Technology Khabar २४ श्रावण २०८२, शनिबार
काठमाडौं ।
जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) को प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीसँग सबैभन्दा नजिकको सूर्य-जस्तै तारा ‘अल्फा सेन्टाउरी ए’ वरिपरि एउटा बाह्या ग्रह (एक्सोप्लानेट) को सम्भावना देखिएको बताएका छन्। यो सम्भावित ग्रह पृथ्वीबाट केवल चार प्रकाशवर्ष टाढा रहेको ‘अल्फा सेन्टाउरी’ त्रिसूर्य प्रणालीमा अवस्थित छ।
खगोलशास्त्रीहरूको टोलीले जेडब्लूएसटीको मिरी प्रयोग गरी विशेष ‘कोरोनाग्राफिक मास्क’ लगाएर तारा प्रकाश हटाइ कम उज्यालो वस्तुहरूको अध्ययन गरे, जसमा एउटा सम्भावित ग्रह करिब १०,००० गुणा कम उज्यालो देखिएको छ।
स्पेस डटकमका अनुसार यो सम्भावित ग्रह अल्फा सेन्टाउरी ए को ‘ह्याबिटेबल जोन’ अर्थात् पानी तरल अवस्थामा रहन सक्ने दूरीमा भए पनि, ग्यासयुक्त ग्रह भएकोले जीवनको सम्भावना भने कम देखिएको बताइएको छ। यद्यपि, यो खोज वैज्ञानिकहरूका लागि अत्यन्तै उत्साहजनक उपलब्धि मानिएको छ।
अल्फा सेन्टाउरी ए वरिपरि ग्रह भेटिएको खण्डमा, यो हालसम्मकै सूर्य-जस्तै उमेर र तापक्रम भएको तारामा प्रत्यक्ष देखिएको पहिलो ग्रह हुनेछ। साथै यसको दूरी ताराबाट जम्मा दुई एस्ट्रोनोमिकल युनिट (एयू) रहेको छ, जुन पृथ्वी-सूर्यको दुरीको दोब्बर हो।
नासाको एक्सोप्लानेट साइन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक तथा परियोजनाका सह-अनुसन्धाता चार्ल्स बाइचम्यानले भने, “हाम्रो नजिक रहेको यो प्रणालीबाट ग्रहसम्बन्धी यथार्थपरक डाटा संकलन गर्न पाउनु एउटा ठूलो अवसर हो।”
हालसम्म अल्फा सेन्टाउरी प्रणालीमा दुई ग्रहको पुष्टि भइसकेको छ जुन ‘प्रोक्सिमा सेन्टाउरी’ नामक रातो ड्वार्फ अर्थात् पुड्के तारामा रहेका छन्। तर यो नयाँ पत्ता लागेको ग्रहको अस्तित्व पुष्टि हुन अझै धेरै अध्ययन आवश्यक छ।
नवीनतम अवलोकनहरूमा यो सम्भावित ग्रह फेरि देखिएन, तर कम्प्युटर सिमुलेसनहरूका अनुसार, ग्रह तारासँग यति नजिक हुनसक्छ कि उपकरणले दृश्य पक्रन समेत नसकेको स्पेस डटकम उल्लेख गर्दछ। आगामी दिनमा जेडब्लूएसटी र २०२७ मा प्रक्षेपण हुने ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ ले यसको पुष्टि गर्न मद्दत गर्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन्।
अनुसन्धान सह-नेतृत्व गरेका क्यालटेकका स्नातक विद्यार्थी अनिकेत सांग्हीका अनुसार, “दुई नजिकै रहेका ताराहरूको प्रणालीमा ग्रहको अस्तित्वले ग्रह कसरी बन्ने, बाँच्छ र विकसित हुने भन्ने हाम्रो बुझाइमा चुनौती दिन सक्छ।”
यो अनुसन्धान सम्बन्धी दुई वैज्ञानिक लेखहरू ‘द एस्ट्रोफिजिकल जर्नल लेटर्स’ मा प्रकाशनका लागि स्वीकृत भइसकेका छन्।
प्रकाशित: २४ श्रावण २०८२, शनिबार