Technology Khabar २७ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
-लक्ष्मण दर्नाल
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो। मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ ।
सिन्धुपाल्चोक ठुलो सिरुबारीका अनिल श्रेष्ठले २०७५ सालमा बिचौलियामार्फत ४० हजार रुपियाँ दिएर कार, जिप, ट्रक, बस र लरीको लाइसेन्स निकालेका थिए। उनले पाँच वर्षसम्म काठमाडौँ चक्रपथमा गोकर्णेश्वर यातायात चलाए। अहिले लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन।
बरू उनको लाइसेन्स नम्बर ७८०५५० हरिभक्त खत्रीले लिएको ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स रहेछ। खत्रीले २०५९ कात्तिकमा लिएको लाइसेन्स श्रेष्ठलाई नामसारी गरिदिएका रहेछन्।
लाइसेन्स नवीकरण नभएपछि श्रेष्ठ अहिले बेरोजगार छन्। लाइसेन्स निकाल्न पैसा दिएका बिचौलियालाई खोजिरहेका छन्। पैसा खुवाएरै नवीकरण गर्न सकिन्छ कि भनेर एकान्तकुना कार्यालयका बिचौलियालाई नभेटेका होइनन् तर ५० हजार रुपैयाँ लाग्छ भनेपछि पैसा दिन नसकेर गाउँ उनी फर्किए।
परीक्षा दिएर नयाँ लाइसेन्स निकाल्नका लागि पनि २०८५ सालसम्म नमिल्ने भएपछि गाउँ फर्किनुको विकल्प नभएको उनको भनाइ छ ।
श्रेष्ठले भने, “त्यतिबेला परीक्षा दिएको हो तर ठुलो गाडीको पनि सबै एकै पटक लाइसेन्स आउँछ भनेपछि ४० हजार दिएको हो। अहिले नवीकरण गर्न जाँदा ढड्डामा रेकर्ड भेटिएन। नवीकरण नहुने भयो। जागिर पनि गयो। अब नयाँ निकाल्न पनि २०८५ सालसम्म कुर्नुपर्ने भयो।”
बिचौलियाको घर, ठेगाना थाहा नभएकाले खोज्न पनि गाह्रो भएको श्रेष्ठले बताए। उनले भने, “यस्तो समस्या भोग्नु पर्छ भन्ने पहिल्यै थाहा पाएको भए पैसा दिने नै थिइनँ। ब्याजमा ऋण खोजेर दिएको हो। अहिले पैसा पनि गयो, जागिर गयो, लाइसेन्स गयो, समय पनि खेर गयो जस्तो लाग्छ। यता न उताको भइयो।”
श्रेष्ठ मात्र होइन, यस्ता समस्या लिएर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनामा वर्षमा सयौँ आउने गरेका छन्। परीक्षा नदिई घुस खुवाएर अरूको लाइसेन्स नम्बरमा आफ्नो लाइसेन्स लिएका नवीकरण गर्न जाँदा बिचल्लीमा पर्ने गरेका छन्।
कर्मचारीको मिलेमतोमा बिचौलियाले विदेश गएर १० वर्षसम्म नफर्किएका, मृत्यु भएका वा दुई पटकसम्म नवीकरण गर्न नआएकाको लाइसेन्स नम्बर नामसारी गरिदिँदा समस्या भोग्नु परेको छ।
एकान्तकुना कार्यालयका अनुसार पाँच/सात वर्षअघिसम्म यातायात व्यवस्था विभागमा विदेश गएर नफर्किएका लाइसेन्सवाहक, मृत्यु भएका र लामो समय नवीकरण गर्न नआएकाको खोजी गर्न गोप्य रूपमा शाखा नै सञ्चालनमा थियो।
त्यस्ता लाइसेन्सवाहक नभेटिए बाहिर बिचौलियासँग साँठगाँठ गरी अनिल श्रेष्ठ जस्ता युवालाई लाइसेन्स बिक्री गरिन्थ्यो। श्रेष्ठको जस्तै समस्या हुनेलाई अझै पनि पैसा असुल्ने काम रोकिएको छैन। यसको सिकार उनी श्रेष्ठ नै हुन् ।
उनले भन्नुभयो, “यातायात कार्यालयमा जाँदा अरूको लाइसेन्सको हो नवीकरण हुँदैन भन्यो तर फेरि बाहिरका मान्छेलाई बुझेको ५० हजार दिए हुन्छ भन्छन् ! पैसा दिएर नवीकरण हुँदो रहेछ त ! कानुन भनेको हामी जस्ता मजदुर र पैसा नहुनेलाई त लाग्दो रहेछ नि ।”
तर एकान्तकुना कार्यालयले भने हाल त्यस्तो प्रकारको नामसारी नगरिएको दावी गरेको छ। एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले भन्नुभयो, “नामसारी गरिएको लाइसेन्स अझै पनि पैसा दिएपछि हुन्छ भन्ने भ्रम छरिएको रहेछ। बिचौलियाका हल्लाको पछि नलाग्न अनुरोध गर्छु । यो कार्यालयबाट यसरी नामसारी गर्ने काम पूर्ण रूपमा बन्द छ। हामीबाट हुँदैन, सम्भव छैन। त्यस्तो भेटिए कारबाही हुन्छ।”
२०७८ सालपछि यसरी नामसारी गर्ने काम रोकिएको कार्यालयले जनाएको छ। पछिल्ला नामसारी २०७८ सालमा भएको रेडर्क देखिएको छ। २०७४/७५ सालमा यस्ता किसिमको नामसारी धेरै भएको देखिन्छ।
हाकिमले करार कर्मचारीलाई प्रयोग गरेर नामसारीको काम हुने गरेको थियो। यस्ता गैरकानुनी कार्य रोक्ने र कारबाही गर्ने कानुनले नै हो। अर्कोतर्फ नयाँ प्रविधिबाट पनि गैरकानुनी कामलाई नियन्त्रण गर्न सकिने प्रमुख जिएमको भनाइ छ।
उनका अनुसार हाल बागमती प्रदेश सरकार इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडिएल) प्रणालीमा जाँदै छ। अब सबै काम अनलाइनबाट हुने भएकाले यस्ता गतिविधि नियन्त्रण हुने कार्यालयको दावी छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २७ श्रावण २०८२, मंगलवार