भुक्तानी सेवा प्रदायकहरुका लागि ‘टार्गेडेड फाइनान्सियल स्याङ्शन’ मार्गदर्शन जारी: यो भनेको के हो? यसको उद्देश्य के हो?

Technology Khabar २६ श्रावण २०८२, सोमबार

भुक्तानी सेवा प्रदायकहरुका लागि ‘टार्गेडेड फाइनान्सियल स्याङ्शन’ मार्गदर्शन जारी: यो भनेको के हो? यसको उद्देश्य के हो?

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुका लागि टार्गेडेड फाइनान्सियल स्याङ्शन गाइडलाइन जारी गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी उक्त बैंकवाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) नियमावली, २०५१ को परिच्छेद ६ को नियम ६९ को उपनियम (३) मा भएको व्यवस्था अनुसार गाइडलाइन्स अन टार्गेटेड फाइनान्सियल स्याङ्शन्ज फर पेमेन्ट सर्भिस प्रोभाइडर्स अर्थात भुक्तानी सेवा प्रदायकाहरुका लागि लक्षित वित्तीय प्रतिबन्ध मार्गदर्शन जारी गरिएकोले सोही बमोजिम गर्नु गराउनु सबैमा अनुरोध गरेको हो।

लक्षित आर्थिक प्रतिबन्ध के हो?

‘लक्षित’ प्रतिबन्ध भन्नाले कुनै विशेष व्यक्ति, समूह वा संस्थामाथि लगाइने प्रतिबन्धलाई जनाउँछ। ‘आर्थिक’ प्रतिबन्धमा सम्पत्ति रोक्का गर्नु र प्रतिबन्धित व्यक्तिहरू, संस्थाहरू, समूह वा संगठनहरूको प्रत्यक्ष वा अप्रत्यक्ष लाभका लागि कोष वा अन्य सम्पत्ति उपलब्ध हुन नदिने व्यवस्था समावेश हुन्छ। यस सन्दर्भमा टीएफएस भनेको स्वभावले दुवै लक्षित र वित्तीय हुने प्रतिबन्ध हो।

आर्थिक प्रतिबन्धका प्रकारहरू

आर्थिक प्रतिबन्धका दुई मुख्य प्रकार छन्: एउटा हो सम्पत्ति रोक्का (एसेट फ्रीजिङ) र अर्को हो कोष र सेवा उपलब्ध गराउन निषेध।

सम्पत्ति रोक्का (एसेट फ्रीजिङ): रोक्का गर्नु भनेको नाम तोकिएका व्यक्तिहरूको स्वामित्व वा नियन्त्रणमा रहेका कोष वा अन्य सम्पत्ति सार्ने, रूपान्तरण गर्ने, बिक्री गर्ने वा स्थानान्तरण गर्न निषेध गर्नु हो। यसमा कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू रोक्का गर्नु, जसमा तिनीहरूको प्रयोग, परिमार्जन, स्थानान्तरण, सार्ने वा पहुँच पाउन नदिने कामहरु पर्छन्।

यसबाहेक आर्थिक स्रोतहरू रोक्का गर्नुमा तिनीहरूको प्रयोग गरेर कोष, वस्तु वा सेवा प्राप्त गर्न रोक लगाउनु पनि पर्छ। यसमा बिक्री, भाडामा दिने वा धितो राख्ने कार्य पनि पर्छ।

कोष र सेवा उपलब्ध गराउन निषेध: नाम तोकिएका व्यक्तिहरूलाई कोष उपलब्ध गराउन वा वित्तीय सेवा वा अन्य सम्बन्धित सेवा प्रदान गर्न निषेध गर्नु हो। यसको उदाहरण भुक्तानी सेवा प्रदायकहरुका हकमा वालेटमा पहुँच निलम्बन गर्नु, कारोबार रोक्नु वा डिजिटल वित्तीय सेवा उपलब्ध नगराउनु आदि हुन्छ।

लक्षित वित्तीय प्रतिबन्ध (टीएफएस) को उद्देश्य के हो?

लक्षित वित्तीय प्रतिबन्धको उद्देश्य नाम तोकिएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा भंग गर्ने, आतंकवादलाई समर्थन गर्ने वा विनाशकारी हतियारको प्रसार वित्तपोषण गर्ने साधनबाट वञ्चित गर्नु हो। यसका लागि, प्रतिबन्धको अवधिसम्म कुनै पनि प्रकारका कोष, वित्तीय सम्पत्ति वा आर्थिक स्रोत उनीहरूलाई उपलब्ध नहोस् भन्ने सुनिश्चित गरिन्छ।

यस सम्बन्धमा भुक्तानी सेवा प्रदायक हरूले के कुरामा ध्यान दिनुपर्छ?

संयुक्त राष्ट्रसंघ र गृह मन्त्रालयद्वारा प्रकाशित ‘घरेलु आतंकवादी सूची’ समय–समयमा परिवर्तन हुन सक्छ। लक्षित वित्तीय प्रतिबन्ध प्रभावकारी रूपमा लागू गर्नका लागि भुक्तानी सेवा प्रदायकहरूसँग आवश्यक नियन्त्रण र प्रक्रिया अद्यावधिक राख्ने जिम्मेवारी हुन्छ। अद्यावधिक प्रतिबन्ध सूची गृह मन्त्रालयको वेबसाइट वा सम्बन्धित माध्यममार्फत र संयुक्त राष्ट्रसंघको वेबसाइटमा प्रकाशित हुने मार्गदर्शनमा उल्लेख छ।

यस्ता प्रतिबन्धका लक्षित वर्ग को हुन्?

सम्पत्ति रोक्का, साथै कोष उपलब्ध गराउन निषेधका उपायहरू निम्न लक्षित वर्गका लागि लागू हुन्छ:

क. गृह मन्त्रालयद्वारा प्रकाशित ‘घरेलु आतंकवादी सूची’ वा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘कन्सोलिडेटेड स्याङ्शन्स लिस्ट’ मा नाम तोकिएका व्यक्ति, समूह वा संस्था।
ख. उपर्युक्त (क) मा तोकिएका व्यक्ति वा संस्थाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व वा नियन्त्रणमा रहेका कुनै पनि संस्था।
ग. उपर्युक्त (क) र (ख) मा तोकिएका व्यक्ति वा संस्थाको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति वा संस्था।
यदि कुनै सम्पत्ति पूर्ण वा आंशिक रूपमा नाम तोकिएका व्यक्तिको स्वामित्व वा नियन्त्रणमा छ र त्यसबाट लाभ (जस्तै लाभांश वा ब्याज) उत्पादन भइरहेमा, सो लाभको सम्बन्धित अंश पनि रोक्का उपायको अधीनमा पर्छ।

टार्गेडेड फाइनान्सियल स्याङ्शन’ मार्गदर्शनको पूर्ण पाठ

TFS-PSD_

 

Sajilo Visa

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार