Technology Khabar २० श्रावण २०८२, मंगलवार
काठमाडौं ।
– प्रतिक राना मगर
सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कै नयाँ सिम कार्ड खरिदमा सर्वसाधारणहरु वर्षौँदेखि ठगिएको पाईएको छ। सेवाग्राहीहरुले अधिकतम बजार मूल्य ९० रुपैयाँ तोकिएको नेपाल टेलिकम (एनटीसी)को सिमकार्ड हाल एक सय रुपैँयामा खरिद गर्दै आएका छन्।
एक सय रुपैयाँमा किन्दै आएको एनटीसीको नयाँ सिम कार्डमा *९ रुपैयाँ मात्र ब्यालेन्स उपलब्ध हुने गरेको छ।
नयाँ सिम कार्ड लिनको लागि आवश्यक पर्ने कागजातहरुमा राष्ट्रिय परिचय पत्र, नागरिकता, ड्राइभिङ्ग लाइसेन्स वा पासपोर्ट रहेका छन्। यी मध्ये कुनै पनि कागजातहरुको प्रतिलिपी, पासपोर्ट साइजको फोटोसँगै अनलाइन केवाईसी फर्म भरेर ग्राहकले एनटीसीको नयाँ सिम कार्ड प्राप्त गर्न सक्नेछन्। सामान्यतयः एक घण्टामा नयाँ सिम कार्ड सक्रिय हुने गर्छ।
तर सरकारको स्वामित्वमा रहेको संस्था नेपाल टेलिकम (एनटीसी) ले भने नयाँ सिम कार्ड सर्वसाधारणहरुका लागि ९० रुपैयाँमा नै उपलब्ध हुने जानकारी दिएको छ।
कम्पनीले आफ्नो कार्यालयबाट सिधै किन्दा ९० रुपैयाँमा नै ग्राहकहरुले किन्न सक्ने र बजारमा समेत खुद्रा मूल्य ९० रुपैयाँ तोकिएको जानकारी दिएको छ। तर बजारमा कुनैपनि पसलमा ९० रुपैयाँमा नेपाल टेलिकमको सिम कार्ड किन्न पाईँदैन्।
टेक्नोलोजीखबरले बजारमा गरेको खोजमा पनि सिमकार्ड बिक्रेताहरुले ग्राहकहरुलाई १०० रुपैयाँमानै बेच्ने गरेको जानकारी दिएका छन्।
मध्य बानेश्वरमा स्टेशनरी पसल चलाउँदै आएका एक सिम कार्ड बिक्रेताले नाम नखुलाउने शर्तमा; यो बारेमा आफूलाई जानकारी नभएको र डिलरले पनि आफूहरुलाई प्रति सिम कार्डको लागि सय रुपैँया नै लिने गरेको बताए। साथै उनले नयाँ सिम कार्ड बिक्री गरे बापत प्रति सिम कार्डको केही कमिसन प्राप्त गर्ने पनि जानकारी दिए।
यद्यपि प्रति सिम कार्डमा कति कमिसन पाइन्छ भन्ने जानकारी भने उनले खुलाएनन्। साथै डिलरहरु भागेको खण्डमा खुद्रा बिक्रेताहरुको लगानी डुब्ने जोखिम भएको उनले थप उल्लेख गरे।
“डिलरले पनि आफूहरुलाई प्रति सिम कार्डको लागि सय रुपैँया नै लिने गरेको गरेको छ तर ९० रुपैयाँमा बेच्नुपर्छ भन्ने थाहा छैन्,” उनले टेक्नोलोजीखबरसँग भने।
त्यसैगरी संघिय संसद भवन पछाडि पत्रिका पसल संचालन गर्ने र नेपाल टेलिकमको सिम बेच्ने अर्का सिम कार्ड बिक्रेताले पनि एनटीसीको नयाँ सिम कार्ड ९० रुपैँयामा उपलब्ध हुने कुरा थाहा नभएको बताइन्।
“श्रीमानले नयाँ सिम कार्ड कहाँबाट ल्याउँछन् भन्ने कुरो आफूलाई थाहा छैन्। तर नयाँ सिम कार्ड भने सय रुपैँयामा नै बिक्री गर्नु भनेर श्रीमानले अह्राउनुभएको छ,” उनले भनिन्।
