सौर्यमण्डलमा एलियन जीवनको संकेतका लागि वैज्ञानिकहरुद्वारा चन्द्रमामा रहेको प्रख्यात अर्थराइज क्रेटरको अन्वेषण

Technology Khabar १९ श्रावण २०८२, सोमबार

सौर्यमण्डलमा एलियन जीवनको संकेतका लागि वैज्ञानिकहरुद्वारा चन्द्रमामा रहेको प्रख्यात अर्थराइज क्रेटरको अन्वेषण
एलियनहरुको सांकेतिक तस्विर। बिङमा डालए ३ को सहयोगमा तयार पारिएको।

काठमाडौं ।

इतिहासकै सबैभन्दा चर्चित फोटोमध्ये एकमा अमर बनाइएको चन्द्रमाको एउटा प्रसिद्ध क्रेटर अर्थात् विशाल खाडल अहिले सौर्यमण्डलभित्र एलियन जीवनको खोजमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

चन्द्रमाको टाढाको भागमा फैलिएको करिब ४० किलोमिटर चौडाइ भएको उक्त प्रभाव क्रेटरलाई पहिले “पास्चर टी” भनेर चिनिन्थ्यो। तर अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सले डिसेम्बर २४, १९६८ मा अपोलो ८ मिशनको क्रममा खिचेको प्रसिद्ध “अर्थराइज” फोटोमा देखिएपछि यो क्रेटर संसारभर चर्चित बन्यो।

आधा प्रकाशयुक्त पृथ्वी चन्द्रमाको सतहमाथि उदाउँदै गरेको उक्त भव्य तस्बिरको अग्रभागमा प्रस्ट देखिने क्रेटरलाई २०१८ मा “एन्डर्स’ अर्थराइज” नाम दिइएको हो।

स्पेस डटकमका अनुसार एन्डर्सको फ्लाइबाई भएको करिब ६ दशकपछि सोही क्रेटरलाई यसपटक एलियन जीवन खोज्ने उद्देश्यका साथ अर्को अन्तरिक्ष यानले फेरि अवलोकन गरेको छ।

जेयूआईसीई (जुपिटर आइसी मून्स एक्सप्लोरर) नामक अन्तरिक्ष यान २०२३ को अप्रिलमा पृथ्वीबाट प्रक्षेपण गरिएको थियो र यो सन् २०३१ मा बृहस्पतिको कक्षमा पुग्ने अपेक्षा गरिएको छ। यो यानले एक वर्षअघि चन्द्रमाबाट फ्लाइबाई गर्दै आफ्नो १० वटा वैज्ञानिक उपकरण परीक्षण गर्ने अवसर पाएको थियो।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का अनुसार, चन्द्र सतहबाट फ्लाइबाई गर्दा जेयूआईसीईले पहिलोपटक आफ्नो उपकरणहरूलाई ठोस सतहमाथि परीक्षण गर्ने मौका पायो।

त्यसमध्ये विशेष महत्त्वको थियो आरआईएमई (राडार फर आइसी मून एक्सप्लोरेशन) नामक उपकरण, जसले रेडियो तरंगको प्रतिध्वनि प्रयोग गरेर ढुंगायुक्त सतहहरूको उचाइ नाप्ने कार्य गर्छ।

ईएसएका अनुसार, बृहस्पतिका चन्द्रमाहरू यूरोपा, ग्यानिमेड र क्यालिस्टोको बरफले ढाकिएको सतहमुनि रहेका अज्ञात चट्टानी तहहरूको नक्सा बनाउन आरआईएमई उपकरण प्रयोग गरिनेछ।

आरआईएमईलाई सूक्ष्म रेडियो तरंगहरू सुन्न ‘शान्त वातावरण’ आवश्यक पर्ने भएकाले, एन्डर्स’ अर्थराइज क्रेटरबाट फ्लाइबाई गर्दा ईएसएले अन्य सबै उपकरण बन्द गरेर आरआईएमई लाई आठ मिनेट शान्तिपूर्वक काम गर्न दिएको थियो।

आरआईएमईले क्रेटर वरिपरिको उचाइ नाप्ने नक्सा तयार गर्‍यो, जसलाई नासाको एलओएलए (लुनर अर्बिटर लेजर अल्टिमिटर) जस्ता उपकरणले अघिल्लो फ्लाइबाईमा संकलन गरेका मापनसँग तुलना गरिएको थियो।

परीक्षणमा जेयूआईसीई भित्रको इलेक्ट्रोनिक न्वाइजले आरआईएमईको मापनमा असर पारेको देखिएपछि वैज्ञानिकहरूले नयाँ एल्गोरिदम विकास गर्दै महिनौंसम्म सुधारको काम गरेका थिए।

ईएसएले अब यो परियोजना सफल भएको पुष्टि गरेको छ। नयाँ नक्सामा देखिएका पहाड र खोँचहरू एलओएलएका अघिल्ला मापनसँग पूर्ण रूपमा मेल खाने देखिएको छ।

यसले आरआईएमई अब सौर्यमण्डलका सबैभन्दा ठूला चन्द्रमाहरूको सतहमुनिको नक्सा तयार गर्न सक्षम रहेको र एलियन जीवनको खोजमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रमाणित गरेको छ।

अहिले जेयूआईसीई यान अझै लामो यात्रामा छ र बृहस्पतितर्फ अगाडि बढ्नका लागि शुक्र ग्रहको गुरुत्वाकर्षण सहायता लिन शुक्रतर्फ उन्मुख छ।
ईएसएका अनुसार, अन्ततः यो यानले बृहस्पतिको सबैभन्दा ठूला चन्द्रमाहरूको ३५ पटक फ्लाइबाई गर्नेछ र सन् २०३४ को डिसेम्बरदेखि २०३५ को सेप्टेम्बरसम्म ग्यानिमेडको कक्षमा स्थायी रूपमा रहनेछ।

बृहस्पति र यसको चन्द्रमाहरूको अध्ययनले ग्यास दानव ग्रह र ग्रह प्रणालीहरूको निर्माण प्रक्रिया बुझ्न मात्र होइन, ती विशाल चन्द्रमाहरूको बरफमुनि जीवन र बासयोग्यताको संकेत खोज्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया