यी यूट्युबरले वर्षौंअघि कम्प्युटर जगतले त्यागिसकेको ‘फ्लपी डिस्क ड्राइभ’ शून्यबाट यसरी पुन:निर्माण गरे

Technology Khabar २८ श्रावण २०८२, बुधबार

काठमाडौं ।

युट्युबर ‘पोलिम्याट’ ले अघिल्ला पुस्तामा लोकप्रिय भण्डारण माध्यम फ्लपी डिस्क ड्राइभ पुन:निर्माण गरेका छन्। आफ्नो रहर र क्षमताको मिश्रणबाट उनले शून्यबाट उक्त फ्लपी डिस्क ड्राइभ पुन:निर्माण गरेका हुन्।

नियमित रूपमा फ्लपी प्रयोग गर्ने अवसर नपाएकाहरूका लागि, फ्लपी डिस्क एक चुम्बकीय पदार्थले कोट गरिएको लचिलो पोलिएस्टर डिस्क हो, जसलाई सुरक्षात्मक आवरणभित्र राखिन्छ। यसलाई फ्लपी ड्राइभमा हाल्दा चुम्बकीय हेडले डिस्कमा डाटा पढ्छ वा लेख्छ। ‘सेभ’ आइकनको आकृति फ्लपी डिस्कको आकारमा आधारित भएर बनाइएको हो।

इन्ग्याजेटका अनुसार सुरुमा पोलिम्याटले शेपर३डी र माकेराक्याममा डिस्कको आवरण र अन्य भागहरू मापन गरी पुनःनिर्माण गरे र कारभेरा एयर सीएनसी मेसिनमा एल्युमिनियम टुक्राहरू काटे। चुम्बकीय डिस्क स्वयं उनले पीईटी फिल्मको टुक्रा लेजर-कट गरेर र आइरन अक्साइड पाउडरको तह लगाएर तयार गरे।

सबै भागहरू जोडेपछि र केही जोखिमपूर्ण क्षणपछि उनले फ्लपी डिस्कलाई चुम्बकयुक्त बनाउन र लेख्न सफल भए। तर यो सबै पेशेवर रुपमा नभई आधारभूत स्तरमा मात्रै भएको थियो।

२०१० मा फ्लपी डिस्कलाई आधिकारिक रूपमा मृत अर्थात् अबदेखि काममा नल्याइने घोषित गरिएको थियो। त्यसपछि सबैभन्दा लामो समय फ्लपीमै काम गरेका प्रयोगकर्ताहरूले समेत यसलाई त्याग्नुपर्यो।

जापान सरकारले अन्ततः २०२४ मा फ्लपी डिस्कलाई पूर्ण रुपमा बिदा गर्‍यो र जर्मन नेभीले पनि त्यही वर्ष यसबाट छुटकारा पायो। अमेरिकाले त २०१९ मा ८ इन्चको फ्लपी डिस्क प्रयोग गरेर आणविक हतियार प्रक्षेपण समन्वय गर्ने प्रणालीलाई बन्द गर्‍यो।

पोलिम्याटको परियोजना पुरानो प्रविधि र इन्जिनियरिङ कौशलतर्फको सुन्दर यात्रा थियो। सायद अर्को पटक उनले सुरुबाटै कम्प्याक्ट डिस्क बनाउन प्रयास गर्लान्।

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया