डिजिटल भुक्तानी सेवा प्रदायक भिसाको नेपालमा औपचारिक उपस्थिति, काठमाडौंमा खुल्यो कार्यालय

  • Technology Khabar | २१ श्रावण २०८२, बुधबार
डिजिटल भुक्तानी सेवा प्रदायक भिसाको नेपालमा औपचारिक उपस्थिति, काठमाडौंमा खुल्यो कार्यालय

काठमाडौं ।

विश्वविख्यात डिजिटल भुक्तानी सेवा प्रदायक भिसा इन्कर्पोरेटेडले नेपालमा आफ्नो पहिलो आधिकारिक कार्यालय स्थापना गरेको छ। काठमाडौंमा खोलिएको नयाँ कार्यालयसँगै भिसाले नगदरहित अर्थतन्त्र निर्माणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालमा डिजिटल भुक्तानीको विस्तार र सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो रणनीतिक कदम चालिएको हो। यसले उपभोक्ता र व्यापारी दुवैका लागि सुरक्षित, सुलभ र आधुनिक वित्तीय समाधान उपलब्ध गराउनेछ।”

यसै सन्दर्भमा भिसाले नेपाल प्रमुखको जिम्मेवारी मनोज थापालाई प्रदान गरेको छ। थापाले भिसाका बङ्गलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदलाई प्रत्यक्ष रिपोर्ट गर्ने बताइएको छ।

भिसाका अनुसार मनोज थापा यसअघि फोनपेमा नवप्रवर्तन र साझेदारी विभागको प्रमुख थिए। सीमापार भुक्तानी तथा वित्तीय समाधानको क्षेत्रमा उनले उल्लेखनीय योगदान दिएका थिए।

नेपालमा डिजिटल भुक्तानीलाई तीव्रता दिने प्रयासमा भिसाजस्तो प्रतिष्ठित संस्थासँग आबद्ध हुन पाउनु आफ्ना लागि लागि सम्मानको विषय भएको बताउँदै सुरक्षित, नवप्रवर्तनयुक्त कारोबार प्रणालीद्वारा नेपाललाई डिजिटल भविष्यतर्फ डोर्याउने आफ्नो दिगो सोचसँग भिसाको दृष्टिकोण मेल खाने थापाले बताए।

नेपालमा भिसाको आगमनसँगै डिजिटल भुक्तानीमा तीव्र परिवर्तनको अपेक्षा गरिएको छ। भिसाको नयाँ कार्यालयले बैंक, वित्तीय संस्था तथा फिनटेक स्टार्टअपहरूसँग सहकार्य गर्दै नगदरहित कारोबारलाई सहज बनाउने विश्वास गरिएको छ।

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...