Technology Khabar २४ श्रावण २०८२, शनिबार
काठमाडौं ।
सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक सङ्कल्प गर्दै ‘साइबर भिजन–२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ।
नेपालस्थित प्रविधि कम्पनी डाँफेलिङ्क र संयुक्त अरब इमिरेट्स (युएई) केन्द्र रहेको कम्पनी एरोनेक्सको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा साइबर सुरक्षाविज्ञ तथा सरोकार भएकाहरूले साइबर प्रतिरोध, डिजिटल फरेन्सिकलगायत विविध सुरक्षा प्रविधि प्रवर्द्धनका लागि साझा प्रयत्न गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
कार्यक्रममा क्षेत्रीय पहललाई दक्षिणपूर्वी एसियासम्म विस्तार गर्ने योजनासहित आगामी नोभेम्बरमा ‘साइबर भिजन २०२५ बैङ्कक च्याप्टर’ आयोजना गर्ने र डाँफेलिङ्कले एरोनेक्ससँगको सहकार्यमा नेपालमा पहिलोपटक सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र नेटवर्क सञ्चालन केन्द्र (एनओसी) स्थापना गर्ने घोषणा गरिएको छ।
यो कदम नेपाललाई क्षेत्रीय साइबर ‘डिफेन्स हब’को रूपमा विकास गर्ने लक्ष्यमा कोशेढुङ्गा सावित हुने डाँफेलिङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले बताए। उनले भने, “सुरक्षाको भविष्य प्रविधिभन्दा अघि सोच्न सक्ने सामूहिक दृष्टिकोणमा छ, साइबर भिजन त्यसैको व्यावहारिक अभिव्यक्ति हो। हामी नेपालमा साइबर प्रतिरोधलाई अर्को ठूलो उपलब्धिका रूपमा स्थापित गर्न प्रतिबद्ध छौँ। त्यसका लागि सहकार्य विस्तार र नेपालमा आवश्यक सञ्जाल बनाउन अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ।”
कार्यक्रममा एरोनेक्सका प्रमुख कार्यकारी अधिकृत सुजित कुमारले डिजिटल सीमाको सुरक्षाका लागि नवप्रवर्तन र सहकार्यको वातावरण बनाउन कार्यक्रम अगाडि बढाइएको बताए।
नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले राष्ट्रिय साइबर सुरक्षाको अवस्थामाथि चर्चा गर्दै नवीन रणनीतिहरूको आवश्यकता औँल्याए। त्यसमा आवश्यक सहकार्यका लागि नेपाल प्रहरी तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा साइबर खतराहरूको न्यूनीकरण र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि तयार गरिएका समाधानका उपायसहितका उपकरण तथा अनुभव प्रस्तुत गरिएका थिए। यस्तै, यस क्षेत्रका १५ जनाभन्दा बढी मुख्य वक्ताहरूले सूचना प्रविधि, साइबर सुरक्षा र यस क्षेत्रमा भइरहेका पहलबारे आफ्ना अनुभव साझा गरेका थिए। रासस
प्रकाशित: २४ श्रावण २०८२, शनिबार