ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड

Technology Khabar २४ श्रावण २०८२, शनिबार

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
राष्ट्रिय परिचयपत्र बनाउँदै सेवाग्राहीहरु। फाइल तस्बिर। टेक्नोलोजीखबर

काठमाडौं ।

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँ जसो भिड लाग्न थालेको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवा सुविधा प्राप्त गर्न अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सेवाग्राहीको भिड लाग्न थालेको हो।

साउन महिनायता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भिड लाग्न थालेको जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र शाखाका नायबसुब्बा रमेशप्रसाद सिग्देलले बताए। नासु सिग्देलका अनुसार हाल दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही आउने गरेका छन्।

राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीमा करिब ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेको पनि सिग्देलले जानकारी दिए।

उनका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले सेवा लिन आउने ज्येष्ठ नागरिकको सङ्ख्या उल्लेख्य रहेको हो। राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापसँगै ज्येष्ठ नागरिकको अवस्थालाई दृष्टिगत गरी पछिल्लो तीन/चार दिनयता कार्यालय समयपछि पनि सेवा प्रवाह गर्दै आएको उनले जानकारी दिए। उनले बेलुका ७:३० देखि ८ बजेसम्म नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिरहेको बताए।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको जति नै भिड लागे पनि एक दिनमा बढीमा ७० जनासम्मको मात्र विवरण दर्ता हुने गरेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर वसन्त निरौलाले जानकारी दिए। निरौलाका अनुसार ज्येष्ठ नागरिकको शारीरिक अवस्थाका कारण उनीहरूको आवश्यक सबै विवरण दर्ता गराउनमा समय लाग्ने गरेको छ। कुनैबेला राष्ट्रिय परिचयपत्रको सर्भर ( प्रणाली) डाउन भइदिने हुनाले पनि विवरण दर्ता गर्न ढिलो हुने गरेको उनले बताए।

सामाजिक सुरक्षा भत्ता, बैङ्कमा खाता खोल्न, राहदानी बनाउनलगायतका विभिन्न सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र चाहिने भएपछि सदरमुकाम आएको सर्वसाधारणले बताएका छन्। जिल्ला प्रशासन कार्यालयमा भिड भएका कारण राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराउन तीन दिनसम्म लागेको सेवाग्राहीको भनाइ छ।

सिदिङ्वा गाउँपालिका-४ साब्लाखुकी कमला लिम्बूले दुई दिनसम्म पर्खेर मङ्गलबार बेलुका ७ बजेपछि राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्तासहितको काम सकाएको बताइन्। राष्ट्रिय परिचयपत्रकै लागि दुई दिनसम्म लाइनमा बसेर कार्यालय समयपछि पनि जिल्ला प्रशासन कार्यालयबाट सेवा पाउँदा खुसी लागेको लिम्बूले बताइन्।

लिम्बू जस्तै धेरै सेवाग्राहीले दुईदेखि तीन दिनसम्म लाइनमा बसेर राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएको बताएका छन्। राष्ट्रिय परिचयपत्रका लागि गाउँदेखि सदरमुकाम फुङलिङसम्म आउनु परेको र दुईदेखि तीन दिनसम्म पर्खनुपर्दा निकै हैरानी खेप्नु परेको सर्वसाधारणले दुःखेसो गर्ने गरेका छन्।

तीन दिनसम्म फुङलिङ बजारमा होटेलमा बसेको र गाउँदेखि सदरमुकाम आउँदाजाँदाको खर्चसमेत गर्दा राष्ट्रिय परिचयपत्र बनाउन निकै खर्चालु भएको सर्वसाधारण बताउँछन्। राष्ट्रिय परिचयपत्रबिना आफ्नो वडा तथा पालिकामा काम नहुने भएपछि सदरमुकाम आउन बाध्य हुनु परेको सर्वसाधारणले बताएका छन्।

सबैखाले अन्य काम जस्तै राष्ट्रिय परिचयपत्रको काम पनि पालिकाबाटै भइदिएको भए आफूहरूलाई धेरै सहज हुने सर्वसाधारणको भनाइ छ।

जिल्लामा अहिलेसम्म ७७ हजार ६५५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिइन्।

सहायक प्रजिअ खड्काका अनुसार राष्ट्रिय परिचयपत्रका लागि साउन १५ गतेसम्म फाराम विवरण दर्ता गराएको उक्त सङ्ख्यामध्ये ४१ हजार २६६ पुरुष र ३६ हजार ४२२ जना महिला रहेका छन्। गोरखापत्रबाट

प्रकाशित: २४ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया