Technology Khabar २० श्रावण २०८२, मंगलवार
काठमाडौं ।
नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।
नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेको आयोजकको भनाइ रहेको छ।
‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने नाडाको भनाई छ।
नाडा अटो शोमा विशेष प्रविधिहरू प्रस्तुत गर्ने जनाएको छ। स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने अध्यक्ष करण चौधरीले जानकारी दिए।
कुन कुन ब्राण्ड सहभागी हुँदैछन् ?
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिट्री रोबोट्स, चाङ्गानको इभिटिओएल युएभी अर्थात एयर ट्याक्सी सहित १९ ओटा चारपांग्रे ब्रान्डहरू, १३ ओटा हलुका व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ ओटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदैछन्।
करीब १ लाखभन्दा बढी आगन्तुकहरुले नाडा अटो शो को भ्रमण गर्ने आयोजकले अपेक्षा गरेको छ।
प्रकाशित: २० श्रावण २०८२, मंगलवार