Technology Khabar १७ श्रावण २०८२, शनिबार
काठमाडौं ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले कम्पनीले नयाँ डेटा सेन्टर निर्माण गरेर होस् वा कुनै ठूला कम्पनी किनेर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न थप खर्च गर्न तयार भएको बिहीबार संकेत गरेका छन्। यो निर्णय कम्पनीको लामो समयदेखि अपनाउँदै आएको खर्चमा कडाइ गर्ने नीतिबाट फरक हो।
एप्पलले माइक्रोसफ्ट र गुगलजस्ता प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोग्दै आएको छ। ती कम्पनीहरूले एआई च्याटबोट र सहायकमार्फत सयौं मिलियन प्रयोगकर्तालाई आकर्षित गरेका छन्। तर, यस्तो वृद्धिका लागि उनीहरूले ठूलो रकम खर्च गरेका छन्।
गुगलले आगामी वर्ष ८५ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ भने माइक्रोसफ्ट १०० अर्ब डलरभन्दा बढी खर्च गर्ने तयारीमा छ, मुख्यतः डाटा सेन्टर निर्माणमा। एप्पलले भने क्लाउड कम्प्युटिङका केही कामका लागि बाह्य डाटा सेन्टर प्रदायकहरूमा निर्भर रहँदै आएको छ।
यद्यपि एप्पलले केही आईफोन फिचरहरूका लागि च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईसँग सहकार्य गरे पनि, सिरी भर्चुअल सहायकजस्ता एआई प्रविधि आन्तरिक रूपमा विकास गर्ने प्रयास गरिरहेको छ। तर, सिरी सुधारको काम ढिलो भएकाले त्यसको परिणाम अर्को वर्ष मात्र देखिने भएको छ।
रोयटर्सका अनुसार आर्थिक वर्षको तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक भएपछि भएको टेलिकन्फरेन्समा विश्लेषकहरूले एप्पलले सधैं साना सम्झौतामात्रै गर्दै आएको इतिहास रहेको भन्दै एआई लक्ष्यका लागि अब फरक रणनीति अपनाउने सम्भावना छ कि भनेर सोधे।
जवाफमा सीईओ कुकले एप्पलले यस वर्ष अहिलेसम्म सातवटा साना कम्पनीहरू खरिद गरिसकेको र अब ठूला कम्पनी किन्न पनि तयार रहेको बताए। “हामी हाम्रो योजनालाई छिटो अघि बढाउन सक्ने कम्पनीहरूलाई किन्न सधैं खुला छौं। कम्पनी कति ठूलो छ भन्नेमा हामी अड्किएका छैनौं,” उनले भने।
शुक्रबार प्रि-मार्केट कारोबारमा एप्पलको सेयर १.७ प्रतिशतले बढेको थियो। एप्पलले विगतमा प्रायः अत्यन्तै विशेषज्ञ प्राविधिक टोली भएको साना कम्पनीहरू किन्दै विशेष उत्पादन निर्माण गर्ने रणनीति अपनाउँदै आएको छ। सन् २०१४ मा ३ अर्ब डलरमा बीट्स इलेक्ट्रोनिक्स खरिद गर्नु एप्पलको अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता थियो। त्यसपछि १ अर्ब डलरमा इन्टेलको मोडेम चिप व्यवसाय खरिद गरिएको थियो।
तर अब एप्पल व्यापारका हिसाबले विशेष मोडमा पुगेको छ। गूगलले एप्पललाई आईफोनमा डिफल्ट सर्च इञ्जिन बनाइराख्न वार्षिक रूपमा दिने दशौं अर्ब डलरको भुक्तानी अमेरिकी अदालतको गूगलविरुद्धको प्रतिस्पर्धा मुद्दाबाट अन्त्य हुन सक्छ। उता, पर्प्लेक्सिटीजस्ता स्टार्टअपहरू एआई प्रविधिमा आधारित ब्राउजरमार्फत गूगललाई प्रतिस्थापन गर्ने योजनामा छन्।
प्रकाशित: १७ श्रावण २०८२, शनिबार