के स्क्रीनटाइमले बालबालिकाको मस्तिष्कमा साँच्चै असर पार्छ? यस्तो छ नयाँ तथ्य

Technology Khabar २० श्रावण २०८२, मंगलवार

काठमाडौं ।

केही दिनअघि एउटी भारतीय महिला घरायसी काममा व्यस्त हुनका लागि आफ्नो कान्छो छोरालाई आइप्याड दिइन्। तर केही समयपछि उनी अलिकति असहज महसुस गर्न थालिन् बच्चालाई आईप्याड बन्द गर्ने समय भएको बताइन्। वास्तवमा उनी उसले कति बेरदेखि यो प्रयोग गरिरहेको छ वा के हेर्दैछ भन्ने निगरानी गर्न सकेकी थिइनन्।

त्यसपछि आँधीबेहेरी आएजस्तै भयो’, उनले भनिन्, ‘ऊ चिच्यायो, खुट्टा भुईँमा बजार्यो, आइप्याड अँगालोमा अड्याएर बस्यो र उनलाई टाढा धकेल्ने कोसिस गर्न थाल्यो।‘ यो एउटा पाँच वर्षे बालकको एकदम रिसाएको अवस्थामा सबै शक्ति लगाएर गरेको प्रदर्शन थियो।

उनी अगाडि भन्छिन्, साँच्चै भन्नुपर्दा त्यो मेरो लागि निकै तनावपूर्ण क्षण थियो। मेरो छोराको तीव्र प्रतिक्रिया देखेर म निकै आत्तिएँ। मेरा जेठा छोराछोरीहरू सामाजिक सञ्जाल, भर्चुअल रियलिटी र अनलाइन गेमको संसारमा प्रवेश गरिसकेका छन् र त्यो पनि कहिलेकाहीँ चिन्ताको विषय बन्छ।‘

आइप्याड सुरु भएको बेला एप्पलका सीईओ रहेका स्टीभ जब्सले आफ्ना छोराछोरीलाई यस्ता उपकरणहरू प्रयोग गर्न दिँदैनथे। बिल गेट्सले पनि आफ्ना छोराछोरीका लागि ग्याजेट प्रयोगको सीमा तोकिदिएका थिए।

बीबीसी हिन्दीका अनुसार स्क्रिन टाइम अब नराम्रा खबरसँग जोडिएको शब्दजस्तै बनेको छ। यसलाई युवामा डिप्रेशन, व्यवहार सम्बन्धी समस्या र निद्राको कमीका लागि जिम्मेवार ठहरिन्छ। प्रसिद्ध न्यूरोसाइन्टिस्ट ब्यारोनेस सुसान ग्रीनफिल्डले त इन्टरनेट र कम्प्युटर गेम्सले किशोर मस्तिष्कलाई हानि पुर्याउन सक्छन् भन्ने समेत भनिसकेकी छन्।

२०१३ मा उनले लामो स्क्रिन टाइमका नकारात्मक असरहरूको तुलना जलवायु परिवर्तनको सुरुआती चरणसँग गरेकी थिइन्—यानी त्यस्तो ठूलो परिवर्तन जसलाई मानिसहरूले गम्भीरतासाथ लिँदैनथे। आज धेरैले यस विषयलाई पहिलाको तुलनामा बढी गम्भीरतासाथ लिएका छन्। तर स्क्रिनका नकारात्मक पक्षबारे दिइने चेतावनीहरूले सायद पूर्ण तस्वीर देखाउँदैनन्।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा सम्पादकीयमा ब्यारोनेस ग्रीनफिल्डका मस्तिष्कसम्बन्धी दावीहरू “वैज्ञानिक तथ्यहरूको निष्पक्ष विश्लेषणमा आधारित छैनन्… र ती अभिभावकहरू र सर्वसाधारणलाई गलत दिशामा लैजान सक्छन्” भनिएको थियो।

बेलायतका केही अन्य वैज्ञानिकहरूले पनि स्क्रिन टाइमका नकारात्मक असरहरूबारे पक्का वैज्ञानिक प्रमाणको कमी रहेको दावी गरेका छन्। त्यसो भए के हामी आफ्ना बालबालिकाको स्क्रिन पहुँचबारे चिन्तित हुन सही दिशा मा छौँ त?
के देखिएभन्दा पनि यो अवस्था झन् खराब छ त?