यस्तै, भक्तपुर जिल्लाको नयाँ ठिमी एरियामा खुद्रा पसल चलाउँदै आएका एक बिक्रेताले पनि १०० रुपैयाँमानै सिमकार्ड बेच्ने गरेको जानकारी दिए।
“हामीले १०० रुपैयाँमा सिमकार्ड बेच्दै आएका छौं। ९० रुपैयाँमा बेच्नुपर्छ भनेर कसैले भनेका छैनन्,” उनले भने।
यसैगरी, धादिङ्गका एक ग्राहकले टेलिफोन सम्पर्कमा नाम नबताईकन धादिङ्गमा नयाँ सिमकार्ड किन्न ११०/१२० रुपैयाँ पर्ने बताए।
“यतातिर हामीले ११०/१२० मा नयाँ सिमकार्ड किन्न पाईन्छ। तर सिमकार्ड/रिचार्ज कार्ड सहजै पाईएको छ,” ती ग्राहकले भने।
यसैबीच, नेपाल टेलिकमका एक उच्च अधिकारीले खुद्रा बजारमा सिमकार्ड ९० रुपैयाँमा बेच्नुपर्ने बताए। उनले हाल १०० रुपैयाँमा सिम बेच्नु भनेको सिधै ठगी भएको र यसमा मिलेमतो हुनसक्ने आशंका व्यक्त गरे।
“टेलिकमले ग्राहकहरुलाई ९० रुपैयाँमानै सिमकार्ड दिनुपर्ने हुन्छ। तर ग्राहकहरुले बजारमा १०० रुपैयाँ तिरिरहेका छन्,” उनले टेक्नोलोजीखबरसँग भने, “यसमा डिलरहरुसँगको मिलेमतो समेत हुनसक्छ।”
उनले यसको लागि नेपाल टेलिकमले गर्नुपर्ने बजार र डिलर अनुमगमन समेत नगरेको हुनसक्ने आशंका गरे।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्ने हो भने २०८२ जेठ महिनाको तुलनामा असारमा टेलिकमका नयाँ सिम ५१ हजार २५० ओटा थपिएको देखिन्छ। यसलाई नै आधार मान्दा पनि प्रति सिममा अतिरिक्त १० रुपैयाँको दरले हिसाब गर्दा मासिक ५ लाख १५ हजार २०० रुपैयाँ ग्राहकहरुबाट ठगी गरिएको देखिन्छ जुन वार्षिकरुपमा करिब ६१ लाख ८२ हजार रुपैयाँ हुन आउँछ।
यो रकम राजधानीको पनि केन्द्रको आधारमा ग्राहकलाई ठगेको अतिरिक्त १० रुपैयाँको हिसाब मात्र हो। यो भन्दा थप रकम काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा र दुर्गम भेगहरुका स्थानमा उठाईरहेको धादिङ्गकै ग्राहकले भनेअनुसार पनि अनुमान गर्न सकिन्छ।
यसरी अतिरिक्तरुपमा ग्राहकबाट ठगी गरेको रकम नेपाल टेलिकमको कार्यबिधिअनुसार नेपाल टेलिकमको खातामा भने जाँदैन्।
नेपाल टेलिकमले सिमकार्ड बिक्रीका लागि कार्यबिधि समेत बनाएको छ। ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रिचार्ज र सिम कार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी (तेस्रो संसोधन) कार्यबिधि २०७८’ को आधारमा कम्पनीले सिम र रिचार्ज कार्ड बिक्री बितरण गर्दै आएको छ।
उक्त कार्यविधि तत्कालिन प्रमुख व्यवसायीक अधिकृत सविना मास्के प्रधानको कार्यकालमा पारित गरिएको देखिन्छ। उनै प्रमुख व्यवसायीक अधिकृत सविना मास्के प्रधान हाल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेकी छन्।
सम्बन्धित समाचार-
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई
