‘टिकटकले भाइरल बनायो’ गीत तीजलाई लक्षित गर्दै सार्वजनिक

  • Technology Khabar | १७ श्रावण २०८२, शनिबार
‘टिकटकले भाइरल बनायो’ गीत तीजलाई लक्षित गर्दै सार्वजनिक

काठमाडौं ।

सर्ट भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकलाई केन्द्रमा राखेर कलाकारहरुले तीज गीत सार्वजनिक गरेका छन्। गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला अभिनित उक्त गीतको श्रव्यदृश्य सार्वजनिक गर्न शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ गायक बमबहादुर कार्कीले गीतको अडियो र श्रव्यदृश्य पक्ष दुवै अब्बल रहेको बताए।

उनले भने, “अहिले समयअनुसारको गीत बनेको छ। पछिल्लो समय आइरहेको गीतका शैली र शब्दहरू समयअनुसार परिवर्तन भए पनि आफ्नो मौलिकता भने कायम राख्नुपर्छ, यो गीतले आफ्नो मौलिकपनसहित दर्शकको माया पाउनेमा विश्वस्त छु ।”

कलाकार केसीले गीतले सबैको मन जित्ने विश्वास व्यक्त गरे। उनले अभिनेत्री निरौलासँग गीतमा काम गर्न पाउँदा खुसी लागेको बताउदै श्रव्यदृश्य छायाङ्कन उत्कृष्ट बनेको बताए। “दीपा बहिनीसँग काम गर्दा मलाई सधैँ ऊर्जा प्राप्त हुन्छ। हामीले गीतको भावलाई श्रव्यदृश्यमा प्रस्तुत गर्न सक्दो मेहनत गरेका छौँ । यो रमाइलो माहोललाई व्यक्त गर्ने गीत बनेको छ”, उनले भने।

अभिनेत्री निरौलाले गीतको शब्द, सङ्गीत र स्वरका कारण आफू अभिनय गर्न तयार भएको बताइन्।

उक्त गीतमा गायिका थापासँगै मनोजसिंह धामीको स्वर रहेको छ । गीतमा धामीले शब्द र सङ्गीत दिएका छन्। प्रकाश भट्टले निर्देशन गरेको उक्त गीतको श्रव्यदृश्यलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो। रासस

प्रकाशित: १७ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...