बाथ स्पा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक पीट एचेल्स ती वैज्ञानिकहरूमध्ये एक हुन् जो स्क्रिन टाइमका बेफाइदाबारे पर्याप्त प्रमाणहरू नभएको विश्वास गर्छन्। उनले स्क्रिन टाइम र मानसिक स्वास्थ्य सम्बन्धी सयौँ अनुसन्धानहरूको विश्लेषण गरेका छन् र युवाहरूको स्क्रिन सम्बन्धी बानीहरूबारे ठूलो डाटासेटको अध्ययन गरेका छन्।

आफ्नो किताब ‘अनलक्ड: द रियल साइन्स अफ स्क्रिन टाइम’ मा उनले मिडियामा हाइलाइट हुने अध्ययनहरूमा प्रयोग गरिने वैज्ञानिक प्रक्रिया प्रायः अपूरा वा गलत हुने तर्क गरेका छन्। उनी लेख्छन्, “स्क्रिन टाइमका डर लाग्दा परिणामबारे बनाइएका कथाहरूलाई पक्का वैज्ञानिक तथ्यले समर्थन गर्दैन।”

२०२१ मा अमेरिकन साइकोलोजी एसोसिएसनद्वारा प्रकाशित एउटा अनुसन्धानमा पनि यस्तै कुरा गरिएको थियो।

विश्वका विभिन्न विश्वविद्यालयहरूमा आवद्ध १४ जना लेखकहरूले २०१५ देखि २०१९ सम्म प्रकाशित ३३ अध्ययनको विश्लेषण गरेका थिए। उनीहरूले फेला पारे कि स्मार्टफोन, सामाजिक सञ्जाल र भिडियो गेम प्रयोग मानसिक स्वास्थ्य समस्याको लागि ‘धेरै जिम्मेवार’ छैनन्।

केही अनुसन्धानमा स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिन हर्मोनलाई दबाउने र निद्रामा समस्या ल्याउने भनिएको छ। तर २०२४ मा संसारभरिका ११ अध्ययनहरूको समीक्षा गर्ने एक अनुसन्धानले भने सुत्नुभन्दा एक घण्टा अगाडि स्क्रिन हेर्दा निद्रामा ठूला समस्या आउने कुनै ठोस प्रमाण नभएको निष्कर्ष निकालेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

विज्ञानको समस्या

स्क्रिन टाइमसँग सम्बन्धित धेरैजसो तथ्यांक एउटा ठूला समस्याबाट ग्रस्त रहेको प्राध्यापक एचेल्स बताउँछन्। यी डाटा प्रायः ‘सेल्फ रिपोर्टिङ’ मा आधारित हुन्छन्। अर्थात् अनुसन्धानकर्ताले सिधै युवाहरूलाई उनीहरूले कति समय स्क्रिनमा बिताए र आफूलाई कस्तो महसुस भयो भनेर सोध्छन्। यस्ता ठूलो डाटासेटको व्याख्या गर्ने लाखौँ तरिका हुन सक्ने उनको भनाइ छ। उनी भन्छन्, “हामीले सहसम्बन्ध देख्दा सावधानी अपनाउनु पर्छ।”

गर्मीको मौसममा आइसक्रिमको बिक्री र छालाको क्यान्सरका लक्षणमा एकैसाथ वृद्धि देखिने उनी उदाहरण दिन्छन्। दुवै घटना गर्मी मौसमसँग सम्बन्धित छन् तर एक अर्कासँग सम्बन्धित छैनन्। आइसक्रिम छालाको क्यान्सरको कारण होइन।

उनी एक अनुसन्धान प्रोजेक्टको पनि सम्झना गर्छन्, जुन एक चिकित्सकको टिप्पणीबाट प्रेरित थियो। चिकित्सकले दुई कुरा देखेका थिए। पहिलो उनी पहिलेभन्दा बढी युवाहरूबाट डिप्रेशन र एन्जाइटीबारे कुरा सुनिरहेका थिए र दोस्रो धेरैजसो युवा क्लिनिकको वेटिङ रूममा मोबाइल फोन प्रयोग गरिरहेका थिए।

प्राध्यापक भन्छन्, “त्यसैले हामीले चिकित्सकसँग मिलेर काम गर्यौं र भन्यौं, ठीक छ, यसलाई जाँचौँ। हामी डाटाको प्रयोग गरेर यस सम्बन्धलाई बुझ्न सक्छौँ।”

अनुसन्धानमा फोनको प्रयोग र मानसिक स्वास्थ्यको समस्याबीच सम्बन्ध त थियो, तर अर्को महत्वपूर्ण पक्ष पनि भेटियो। जुन युवा डिप्रेशन वा एन्जाइटीको सामना गरिरहेका थिए, उनीहरू प्रायः एक्लोपनमा धेरै समय बिताइरहेका थिए। अन्ततः उक्त अध्ययनले मानसिक स्वास्थ्यको ती चुनौतीहरूको पछाडि वास्तविक कारण स्क्रिन टाइममात्र नभई एक्लोपन पनि थियो।

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया