Technology Khabar २९ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
युनाइटेड लन्च अलायन्स (यूएलए) ले मंगलबार राति (अगस्ट १२) आफ्नो अहिलेसम्मकै शक्तिशाली भल्कन रकेट प्रक्षेपण गरेको छ।
कम्पनीले अमेरिकाको सैन्य पक्षका लागि मंगलबार राति ८:५६ बजे ईडीटी (अगस्ट १३ बिहान ००:५६ जीएमटी) मा एउटा प्रायोगिक नेभिगेसन उपग्रह कक्षामा पठाएको हो। यो मिसनमा यूएलएको नयाँ शक्तिशाली भल्कन सेन्टाउर रकेट फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस लन्च कम्प्लेक्स ४१ (एसएलसी-४१) बाट प्रक्षेपण गरिएको थियो।
भल्कनमा चार साइड-माउन्टेड ठोस रकेट बुस्टर जडान गरिएको थियो, जसको मद्दतले यसले आफ्नो पेलोडलाई प्रत्यक्ष भूस्थिर कक्षामा पठाउन पर्याप्त थ्रस्ट उत्पादन गर्यो। यो यूएलएको अहिलेसम्मकै लामो उडानमध्ये एक हो जसको समयावधि सात घण्टा र दूरी २२ हजार माइल (३५ हजार किलोमिटर)भन्दा बढी हुने यूएलएले जनाएको छ।
यो पेलोड अमेरिकी सेनाको ४८ वर्षयताकै पहिलो प्रायोगिक नेभिगेसन उपग्रह हो। यसलाई पोजिसन, नेभिगेसन र टाइमिङ (पीएनटी) उपग्रह भनिन्छ, जसले परिचित जीपीएस प्रणालीले जस्तै डेटा प्रदान गर्छ।
एल३ह्यारिस टेक्नोलोजीजका एन्ड्र्यु बुल्टाका अनुसार, यो उपग्रहमा धेरै नयाँ प्रायोगिक प्रविधिहरू परीक्षण गरिनेछ, जसले यसलाई ज्यामिङ र स्पुफिङबाट जोगाउनेछ। पीएनटी पेलोड नर्थरोप ग्रुम्यानले बनाएको स्याटेलाइट बसमा एकीकृत गरिएको हो। यो उपग्रहलाई सार्वजनिक रूपमा नेभिगेसन टेक्नोलोजी स्याटेलाइट–३ (एनटीएस–३) भनेर चिनाइएको छ।
यसमा फेज्ड एरे एन्टेना जडान गरिएको छ, जसले शक्तिशाली सिग्नललाई जमिनमा तैनाथ फौजसम्म पठाउन र ज्यामिङ वातावरणमा काम गर्न सक्षम बनाउँछ। बुल्टाका अनुसार, जीपीएस ज्यामिङ अमेरिकी सेना र व्यावसायिक उपग्रह सञ्चालक दुवैका लागि बढ्दो चिन्ताको विषय बनेको छ, त्यसैले यो मिसनमा यी नयाँ प्रविधिले ज्यामिङ आक्रमणबाट कसरी जोगाउन सक्छ भन्ने परीक्षण गरिनेछ।
यसका अतिरिक्त, उपग्रहमा यस्तो सफ्टवेयर संरचना छ, जसलाई कक्षामै पुनः प्रोग्राम गर्न सकिन्छ। बुल्टाका शब्दमा, “यो साँच्चिकै खेल बदल्ने क्षमता हो।”
२०२ फुट (६१ मिटर) अग्लो भल्कन सेन्टाउरको यो तेस्रो उडान हो। पहिलो उडान २०२४ को जनवरीमा भएको थियो, जसमा भल्कनले एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरलाई चन्द्रमातर्फ पठाएको थियो तर ल्यान्डरमा समस्या आएपछि यो पृथ्वीमै फर्किएको थियो। यो त्रुटि रकेटको कारण भने भएको थिएन।
दोस्रो उडान २०२४ को अक्टोबरमा भएको थियो, जसमा सिर्रा स्पेसको ड्रीम चेजर स्पेस प्लेन प्रक्षेपणको तयारीस्वरूप एउटा मास सिमुलेटर पठाइएको थियो। सो उडानमा पनि लगभग ३९ सेकेन्डमा रकेटको साइड बुस्टरका एक नोजलमा निर्माणसम्बन्धी दोषका कारण आगो र पदार्थ निस्किएको देखिएको थियो।
तथापि भल्कनले मिसन सफलतापूर्वक पूरा गर्यो र यूएलएले यसलाई सफल घोषित गर्यो। त्यसपछि अमेरिकी स्पेस फोर्सले भल्कन सेन्टाउरलाई राष्ट्रिय सुरक्षासम्बन्धी मिसनका लागि प्रमाणित गर्यो, जसका लागि अहिले मेटा प्रतिस्पर्धी स्पेसएक्स मात्र अर्को प्रमाणित प्रदायक हो।
यूएलएका अनुसार, भल्कन सेन्टाउरलाई अमेरिकी स्पेस फोर्सका तर्फबाट दुई दर्जनभन्दा बढी राष्ट्रिय सुरक्षासम्बन्धी मिसनका लागि चयन गरिएको छ। यो रकेट फ्लोरिडाको केप क्यानाभेरल र क्यालिफोर्नियाको भ्यानडेनबर्ग स्पेस फोर्स बेस दुवै स्थानबाट प्रक्षेपण गर्न सकिन्छ।
प्रकाशित: २९ श्रावण २०८२, बिहीबार