अनलाइन सञ्चारमाध्यम सम्बन्धी नयाँ व्यवस्था संविधान विपरित भएको पत्रकार महासंघको ठहर

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आज एक भन्दै प्रेस विज्ञप्ति जारी गर्दै महासंघले विद्यमान संविधानले परिकल्पना नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरणको व्यवस्था संविधानको प्रावधान र संघीय शासन प्रणाली विपरित रहेको महासंघको ठहर गरेको छ।

यो व्यवस्थालाई पत्रपत्रिका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता गर्ने एकतन्त्रीय पंचायतकालीन प्रावधानकै निरन्तरताका रुपमा लिन सकिन्छ भनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरोकारवाला पक्षसँग व्यापक छलफल र परामर्शमा नीति निर्माण गर्ने लोकतान्त्रिक संस्कार र मान्यता विपरित सरकार र संघीय संसदको मिलेमत्तोमा ल्याइएको नयाँ प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यवहारिक रहेको महासंघले बताएको छ।

एकातिर दीर्घकालीन प्रभाव पार्ने कानुनी व्यवस्था कार्यान्वयनमा आउनु, अर्कोतिर दर्ता भई सञ्चालनमा रहेका करिब पाँच हजार वटा अनलाइन सञ्चारमाध्यमको अवस्था के हुने, नवीकरण कहाँ के कसरी गर्ने भन्ने अन्यौलताबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ठाडो आदेशमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य हठात स्थगन गर्नुले थप सन्देह पैदा गरेको जनाएको छ।

अहिलेको डिजिटल युगमा पत्रपत्रिका समेत दर्ता नगर्ने कतिपय देशको अभ्यास र आमसञ्चारसम्बन्धी छाता ऐनको मस्यौदामा नै सबै सञ्चारमाध्यम पालिकामा दर्ता गर्ने प्रावधान उल्लेख गरिएको सन्दर्भमा सरकारले चालेको पछिल्लो कदमलाई उल्टो बाटोमा हिडन खोजेको अर्थमा लिन सकिने महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

सञ्चारमाध्यम यस सम्बन्धी विभागीय मन्त्रालय वा त्यस मातहतकै निकायसँग सम्बन्धित विषय हो। यो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखाएको उदासिनता आपत्तिजनक भएको नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

दर्ता भएका अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी निष्कर्षमा पुग्न महासंघले सरकारसँग अनुरोध गरेको छ।

यसका साथै विद्यमान अन्यौलता हटाई अनलाइन सञ्चारमाध्यम सहज संचालनको प्रबन्ध मिलाइ प्रेस स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गरेको छ। अन्यथा महासंघ आवश्यक परामर्शपछि आन्दोलित हुन बाध्य हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया