एआई च्याटबोटहरूको प्रयोगले वेबसाइटतर्फको ट्राफिक घटाइरहेको आरोप गुगलद्वारा अस्वीकार

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

धेरै अध्ययनहरूले एआई सर्च फिचरहरू र एआई च्याटबोटहरूको प्रयोगले प्रकाशकहरूको वेबसाइटतर्फको ट्राफिक घटाइरहेको देखाएका छन्। तर गुगलले बुधबार भने यो कुरा अस्वीकार गरेको छ। गुगलका अनुसार यसको सर्च इन्जिनबाट वेबसाइटहरूमा जाने अर्गानिक क्लिकको संख्या वर्षको तुलनामा “प्रायः स्थिर” छ, र औसत क्लिकको गुणस्तर भने अलिकति बढेको छ।

“यो तथ्याङ्क तेस्रो पक्षका रिपोर्टहरूसँग विपरीत छ, जसले गलत विधिहरू, छुट्टाछुट्टै उदाहरणहरू, वा एआई फिचर सुरु हुनुअघि भएका ट्राफिक परिवर्तनहरूका आधारमा समग्र ट्राफिक अत्यधिक घटेको दावी गर्छन्,” गुगलका उपाध्यक्ष तथा सर्च प्रमुख लिज रिडले नयाँ ब्लग पोस्टमा लेखेकी छन्।

गुगलले आफ्ना निष्कर्षहरू पुष्टि गर्न ठोस तथ्याङ्क भने सार्वजनिक गरेको छैन। यद्यपि गुगलको दाबी सही मानिए पनि, यसले एआईको असर नपरेको भन्ने अर्थ नलाग्न सक्छ। गुगलले पनि यो स्वीकार्नुपरेको छ, रिडले लेखेअनुसार “प्रयोगकर्ताको प्रवृत्ति परिवर्तन भई केही वेबसाइटमा ट्राफिक घटिरहेको छ भने केहीमा बढिरहेको छ।”

यहाँ “केही” शब्दले धेरै कुरालाई छोपेको छ, किनभने गुगलले कुन वेबसाइटहरू लाभमा छन् र कुन घाटामा भनेर तथ्याङ्क दिँदैन।

च्याटजीपीटीजस्ता च्याटबोटहरूमा पछिल्लो महिनाहरूमा ट्राफिक बढेको देखिए पनि, त्यसले अनलाइन प्रकाशकहरूले असर नपाएको भन्ने हुँदैन।

टेकक्रञ्चका अनुसार गुगलले वर्षौंअघिदेखि सर्च इन्जिनलाई अझ प्रभावकारी बनाउने प्रयास गर्दै आएको छ, जसमा हाल “एआई ओभरभ्यू” नामक एआई प्रणालीले सर्च नतिजाको शीर्षमा नै सोधिएका प्रश्नहरूको उत्तर दिने सुविधा थपिएको छ।

गुगलले केही प्रश्नहरूका लागि प्रयोगकर्तालाई एआई च्याटबोटसँग प्रत्यक्ष संवाद गर्न दिने सुविधा पनि दिएको छ। तर यसले सर्च प्रणालीमा ठुलो परिवर्तन नल्याएको गुगलको दावी छ। यसको सट्टा प्रयोगकर्ताहरू अन्य वेबसाइटमा गएर खोजी गर्न थालेको गुगल बताउँछ।

रिडका अनुसार, “मानिसहरू वास्तविक आवाज र प्रत्यक्ष अनुभव सुन्न सकिने फोरम, भिडियो, पोडकास्ट, र पोस्ट भएको साइटमा बढ्दो रूपमा जान थालेका छन्।”

अहिले गुगल डटकम इन्टरनेटमा प्रवेश गर्ने पहिलो ठेगाना नहुन पनि सक्छ। यो कुरा पहिले नै थाहा भइसकेको थियो। सन् २०२२ मै गुगलका एक कार्यकारीले टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक साइटहरूले गुगलका मुख्य उत्पादनजस्तै सर्च र म्याप्सको प्रयोगमा असर पारिरहेका बताएका थिए।

