Technology Khabar २४ श्रावण २०८२, शनिबार
काठमाडौं ।
वैदेशिक रोजगारीका लागि ईजाजत प्राप्त संस्थाहरू (म्यानपावर कम्पनी) ले गर्ने पूर्व स्वीकृतिको विज्ञापन अबदेखि श्रमसंसार अनलाइन पोर्टलबाटै हेर्न सकिने भएको छ।
वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले ल्याएका मागपत्रहरू प्रमाणीकरणपछि पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमसंसार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। म्यानपावर कम्पनीका माग पत्रहरू त्यसमा राखेपछि सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रण हुने विभागले विश्वास व्यक्त गरेको छ।
विभागले सरकारी संयन्त्रबाट प्रकाशित प्रसारित सूचना यकिन गरेर मात्र वैदेशिक रोजगारीको आवश्यक प्रक्रिया सुरुआत गर्नका लागि यस्तो व्यवस्था गरेको जनाएको छ।
“कुनै पनि व्यक्तिले सामाजिक सञ्जाल एंव अनाधिकृत रुपमा गरिएका प्रचार प्रसारमा विश्वास नगरी सरकारी संयत्रबाट प्रकाशित/प्रसारित सूचनाम एकीन गरि मात्र वैदेशिक रोजगारीको आवश्यक प्रक्रिया गर्नुहुन तथा सम्भावित ठगी बाट बच्नुहुन सम्पुर्णमा जानकारीको लागि अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।
विभागले वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीले विदेशस्थित रोजगारदाताबाट प्राप्त मागपत्र नेपाली राजदूतावासबाट प्रमाणीकरण गरी विभागबाट पूर्व स्वीकृति लिइसकेपछि माग पत्रको विवरण श्रमसंसार पोर्टलबाट पनि हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको उल्लेख गरेको छ।
वैदेशिक रोजगार ऐन अनुसार पूर्व स्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिएर नेपाली भाषाको कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
श्रम संसारलाई नागरिक एपमा समेत आबद्ध गराएको जानकारी दिएको छ।
प्रकाशित: २४ श्रावण २०८२, शनिबार