ओपनएआईले जीपीटी-५ को मूल्य निकै कम तोक्यो, मूल्ययुद्ध शुरु हुन सक्ने

  • Technology Khabar | २७ श्रावण २०८२, मंगलवार
ओपनएआईले जीपीटी-५ को मूल्य निकै कम तोक्यो, मूल्ययुद्ध शुरु हुन सक्ने

काठमाडौं ।

जीपीटी-५ पनि जीपीटी-४ओ जस्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएको छ। हाइपरराइटका निर्माता र अदर्साइडएआईका सह-संस्थापक तथा सीईओ म्याट शुमरका अनुसार, “जीपीटी-५ जीपीटी-४ओ भन्दा सस्तो छ। बुद्धिमत्ता प्रति डलर निरन्तर बढ्दैछ।”

सोसल मिडिया ‘एक्स’ मा केहीले ओपनएआईको यो शुल्कलाई “प्राइसिङ किलर” भनेका छन् भने ह्याकर न्यूजमा पनि यस्तै प्रशंसा गरिएको छ।

अब प्रश्न यो छ-प्रतिस्पर्धी कम्पनी एनथ्रोपिकले पनि यस्तो कदम चाल्ने हो? पहिल्यै मूल्य घटाएर ओपनएआईलाई चुनौती दिएको गूगल अझ सस्तो हुने हो? यदि यस्तै भयो भने, लामो समयदेखि प्रतीक्षित ठूला भाषा मोडेल (एलएलएम) मूल्य युद्ध सुरु हुन सक्छ।

टेकक्रञ्चका अनुसार मूल्य युद्ध निश्चित रूपमा स्वागतयोग्य हुनेछ। कारण, भाइब-कोडिङ टुल प्रदायकहरूको आधारभूत अर्थतन्त्र नै कमजोर छ, किनकि उनीहरूले मोडेल निर्मातालाई तिर्नुपर्ने शुल्क महँगो र अनिश्चित हुन्छ। त्यस्तै, एआई मोडेलमा आधारित असीमित स्टार्टअपहरू पनि छन्।

इन्फरेन्स लागतसँगै एलएलएमको मूल्य–प्रदर्शन अनुपात अन्ततः सुधार हुनेछ भन्ने सिलिकन भ्यालीमा आशा थियो। तर, यस्तो समानता आउन वर्षौं लाग्ने जस्तो देखिएको थियो, किनकि प्रविधि उद्योगले बढ्दो एआई मागलाई समर्थन गर्न डाटा सेन्टर र पूर्वाधार निर्माणमा सयौं अर्ब डलर लगानी गरिरहेको छ।

ओपनएआईकै कुरा गर्दा कम्पनीले ओर्याकलसँग वार्षिक ३० अर्ब डलरको क्षमता सम्झौता गरेको छ, जबकि यसको वार्षिक आवर्ती राजस्व हालै मात्र १० अर्ब डलर पुगेको हो। यसैबीच, मेटाले २०२५ मा एआई पूर्वाधारमा ७२ अर्ब डलरसम्म खर्च गर्ने योजना बनाएको छ भने, अल्फाबेटले २०२५ का लागि पूँजीगत खर्चमा ८५ अर्ब डलर छुट्याएको छ, जसको प्रमुख कारण एआई आवश्यकताहरू हुन्।

यस्ता विशाल लगानीको अवस्थामा, लागत सामान्यतया बढ्नेतर्फ जान्छ। त्यसैले, मोडेल एपीआईको बढ्दो बिलसँग जुझिरहेका स्टार्टअपहरूका लागि ओपनएआईको मूल्य घटाउने एक मात्र कदमबाट तत्काल खुसी हुने समय अझै आएको नहुन सक्छ।

प्रकाशित: २७ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...