Technology Khabar २१ श्रावण २०८२, बुधबार
काठमाडौं ।
एउटा नयाँ अनुसन्धानले ब्रह्माण्डको अनुमानित आयु यसअघि सोचिएकोभन्दा निकै कम हुने भविष्यवाणी गरेको छ। यसअनुसार ब्रह्माण्ड अबको १० अर्ब वर्षमा मर्न थाल्ने दावी गरिएको छ। तर यो केवल एउटा सम्भावित सिद्धान्त मात्र हो र वास्तवमा ब्रह्माण्ड कहिले अन्त्य हुन्छ भन्ने कसैलाई थाहा छैन।
ब्रह्माण्ड कसरी मर्न सक्छ भन्नेबारे दुई प्रमुख सिद्धान्त छन्: “बिग फ्रिज” भन्ने सिद्धान्तअनुसार ब्रह्माण्ड विस्तार भइरहन्छ जबसम्म सबै ताराहरूले आफ्नो ऊर्जा गुमाएर पूर्ण चिसो अर्थात् (एब्सोल्युट जिरो) मा पुग्दैनन्; र “बिग क्रन्च” भन्ने सिद्धान्तअनुसार ब्रह्माण्डको विस्तार अस्थायी मात्र हो र केही समयपछि संकुचित हुन थाल्छ र अन्ततः उल्टो बिग ब्याङ मार्फत ढल्किन्छ।
वैज्ञानिकहरू कुन सिद्धान्त बढी सम्भावित हो भन्नेमा सहमत छैनन् किनभने ब्रह्माण्ड कति तीव्र गतिमा विस्तार भइरहेको छ भन्नेमा पछिल्ला अध्ययनहरूले अनिश्चितता देखाएका छन् जसलाई कस्मोलोजिकल क्राइसिस भनिएको छ।
लाइभसाइन्सका अनुसार यो संकट समाधान गर्ने एउटा उपाय भनेको कस्मोलोजिकल कन्स्ट्यान्ट भनिने सैद्धान्तिक “जादुको अंक” को सटिक मान पत्ता लगाउनु हो, जसको प्रयोगबाट ब्रह्माण्डको विस्तारको गणना गर्न सकिन्छ। तर यसको लागि सबैभन्दा पहिले ‘डार्क एनर्जी’ को वास्तविक पहिचान गर्न आवश्यक छ। डार्क एनर्जी त्यो रहस्यमय शक्ति वा तत्व जसले ब्रह्माण्डको विस्तार चलाइरहेको जस्तो देखिन्छ।
यसै उद्देश्यले जुन ३० मा arXiv नामक प्रीप्रिन्ट सर्भरमा अपलोड गरिएको र अहिलेसम्म सहकर्मी समीक्षा नभएको अर्थात् नन पीअर रिभ्युड नयाँ शोधपत्रमा वैज्ञानिकहरूले हालैका ‘डार्क एनर्जी सर्भे (डीईएस)’ र ‘डार्क एनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट (डीईएसआई)’ का नतिजाहरूलाई अध्ययन गरेका छन्, जसले डार्क इनर्जी (‘एक्सियन्स’) नामका कणहरूले बनेको हुनसक्ने संकेत गर्छ।
एक्सियन भन्नाले निकै हलुका र शायद मात्र कहिलेकाहीं पदार्थसँग अन्तरक्रिया गर्ने परिकल्पित कणहरूलाई जनाइन्छ। वैज्ञानिकहरूको भनाइमा, यदि यी कणहरू अस्तित्वमा छन् भने ‘कस्मोलोजिकल कन्स्ट्यान्ट’ को मान ऋणात्मक हुनेछ, जसका कारण ‘बिग क्रञ्च’ हुनेछ। र उनीहरूको गणनाअनुसार यो अपेक्षा गरिएभन्दा चाँडै हुनेछ।
बिग क्रन्चका लागि तयार गरिएको नयाँ मोडेल अनुसार ब्रह्माण्डको कुल आयु करिब ३३ अर्ब वर्ष हुने वैज्ञानिकहरूको अनुमान छ। अहिले ब्रह्माण्डको उमेर करिब १३.८ अर्ब वर्ष भएको मानिन्छ, जसको अर्थ ब्रह्माण्डले आफ्नो कुल आयुको एक तिहाइभन्दा बढी भाग बिताइसकेको लाइभसाइन्सले उल्लेख गरेको छ।
यदि नयाँ समयरेखा सही हो भने ब्रह्माण्ड अन्य मोडेलहरूले भविष्यवाणी गरेभन्दा धेरै चाँडो अर्थात् अबको १० अर्ब वर्षमा विस्तार रोक्नेछ र धेरै छिटो संकुचित हुन थाल्नेछ। अन्य मोडेलहरूका अनुसार ‘बिग क्रञ्च’ सयौँ अर्ब वर्षसम्म नहुन पनि सक्छ।
तर डार्क एनर्जीको वास्तविक पहिचान अझै रहस्यमय भएकाले नयाँ मोडेल शुद्धरूपमा सैद्धान्तिक मात्र हो।
अन्य सम्भावित समयरेखा
यो अध्ययन पहिलो होइन जसले बिग क्रन्च चाँडै सुरु हुन सक्ने संकेत गरेको हो। सन् २०२२ मा वैज्ञानिकहरूले ब्रह्माण्डले अबको १० करोड वर्षमा विस्तार रोक्न सक्ने प्रस्ताव गरेका थिए। अल्बर्ट आइन्स्टाइनले समर्थन गरेको परिकल्पना अनुसार यदि ब्रह्माण्ड ‘बिग फ्रिज’ मा अन्त्य हुने हो भने यसको मृत्यु धेरै ढिलो हुनेछ।
पछिल्ला अनुसन्धानहरूले बिग फ्रिजको सम्भावित सुरु हुने सबैभन्दा चाँडो समय १ क्विनभिजिन्टिलियन वर्ष (१ पछि ७८ वटा शून्य) वा वर्ष हुनसक्ने बताएका छन्। अन्य सिद्धान्तहरूका अनुसार ब्रह्माण्डको विस्तार आकस्मिक रूपमा पटक–पटक उल्टिन सक्छ, जसले दुबै परिदृश्यको सम्भावित समयरेखालाई झनै जटिल बनाउँछ।
स्टिफन हकिङको ब्ल्याक होलसम्बन्धी कामले पनि ब्रह्माण्डमा रहेको सबै कुरा यी कुनै परिदृश्य हुनेभन्दा अगाडि नै वाष्पीकरण हुनसक्ने संकेत गर्छ। केही विज्ञहरूले हाम्रो ब्रह्माण्ड थुप्रै पुनर्जन्महरू मध्ये एक हुनसक्ने — अन्तहीन बिग ब्याङहरूको चक्र — प्रस्ताव गरेका छन्। यसो भए ब्रह्माण्ड अमर बन्नेछ।
प्रकाशित: २१ श्रावण २०८२, बुधबार