Technology Khabar २७ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
चिनियाँ ब्याट्री निर्माता कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी’ (सीएटीएल) ले सोमबार दक्षिणी प्रान्त जियाङ्सीको यिचुनस्थित एउटा प्रमुख लिथियम खानीमा उत्पादन रोकिएको जनाएको छ। यससँगै लिथियम फ्युचर्स र खानी कम्पनीहरूको सेयर मूल्यमा तीव्र वृद्धि भएको छ। यो कदम चीनको उत्पादन क्षमतामा भएको अतिक्रमण नियन्त्रणको व्यापक अभियानबीच आएको हो।
सीएटीएलका अनुसार, खानीको इजाजतपत्र अगस्ट ९ मा म्याद समाप्त भएको हो र कम्पनीले छिट्टै नवीकरणको लागि आवेदन दिइरहेको छ। कम्पनीले भनेको छ, “अनुमति प्राप्त भएपछि हामी पुनः उत्पादन सुरु गर्नेछौं।”
घोषणापछि ग्वाङ्जाउ फ्युचर्स एक्सचेन्जमा कारोबार हुने सबैभन्दा सक्रिय लिथियम कार्बोनेट फ्युचर्सको मूल्य ८ प्रतिशत बढेर अधिकतम मूल्य सीमा पुगेको छ। चीन र अष्ट्रेलियाका सूचीबद्ध लिथियम खानी कम्पनीहरूको सेयर पनि १० प्रतिशत भन्दा बढी बढेका छन्।
जुलाईयता लिथियम मूल्य अस्थिर रहँदै आएको छ, विशेषगरी चीनले उत्पादन क्षमतामा नियन्त्रणका लागि कडा भाषा प्रयोग गरेपछि। यसले आपूर्ति पक्ष सुधारका माध्यमबाट लिथियम मात्र होइन, कोइला र इस्पातजस्ता अन्य वस्तुको उत्पादन पनि नियन्त्रण हुनसक्ने लगानीकर्तामा आशा जगाएको रोयटर्सले जनाएको छ।
बेइजिङको नीति परिवर्तनपछि केही सातामै स्थानीय अधिकारीहरूले चीनकै अर्को लिथियम उत्पादक ‘ज्याङ्गे माइनिङ’ लाई छिङहाइ प्रान्तमा रहेको खानीमा उत्पादन रोक्न आदेश दिएका थिए। सीएटीएलको यो बन्द घोषणा यिचुनमा भएको पहिलो सार्वजनिक घटना हो, जहाँ लिथियम खानीहरूको ठूलो संख्यामा उत्पादन हुन्छ।
अष्ट्रेलियाली सरकारको तथ्यांकअनुसार, सीएटीएलको यस खानीबाट वार्षिक ४६ हजार मेट्रिक टनभन्दा बढी लिथियम कार्बोनेट उत्पादन हुनसक्छ, जुन २०२५ को विश्वव्यापी अनुमानित उत्पादनको करिब ३ प्रतिशत हो।
समाचार सार्वजनिक भएपछि चीनका लिथियम खानी कम्पनीहरूको सेयर बजार खुल्नेबित्तिकै बढेको छ। गान्फेङ लिथियमको सेयर मूल्य शेनजेनमा ४ प्रतिशत भन्दा बढी उकालो लागेको छ भने हङकङमा सूचीकृत सेयर करिब १० प्रतिशत ले बढेको छ। तियान्की लिथियमको मूल्य करिब ११ प्रतिशत उफ्रिएको छ।
रोयटर्सका अनुसार अष्ट्रेलियामा लायनटाउन रिसोर्सेसको सेयर करिब २५ प्रतिशत ले बढ्दै शीर्ष लाभकर्ता बनेको छ। पिलबारा मिनरल्स,आईजीओ, कोर लिथियम र मिनरल रिसोर्सेसका सेयरहरू १०.५ प्रतिशत देखि १७.४ प्रतिशत सम्म बढेका छन्। केसीएम ट्रेडका बजार विश्लेषक टिम वाटररका अनुसार, “यो समाचारले लिथियम मूल्यलाई दबाइरहेका आपूर्ति अतिक्रमणका केही दबाबहरूलाई घटाएको छ।”
प्रकाशित: २७ श्रावण २०८२, मंगलवार