उक्त कार्यविधिको परिच्छेद ४ अनुसार कम्पनीले डिलर छनोट गरेर सिम बिक्री गर्ने व्यवस्था तोकिएको छ। जसमा डिलरको कार्यको अनुगमन गर्ने प्रावधानसमेत तोकिएको छ।
यसअन्तरगत वार्षिकरुपमा कम्तिमा २ पटक अनुगमन गर्नुपर्नेछ भने त्यसमा बितरण च्यानल तथा सिमकार्ड उपलब्धताको सुनिश्चितता, बिक्री दर, सिम कार्ड बिक्रीको रेकर्ड आदी कार्यको अनुगमन गर्ने जिम्मेबारी सम्बन्धित लेखा कार्यालयको हुने उल्लेख छ।
यस्तै सम्झौताअनुसार कार्य नगरेको पाईएमा डिलरलाई सम्झौताअनुसारको कारबाही गर्न सकिने सुबिधा रहेको छ।
उक्त कार्यबिधिले नै नयाँ सिमकार्ड बिक्रीमा डिलरलाई प्रति सिमकार्ड ३५ रुपैयाँ भ्याट बाहेकका दरले सेवा शुल्क दिने उल्लेख छ भने रिटेलर वा पीओएसलाई प्रति सिमकार्ड ८० रुपैयाँ करसहितको दरले कमिसन दिने उल्लेख छ।
यसमा धेरै सिमकार्ड बेच्ने रिटेलरहरुलाई थप १० प्रतिशतको कमिसनको समेत व्यवस्था रहेको छ।
उक्त कार्यविधिमा डिलरले कम्पनीबाट तोकिएको मूल्य भन्दा बढी मूल्य लिई सिम कार्ड बिक्री गरेको पाइएमा सिम कार्डको कृत्रिम अभाव सिर्जना गरेमा कम्पनीलाई हानी नोक्सानी पुर्याउने गरि कम्पनीका सिम कार्ड बिक्री बितरण गरेको पाइएमा सम्झौता अन्त्य गरि कारबाही गर्ने प्रावधान छ। तर स्रोतले भने हालसम्म टेलिकमले त्यसरी कुनैपनि डिलरहरुलाई कारबाही नगरेको जानकारी दिएको छ।
सिम बिक्रेताहरुले एकातिर टेलिकमको कमिसन समेत लिने र अर्कोतर्फ तोकिएको अधिकतम खुद्रा मुल्य भन्दा माथिको मुल्यमा सिम बेचेर ग्राहकहरुलाई ठग्दै अतिरिक्त कमाई गर्दै आएको देखिन्छ।
कार्यविधिमा हरेक आर्थिक वर्षभित्र २ पटक अनुगमन गर्ने उल्लेख भएपनि, हालसम्म कम्पनीबाट अनुगमन समेत नभएको टेलिकमका अर्का उच्च अधिकारीको भनाई छ।
यस बारेमा औपचारिकरुपमा जानकारी माग्दा नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले सिमकार्ड र रिचार्ज कार्ड बजारमा सहज रहेको र सजिलै किन्न सकिने बताए। उनले बजारमा ९० रुपैयाँमानै सिम किन्न पाईने दाबीसमेत गरे।
“बजारमा ९० रुपैयाँमानै नेपाल टेलिकमको सिमकार्ड किन्न पाइन्छ। बिग्रेको वा हराएको सिम फेर्नुपरेमा भने ५० रुपैयामानै सोही नम्बरमा नवीकरण गर्न सकिन्छ,” प्रवक्ता मानन्धरले भने।
उनकाअनुसार हाल सिमकार्ड र रिचार्ज कार्डमा कुनै अफर राखिएको छैन्।
तर बजारमा सरकारी टेलिकम कम्पनीकै सिम बिक्रीमा वर्षौंदेखि ग्राहक ठगी हुँदै आएको भेटिएको छ। यसमा सिमकार्ड खरिद गर्ने डिलरहरुको बदमासी र ठगी गर्ने मनसाय देखिएको छ भने कम्पनीका अधिकारीहरुले बजार अनुमगन गरेर डिलरहरुलाई कारबाही गर्नुको साटो ठगीलाई मौन समर्थन गरेको देखिन्छ।
*९ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको।
प्रकाशित: २० श्रावण २०८२, मंगलवार