Technology Khabar १५ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विद्युतीय व्यापार (ई-कमर्स) पोर्टलमा सूचीकरणका लागि निवेदन पेश गर्ने व्यवसायीहरुका लागि लक्षित गरेर दस्तावेज र प्रकियाबारे जानकारी गराएको छ।
विभागले गत असारमा दोस्रो पटक पोर्टलमा सूचीकरण हुन अल्टिमेटमसहित सूचना जारी गरेकोमा सूचीकरण हुन आउनेका लागि लक्षित गर्दै हालै एक सूचना प्रकाशित गरी आवश्यक कागजात र प्रक्रियाबारे अवगत गराएको हो।
सूचनामा अनलाइन फाराम सबमिट गर्दा सञ्चालकको नेपाली नागरिकता प्रमाणपत्रको प्रति, कम्पनी/व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण सहित (यदि कम्पनी रजिस्ट्रारको कार्यालयमा मात्र दर्ता भएको छ भने वाणिज्य/घरेलु /पालिका वा अन्य सम्बन्धित निकायको व्यवसाय दर्ता प्रमाणपत्र / अनुमती) स्थायी लेखा नं / मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्न आग्रह गरिएको छ।
सम्बन्धित समाचार
ई-कमर्स व्यवसाय गरिरहेकाहरु अनिवार्य सूचीकृत हुन बाणिज्य विभागको सूचना
विभागका अनुसार अनलाइन फाराम भर्दा फारममा उल्लेख गरीएका सबै विवरण भर्नु पर्नेछ भने व्यवसाय गर्ने विद्युतीय प्लेटफर्म जस्तै वेबसाइट, फेसबुक,टिकटक,इन्स्टाग्राम, आफ्नै कम्पनी/फर्म को नामबाट सञ्चालन गर्नुपर्ने र विद्युतीय प्लेटफर्ममा कम्पनीको नाम दर्ता नं, ठेगाना करदाता नं., सम्पर्क व्यक्ति र सम्पर्क नं. अनिवार्य सबैले सजिलै देख्न सक्ने गरी राख्नुपर्ने छ।
यसबाहेक सूचीकरणका लागि पेश भएका निवेदनमा आवश्यक दस्तावेज वा विद्युतीय प्लेटफर्ममा राख्नुपर्ने जानकारी पूरा नराखेको अवस्थामा विभागबाट पोर्टलमार्फत कमेन्ट पठाइन्छ र त्यसैका आधारमा सच्याएर पुन: पेश गर्नुपर्नेछ। सूचीकरण नि:शुल्क हुने र यसका लागि कुनै पनि राजस्व नलाग्ने विभागले सूचनामार्फत् स्पस्ट पारेको छ।
सूचीकरणको काम अनलाइन माध्यमबाटै हुने, सूचीकरण पछि पोर्टलमै सूचीकरण नम्बर सहितको प्रमाणपत्र आउने भएकाले देशभरका कुनै पनि ठाउँमा रहेका व्यवसायीले यसका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने विभागले प्रस्ट पारेको छ।
प्रकाशित: १५ श्रावण २०८२, बिहीबार