भर्जिन ग्यालेक्टिकको ‘डेल्टा क्लास’ सबअर्बिटल स्पेस प्लेनले २०२६ मा उडान भर्ने सम्भावना

  • Technology Khabar | २९ श्रावण २०८२, बिहीबार
भर्जिन ग्यालेक्टिकको ‘डेल्टा क्लास’ सबअर्बिटल स्पेस प्लेनले २०२६ मा उडान भर्ने सम्भावना
तस्बिर: स्पेस डटकम

काठमाडौं ।

भर्जिन ग्यालेक्टिकले विकास गरिरहेको नयाँ ‘डेल्टा क्लास’ सबअर्बिटल स्पेस प्लेन २०२६ को शरद ऋतुमा उडान भर्न सक्ने सम्भावना छ। यसमा अनुसन्धान तथा निजी अन्तरिक्ष यात्री उडान दुवै सुरु हुने अपेक्षा गरिएको छ।

कम्पनीले लरेन्स लिभरमोर नेसनल ल्याबोराटरीसँग उच्च उचाइमा अन्य अन्तरिक्षयान प्रक्षेपण गर्न आफ्नै ‘मदरशिप’ विमानलाई क्यारियर प्लेटफर्मका रूपमा प्रयोग गर्ने सम्भाव्यता अध्ययनमा पनि सहकार्य गरिरहेको स्पेस डटकमले उल्लेख गरेको छ।

“हाम्रो स्पेससिपको प्रगति सबै प्रणाली र संरचनामा भइरहेको छ,” भर्जिन ग्यालेक्टिकका सीईओ माइकल कोलग्लाजियरले बताएका छन्। उनले व्यावसायिक सेवा सुरु गर्ने तयारीमा बलियो वित्तीय स्थितिलाई जोड दिँदै २०२६ मा अनुसन्धान तथा निजी अन्तरिक्ष यात्री उडान सुरु गर्ने योजना यथावत् रहेको बताएका छन्।

कम्पनीका अनुसार डेल्टा क्लास प्रणाली र संरचनामा पखेटा एसेम्ब्ली यस वर्षको चौथो त्रैमासिकमा सम्पन्न हुनेछ भने ‘फेदर’ एसेम्ब्ली पनि निर्माणाधीन छ। फेदर प्रणाली स्पेससिप पृथ्वी फर्कँदा पुनः प्रवेश प्रक्रियामा स्थिरता कायम गर्न प्रयोग हुन्छ। डेल्टा क्लास स्पेससिपको फ्युजलेज निर्माण यो वर्षको अन्त्य वा २०२६ सुरुमा पूरा हुने अपेक्षा गरिएको छ।

व्यावसायिक अद्यावधिकमा इटालीमा दोस्रो स्पेसपोर्ट विकास गर्ने सम्भाव्यता अध्ययनको प्रगतिबारे पनि उल्लेख गरिएको छ।
अन्तिम असेंबली एरिजोनाको फिनिक्स नजिक रहेको डेल्टा सुविधा केन्द्रमा हुनेछ। डेल्टा क्लास स्पेससिप महिनामा आठ अन्तरिक्ष उडान भर्ने क्षमतासहित बनाइँदै छन्, जसको मासिक पेलोड वा ग्राहक क्षमता अघिल्लो ‘भीएसएस युनिटी’ भन्दा १२ गुणा बढी हुनेछ।

कम्पनीका अनुसार यी नयाँ पुस्ताका स्पेससिपहरूले अभूतपूर्व आवृत्तिमा मानिसलाई अन्तरिक्षमा पुर्याउने र उद्योगमै अग्रणी लागत संरचनामा सञ्चालन हुनेछन्।

भर्जिन ग्यालेक्टिकका स्पेसलाइन अध्यक्ष माइक मोसेसले व्यावसायिक अन्तरिक्ष उडान कार्यक्रमको जिम्मेवारी सम्हालेका छन्। कम्पनीले जारी गरेको नयाँ ‘ग्यालेक्टिक १०’ भिडियोमा डेल्टा क्लास स्पेससिप कार्यक्रम अघि बढाउनका लागि भएका विकास चरणहरू देखाइएको छ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EASA, Airbus Helicopters, and Loft Dynamics launch VR-based training initiative

  • Technology Khabar
  • २९ श्रावण २०८२, बिहीबार