Technology Khabar १९ श्रावण २०८२, सोमबार
काठमाडौं ।
केही युवाहरुले ‘ढिकी जाँतो’ वेबसाइटमार्फत् रैथाने कृषि उपजलाई बजारीकरण गर्दै आएका छन्। जुम्ला, मुस्ताङ लगायत हिमाली जिल्ला र उच्च पहाडी जिल्लामा उत्पादन हुने खाद्य सामग्री संकलन गरेर ल्याउने त्यसलाई प्रशोधन गरेर जुन जिल्लाको उत्पादन हो त्यो उपभोक्तालाई जानकारी दिएर बिक्री वितरण गर्ने गरिएको छ।
बाली भित्र्याउने समयमा ढिकी जाँतोले स्थानीय किसानहरूबाट खाद्य वस्तुहरूको संकलन गरेर ल्याउने गरेको छ। यसरी संकलित सामग्री ढिकी जाँतो प्रशोधन केन्द्रमा पुर्याई त्यहाँबाट ढिकी जाँतो प्याकेजिङ केन्द्रमा प्याकेजिङ गरिसकेपछि सामाजिक सञ्जाल, वेबसाइट, ढिकी जाँतो स्टोरमार्फत उपभोक्तको भान्सासम्म खाद्य सामग्री पुर्याउन व्यवस्था मिलाइएको छ।
यसरी शुरु भयो ढिकी जाँतो साइट
कोभिड–१९ को महामारीमा लकडाउन भएर घरमै बसिरहेका बेला चार्टर एकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आइटी इन्जिनियर अश्विन सापकोटा र उनीहरूका अन्य साथीहरू बीच स्थानीय स्तरमा उत्पादन हुने स्थानीय प्रजातिका खाद्यन्नलाई सिधै उपभोक्तको भान्सासम्म कसरी पुर्याउन सकिन्छ भनेर बृहत् छलफल भयो।
“विशेषगरी विभिन्न हिमाली तथा पहाडी क्षेत्रका कृषकहरुको स्थानीय रैथाने उत्पादनलाई उचित मूल्य प्रदान गरी उक्त उत्पादित कृषिजन्य वस्तुहरुलाई शहरी क्षेत्रका उपभोक्तासम्म पुर्याउने हेतुले ढिकी जाँतो –“फार्म फ्रम होम” अवधारणाले मूर्त रुप लियो।
‘स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीहरूलाई संकलन एवं प्रशोधन गरी उपभोक्तहरूको भान्सामा पुर्याउन हामीले छुट्टै प्रणाली स्थापित गरेका छौँ,’ सञ्चालक शर्मा भन्छन्, ‘ढिकी जाँतो वेबसाइट मार्फत उत्पादक र उपभोक्तालाई सिधै जोड्ने प्रणालीको विकास गर्ने योजना गरेका छौँ।’
ढिकी जाँतोले स्थानीय उत्पादन भनेर नै बजारीकरण गर्दै आइरहेको छ। ‘अर्गानिक मुखले भनेर मात्र हुने कुरा होइन, उत्पादन प्रक्रियादेखिनै अनुगमन हुनुपर्ने र सर्टिफाई गर्ने प्रक्रिया एवं विधि पनि लामो हुने भएकाले हाम्रो अहिलेको प्राथमिकता रैथाने उत्पादनलाई उपभोक्तामाझ पर्याउनु रहेको छ’, सञ्चालक शर्मा भन्छन्।
जुन भूगोलमा उत्पादन भएको खाद्य सामग्री हो त्यसलाई त्यही भूगोलकै भनेर जेन्यूइन खाद्य सामग्री उपभोक्ताको भान्सामा पुर्याउने गरिएको कम्पनीको दावी छ।
ढिकी जाँतोको नर्सरी चोक, ढुंगेधारा, बनस्थली र सामाखुशीबाट टोखा जाने बाटोको टोखा रोड, खरिबोट, काठमाडौंमा स्टोर रहेको छ । अनलाइनबाट अर्डर गर्ने उपभोक्ताहरूलाई ढिकी जाँतोले होम डेलिभरी गर्ने व्यवस्था मिलाएको छ।
ढिकी जाँतोले किसानले उत्पादन गरेका खाद्य सामग्री उपभोक्तसम्म पुर्याउने मात्र नभई युवालाई कृषिमा आकर्षित गराउन, किसानलाई रैथाने बाली लगाउन अभिप्रेरित गर्न तथा किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने काम एकसाथ गरिरहेको सञ्चालकहरुको दावी छ।
ढिकी जाँतोले आफूले बजारीकरण गर्ने कृषिबाली लगाउन किसानलाई प्रोत्साहित गर्दै आइरहेको छ। कम्पनीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट सहुलियतपूर्ण स्टार्टअप कर्जा पनि प्राप्त गरिसकेको छ।
ढिकी जाँतोले चामल, दाल, गेडागुडी, पिठो, च्याँख्ला एवं परम्परागत खाद्य बस्तुहरु जस्तै गुन्द्रुक, मसेउरा लगाएत अन्य रैथाने उत्पादनलाई उपभोक्तको भान्सासम्म पुर्याउँदै आइरहेको छ। साथै उत्पादनहरु विभिन्न थकाली तथा अन्य रेस्टुरेन्ट मार्फत उपभोक्तामाझ पुर्याउँदै आएको छ।
ढिकी जाँतोले विशेष गरी मुस्ताङको स्याउ, आलु, लसुन, कालो सिमि, कर्णालीको सिमि, मकै, जौ, कोदो, मार्सी चामल, चिनो, कागुनो, ओखर, जिम्बु, बेसार, बाग्लुङको भुटेको मकै, भांगो, पर्वतको जेठो बुढो चामल लगायत विभिन्न रैथाने खाद्य वपस्तुहरुको प्रशोधन, पवर्द्धन र बिक्रीवितरण गरिरहेको छ।
प्रकाशित: १९ श्रावण २०८२, सोमबार