
काठमाडौं ।
नासाले अन्ततः ‘लुनार ट्रेलब्लेजर’ मिशन छोड्ने निर्णय गरेको छ। २०० किलोग्राम तौलको यो चन्द्रयान २०२५ फेब्रुअरी २७ मा स्पेसएक्सको फाल्कन ९ रकेटबाट प्रक्षेपण भएको भोलिपल्टै सम्पर्कविहीन भयो।
त्यसपछिका महिनाहरूमा नासाले बारम्बार सम्पर्क प्रयास गर्यो, तर अन्ततः गत साता मिशन समाप्त गरिएको घोषणा गरियो।
“हामीले चाहेजस्तो नतिजा नआए पनि, लुनार ट्रेलब्लेजरजस्ता मिशनहरूले भविष्यका कम लागतका वैज्ञानिक स्याटेलाइटहरूका लागि जोखिम घटाउन र ज्ञान बढाउन मद्दत गर्छन्,” नासाको साइन्स मिसन डाइरेक्टोरेटका सह–प्रशासक निक्की फक्सले अगस्ट ४ मा जारी गरिएको विज्ञप्तिमा भने। “लुनार ट्रेलब्लेजर टोलीलाई अन्तसम्म समर्पित भएर काम गरेबापत धन्यवाद।”
९४ मिलियन डलर बराबरको लुनार ट्रेलब्लेजर मिशनको उद्देश्य चन्द्रमाबाट चन्द्र सतहमा रहेको पानीको नक्साङ्कन गर्नु थियो। यो जानकारी भविष्यका आर्टेमिस मानव मिसनहरूका लागि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको थियो। तर, यानले आफ्नो वैज्ञानिक कार्य सुरु गर्न नै पाएन।
स्पेस डटकमका अनुसार फेब्रुअरी २७ मा सम्पर्क गुमेपछि यानको सौर्य प्यानलहरू सूर्यतर्फ नघुमेका कारण ब्याट्री सकिएको हुनसक्ने नासाको अनुमान छ। विश्वभरका वैज्ञानिक र संस्थाहरूको सहयोगमा पुनः सम्पर्क प्रयास गरिएको थियो।
“लुनार ट्रेलब्लेजर चन्द्रमाबाट निकै टाढा पुगेपछि सूर्यको प्रकाश अझ बढी पाउने सम्भावना रहेको हाम्रो मोडेलले देखायो जसले ब्याट्री चार्ज गरेर रेडियो अन हुन सक्थ्यो,” नासाको जेट प्रोपल्सन ल्याबका परियोजना प्रणाली इन्जिनियर एन्ड्र्यु क्लेशले भने। “विश्व समुदायको सहयोगले यानको घुमाई, दिशा र कक्षको बुझाइमा सुधार ल्यायो। अन्तरिक्ष अन्वेषणमा सहकार्य अत्यन्त महत्त्वपूर्ण हुन्छ।”
तर यस्ता प्रयास असफल भए र नासाले औपचारिक रूपमा जुलाई ३१ मा मिशन समाप्त गरेको घोषणा गर्यो। लुनार ट्रेलब्लेजरले आफ्नो प्रक्षेपणमा टेक्सासस्थित इन्ट्युटिभ मेसिन्स कम्पनीले बनाएको दोस्रो रोबोटिक चन्द्र अवतरण यान ‘एथेना’ सँग यात्रा साझेदारी गरेको थियो।
‘एथेना’ले पनि समस्या भोग्यो। मार्चमा चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण भए पनि केही समयमै पल्टियो, जसका कारण १० दिन लामो योजना गरिएको सतह मिसन समयमै समाप्त भयो।
प्रकाशित: २२ श्रावण २०८२, बिहीबार