुल्मीको इस्मा गाउँपालिका-५, इस्मा रजस्थलमा २०७६ सालमा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालय सात वर्षसम्म भौतिक पूर्वाधारविहीन अवस्थामा रहेको छ।
स्थापनादेखि नै शिक्षालयले कुमारी आधारभूत विद्यालयको कोठाबाट पठनपाठन सञ्चालन गर्दै आएको छ।
प्रशासनिक कार्यका लागि मासिक २१ हजार रुपैयाँमा स्थानीयको घर भाडामा लिइएको छ। चाँपटारी आसपासमा पक्की घर नहुँदा कक्षाकोठा र प्रशासनिक काम दुवैमा कठिनाइ भएको शिक्षालयका कर्मचारीले बताएका छन्।
प्रशिक्षक तथा विद्यार्थीलाई बस्ने कोठा पाउन पनि मुस्किल परेको छ।
वैकल्पिक स्थान नहुँदा विद्यार्थी महँगो भाडामा कच्ची घर लिन बाध्य छन्। बर्दिया, ठाकुरद्वारा नगरपालिका-९ का विद्यार्थी किरितार्थ उपाध्यायले बजार गर्न र आवश्यक सामग्री किनमेल गर्न १६ किलोमिटर टाढा तम्घास पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरे। उनका अनुसार पर्याप्त पूर्वाधार नहुँदा पठनपाठनमा ठूलो असर परेको छ।
निजी कलेजमा यो पाठ्यक्रम अध्ययन गर्दा करिब चार लाख रुपैयाँ लाग्ने भए पनि सरकारी शिक्षालय भएकाले ५७ हजारमै पढाइ शिक्षालयमा प्रयोगशाला, आवासीय सुविधा र पर्याप्त कक्षाकोठा हुनुपर्ने भए पनि, कुनै पनि विषयका दृष्टिले उपयुक्त नठानिने स्थानमा शिक्षालय स्थापना भएको हो।
यद्यपि स्थापना भएको छ वर्षमा गुल्मी, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, सुर्खेत, रुकुम, बझाङ, बाजुरालगायतका जिल्लाबाट आएका विद्यार्थीले कठिन परिस्थितिमा अध्ययन पूरा गरेका छन्।

इस्मा गाउँपालिका र मन्त्रीपरिषद्को ढिलासुस्तीका कारण ४४ रोपनी जग्गा उपलब्ध हुँदाहुँदै पनि पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन। हाल गाउँपालिकाले ३० वर्षका लागि शिक्षालयलाई जग्गा भोगाधिकार दिने निर्णय गरिसकेको छ तर जग्गाको क्षेत्रफल टुङ्गो लागिसकेको छैन।
शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भइसकेकाले डिपिआर तथा भवन निर्माणको तयारी भइरहेको जानकारी दिए।
देशभर आवश्यक पर्ने जियोमेटिक्स इन्जिनियरिङ विषयको पढाइ शिक्षालयले सञ्चालन गर्दै आएको छ। पाण्डेले दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गरेर नियमित पठनपाठन भइरहेको दावी गरे।
उनका अनुसार धेरैले ‘अमिन भनेर बुझ्ने यो विषय वास्तवमा डिप्लोमा तहको तीनबर्से जियोमेटिक्स इन्जिनियरिङ हो जसको माग देशभर उच्च छ। यस विषयको डिप्लोमा अध्ययनपछि अमिन वा सर्वेक्षकका पदमा काम गर्न पाउने र स्वरोजगार हुने अवसर पनि हुन्छ।
निजी कलेजमा यो पाठ्यक्रम अध्ययन गर्दा करिब चार लाख रुपैयाँ लाग्ने भए पनि सरकारी शिक्षालय भएकाले ५७ हजारमै पढाइ भइरहेको छ। गत वर्षदेखि गाउँपालिकाले देशभरका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरेको छ।
इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले शिक्षालयको दिगो विकास तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न छात्रवृत्ति पनि दिइँदै आएको बताइन्। गत वर्ष ११ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत थिए भने यस वर्ष १४ जना नयाँ विद्यार्थी भर्ना भइसकेका छन्।-रासस
प्रकाशित: २९ श्रावण २०८२, बिहीबार