३० हजार डलरमा आउने मध्यम आकारको ईभी पिकअप उत्पादन गर्दै फोर्ड

Technology Khabar २८ श्रावण २०८२, बुधबार

काठमाडौं ।

संघीय अनुदानहरू गुम्ने सम्भावना हुँदाहुँदै पनि फोर्डले अमेरिकामा आफ्नो विद्युतीय सवारी उत्पादनलाई ठूलो रूपमा बढाउने योजना बनाएको छ। गत हप्तामा “ब्रेकथ्रु” र “मोडेल टी मोमेन्ट” भनेर चर्चा गरेपछि कम्पनीले नयाँ उत्पादन परिवारका लागि साझा हुने फोर्ड युनिभर्सल ईभी प्लेटफर्म घोषणा गरेको छ।

यसको पहिलो मोडेल करिब ३०,००० डलरको मूल्य हुने मध्यम आकारको पिकअप हुने छ, जसको डिजाइन लोकप्रिय म्याभरिक जस्तै हुने सम्भावना छ। यसमा कम्पनीको आगामी प्रिज्माटिक एलएपपी ब्याट्री प्रयोग हुनेछ।

फोर्डले यसका लागि ५ अर्ब डलर लगानी गर्नेछ, जसमा केन्टकीको लुइभिल कारखानामा २ अर्ब डलर र ब्लूओभल ब्याट्री प्लान्टका लागि पहिले नै घोषणा गरिएका ३ अर्ब डलर समावेश छन्। लुइभिल कारखाना ५२,००० वर्गफुटले विस्तार हुने र करिब ४,००० प्रत्यक्ष रोजगारी सिर्जना वा सुरक्षित हुने कम्पनीले जनाएको छ।

हाल फोर्डका दुई मात्र ईभीहरू एफ-१५० लाइटनिङ र मस्टाङ माक-ई अलग-अलग प्लेटफर्ममा बनेका छन्। युनिभर्सल ईभी प्लेटफर्ममार्फत कम्पनीले भ्यान, कार, पिकअप लगायतका धेरै मोडेलहरू सजिलै र सस्तोमा उत्पादन गर्न सक्नेछ।

कम्पनीका अनुसार यो प्लेटफर्मले साधारण, कुशल र लचिलो प्रणालीमार्फत किफायती, विद्युतीय र सफ्टवेयर-परिभाषित सवारीहरू उपलब्ध गराउने इन्ग्याजेटले उल्लेख गरेको छ।

फोर्डले प्लेटफर्ममार्फत सामान्य गाडीको तुलनामा २० प्रतिशत कम पार्ट्स, कम फास्टनर र वर्कस्टेशन, तथा १५ प्रतिशत छिटो एसेम्बली समय हुने दावी गरेको छ। कम्पनीले पाँच वर्षको स्वामित्व खर्च पनि तीन वर्ष पुरानो टेस्ला मोडेल वाईभन्दा कम हुने बताएको छ।

कम्पनीका अनुसार एलएफपी प्रिज्माटिक ब्याट्रीहरूले कोबाल्ट र निकेलरहित संरचनाका कारण ठाउँ, तौल र लागतमा बचत गर्नेछन्। तर, चीनको सीएटीएलबाट प्रविधि लिने भएकाले अमेरिकी कांग्रेसले चीनको प्रविधि वा सामग्री प्रयोग गर्ने ब्याट्री प्लान्टलाई संघीय सहायता रोक्ने विधेयक पारित गरेमा फोर्डले ७० करोड डलरसम्मको कर छुट गुमाउन सक्छ।

पहिलो मोडेल २०२७ मा लञ्च हुने मध्यम आकारको चार ओटा ढोका भएको  विद्युतीय पिकअप हुनेछ। यसको नाम र फोटो अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यसमा टोयोटाको नयाँ र्याभ४ भन्दा बढी भित्री ठाउँ हुने दावी गरिएको छ, साथै फ्रङ्क र ट्रक बेडको अतिरिक्त सुविधा हुनेछ। ब्याट्रीको कारण कम गुरुत्वाकर्षण, तत्काल टर्क, र मस्टाङ इकोबुस्ट जस्तै (करिब ४.५ सेकेन्डमा) ०-६० माइल प्रतिघण्टा गति तथा बढी डाउनफोर्स हुनेछ।

अन्य मोडेलबारे फोर्डले विस्तृत विवरण दिएको छैन, तर एनिमेशनमा युटिलिटी भ्यानदेखि क्रसओभर,एसयूभी, सेडानसम्मका विभिन्न मोडेल देखाइएका छन्।

नयाँ पिकअपको नाम रान्चेरो वा रेञ्जर हुनसक्ने अनुमान गरिएको छ। कम्पनीले मध्यम आकारको विद्युतीय ट्रकबारे मूल्य, ब्याट्री रेन्ज र चार्ज समय लगायतको विवरण पछि सार्वजनिक गर्ने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया