Technology Khabar २४ श्रावण २०८२, शनिबार
काठमाडौं ।
सोनीले पाँच वर्षमा प्लेस्टेशन ५ कन्सोलको ८ करोडभन्दा बढी युनिटहरू बिक्री गरेको छ। साथै यस वर्ष विशेष भिडियो गेमहरूको अभावको बाबजुद गत वर्षभन्दा बढी कन्सोलहरू बिक्री भएको उल्लेख गरिएको छ।
सोनीले आफ्नो पछिल्लो वित्तीय नतिजाहरू जारी गरेको छ जसले पीएस५ कन्सोल अपेक्षा गरिएको भन्दा राम्रो बिक्री भइरहेको देखाएको उल्लेख गरिएको छ।
यस कन्सोलको लागि नयाँ विशेष खेलहरूको अभावको बाबजुद पनि यो सफलता प्राप्त भएको जनाइएको छ। गेमरहरूले कन्सोल किन्न जारी राखेको र यस वर्षको अप्रिल र जुनको बीचमा, २.५ मिलियन युनिटहरू बिक्री भएको बताइएको छ।
यसको बिक्री गत वर्षको सोही अवधिको भन्दा पनि राम्रो भएको र बिक्री सुरु भएदेखिको कुल संख्या ८ करोड ३० लाख कन्सोलमा पुगेको छ। एक्सबक्स कन्सोलले सोही अवधिमा “केवल” ३ करोड युनिटहरू बिक्री गरेको अफवाह रहेको छ।
प्लेस्टेशन नेटवर्कमा हाल १२ करोड ३० लाख “सक्रिय प्रयोगकर्ताहरू” रहेका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ७ करोड बढी हो। यसैबीच, अप्रिलदेखि जुनमहिनासम्मको पहिलो त्रैमासिकमा पीएस४ र पीएस५ का लागि ६५.९ मिलियन गेमहरू बिक्री भएका थिए जुन सन् २०२४ को तुलनामा १ करोड २० लाखले बढी भएको बताइएको छ जसमा केवल ६९ लाख मात्र फस्र्ट–पार्टी टाइटल्स (सोनी आफैंले विकास गरेको भिडियो गेमहरू) थिए।
निन्टेन्डोले एक महिनामा मारियो कार्ट वल्र्डको ६० लाख युनिट बिक्री गर्नुका साथै कुनै पनि प्रयोगकर्ता आधार नभएको नयाँ कन्सोलको बिक्रीलाई ध्यानमा राख्दा, सोनीको फस्र्ट–पार्टी (पहिलो–पक्ष) खेल संख्या यस बिन्दुमा अलि अनिश्चित देखिन्छ। यद्यपि, पीएस प्लसको सफलता र प्रत्येक सफ्टवेयर बिक्रीबाट यसले लिने कटौतीको साथ, सोनीले चिन्ता लिनु पर्ने कुनै कारण नभएको जस्तो देखिन आएको उल्लेख गरिएको छ।
पीएस५ ले लगभग पीएस४ र पीएस३ जस्तै परिणामहरू प्राप्त गरिरहेको हुनाले यसले सोनीलाई खुशी बनाउने उल्लेख गरिएको छ। ती कन्सोलहरू वित्तीय पुनः प्राप्तिको अवधिमा बिक्री गरिएका थिए भने विश्वव्यापी विपत्तिको बीचमा प्लेस्टेशन ५ लन्च गरिएको थियो। कोरोनाभाइरस महामारी चरम सीमामा थियो भने चिप अभाव र आपूर्ति श्रृंखला समस्याहरूले गर्दा प्लेस्टेशन ५ लन्च पछि पनि महिनौंसम्म शेल्फहरू रित्तै रहेका थिए।
सोनीसँग संगीत र चलचित्रहरूदेखि प्रविधिसम्म विविध आम्दनी श्रोत रहेको छ। कम्पनीले पहिलो त्रैमासिकमा आफ्ना सबै डिभिजनहरूको बिक्रीमा १७.८ बिलियन अमेरिकी डलर उत्पन्न गर्न सफल भएको बताइएको छ जुन गत वर्षको भन्दा अलि बढी हो। चलचित्रहरूले २.३ बिलियन अमेरिकी डलर आम्दनी गरेको छ भने गेमिङले ६.३ बिलियन अमेरिकी डलर भन्दा बढी आम्दनी गरेको बताइएको छ।
यी तथ्याङ्कहरूले सोनीको कन्सोलको लागि भिडियो गेमहरू प्रस्तुत गर्न सुरु गर्ने माइक्रोसफ्टको रणनीतिलाई व्याख्या गर्ने उल्लेख गरिएको छ। ८ करोड सम्भावित खरीददारहरूको आधार यसको आफ्नै भन्दा दोब्बर भन्दा बढीले ठूलो भएको र यसले अत्यन्त सफल परिणामहरू देखाउँदैछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ श्रावण २०८२, शनिबार