“हाम्रा अध्ययनहरूमा झन्डै ४० प्रतिशत युवाहरूले लन्च खान जाने ठाउँ खोज्दा गुगल म्याप वा सर्चमा नजानेर टिकटक वा इन्स्टाग्राममा खोज्छन् भन्ने देखिएको छ,” गुगलका वरिष्ठ उपाध्यक्ष प्रभाकर राघवनले भनेका थिए। उनी त्यतिबेला कम्पनीको नलेज एन्ड इन्फरमेसन विभाग चलाउँथे (हाल उनी प्रमुख प्रविधी अधिकारी छन्)।

अनलाइन किनमेलको खोजीका लागि अमेजन पहिलो विकल्प बनेको र जानकारी खोज्न रेडिट पहिलो गन्तव्य बनेकोमा गुगललाई लामो समयदेखि चिन्ता थियो। वर्षौंको प्रयासपछि गुगलले उपभोक्ता र व्यवसायलाई आकर्षित गर्ने उद्देश्यले गुगल सपिङमा विभिन्न फिचरहरू ल्याएको छ।

यसमा युनिभर्सल सपिङ कार्ट, स्थानीय स्टक जानकारी, अफर खोज्ने उपकरण, वेबसाइटका उत्पादन तस्बिरबाट किनमेल गर्न सकिने सुविधा आदि छन्। सन् २०२० मा गुगलले व्यापारीका लागि सपिङ लिस्टिङ निःशुल्क पनि बनाएको थियो।

यसैबीच, प्रयोगकर्ताहरू गुगल सर्चको गुणस्तर खस्किएको गुनासो गरिरहेका बेला, गुगलले रेडिटप्रति देखिएको बढी मागका कारण सर्च नतिजामा “रेडिट” फिल्टर थपेको थियो, जसलाई अहिले “फोरम्स” लेखिन्छ।

सर्च प्रणाली पहिल्यै मर्न थालेको थियो र यसै हिसाबले एआईलाई दोष दिन नमिल्ने दावीमा केही सत्यता हुन सक्छ।

गुगलको नयाँ ब्लग पोस्टले वेबसाइटहरूमा क्लिक गने तरिका परिवर्तन गर्न खोजेको देखिन्छ। अब क्लिकको संख्या नभई क्लिकको गुणस्तर हेर्न प्रकाशकहरूलाई उसले सुझाएको छ।

गुगलका अनुसार औसत क्लिक गुणस्तर बढेको छ, र अघिल्लो वर्षभन्दा अलिकति बढी “गुणस्तरीय क्लिक” वेबसाइटहरूमा पठाइरहेको छ। (गुणस्तरीय क्लिक भन्नाले प्रयोगकर्ताले तुरुन्त पछाडि फर्केर क्लिक नगरी पेजमा बसेर सामग्री हेर्ने क्लिकलाई जनाइन्छ)।

तर यो “बढी” कति हो भन्ने कुरा गुगलले खुलाएको छैन। गुगलका अनुसार एआई उत्तरबाट स्रोत साइटमा क्लिक हुने हो भने प्रयोगकर्ताले सामग्रीमा गहिरो ध्यान दिने भएकाले यस्तो क्लिक अझ मूल्यवान हुन्छ।

अझै पनि गुगल एआईलाई वेबसाइट प्रकाशकहरूका लागि अवसरको रूपमा चित्रण गर्छ। “एआई ओभरभ्यूमार्फत प्रयोगकर्ताले पहिलेभन्दा बढी लिङ्कहरू देखिरहेका छन्,” रिड लेख्छिन्। “धेरै प्रश्न र धेरै लिङ्क हुँदा वेबसाइटहरू देखिने र क्लिक हुने अवसर पनि बढ्छ।”

तर एआईले रेफरलको स्रोत बढाए पनि रिपोर्टहरू अनुसार त्यसले क्लिकको घाटा पूर्ति भने गर्न सकेको छैन। सिमिलरवेबको हालैको अध्ययन अनुसार, गुगलले मे २०२४ मा एआई ओभरभ्यू सुरु गर्दा खबरसम्बन्धी सर्चको ५६ प्रतिशतले कुनै खबर वेबसाइटमा क्लिक नगरेको देखिएको थियो, जुन मे २०२५ सम्ममा बढेर ६९ प्रतिशत पुगेको छ।

 

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया