युट्युबले प्रयोगकर्ताको वास्तविक उमेर पत्ता लगाउन मेसिन लर्निङ प्रविधिको प्रयोग थाल्यो

Technology Khabar १५ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

युट्युबले प्रयोगकर्ताको वास्तविक उमेर पत्ता लगाउन मेसिन लर्निङ प्रविधिको प्रयोग गर्न थालेको छ। कम्पनीले अमेरिकी प्रयोगकर्ताको एउटा सानो समूहमा आगामी केही सातादेखि परीक्षण सुरु गर्ने बताएको छ, जुन सफल भएपछि अन्य बजारमा विस्तार गरिनेछ।

यस प्रविधिले प्रयोगकर्ताले खोज्ने भिडियो, हेर्ने सामग्रीको श्रेणी तथा खाताको उमेर जस्ता व्यवहारगत तथ्यांकका आधारमा उनीहरू किशोर (टिनएजर) हुन् कि होइनन् भनेर अनुमान गर्नेछ।

इन्ग्याजेटका अनुसार यदि कुनै प्रयोगकर्ता किशोर भएको ठहरिएमा, युट्युबले त्यस खातामा पर्सनलाइज्ड विज्ञापन बन्द गर्नेछ, डिजिटल भल्बिइङ टुल सक्रिय गर्नेछ र अन्य सुरक्षा उपायहरू पनि लागू गर्नेछ।

युट्युबले २०२१ देखि सुपरभाइज्ड टिन अकाउन्ट सुरु गरेसँगै किशोर प्रयोगकर्ताका लागि सुरक्षा उपायहरू थप गर्दै आएको छ। कम्पनीका अनुसार यस प्रविधिको प्रयोग अरू केही बजारमा पहिले नै भइरहेको छ र त्यहाँ राम्रो नतिजा दिएको छ।

यो प्रविधि अपनाउने एक्लो सेवा युट्युब मात्र होइन। अन्य कम्पनीहरूले पनि प्रयोगकर्ताको वास्तविक उमेर पत्ता लगाउन एआई टुलको प्रयोग गरिरहेका छन्। यद्यपि, युट्युबले गलत अनुमान भएमा त्यसको जिम्मेवारी प्रयोगकर्तामै सर्ने व्यवस्था मिलाएको छ।

यदि सिस्टमले प्रयोगकर्तालाई १८ वर्षमुनिको ठहर गरेमा, उनीहरूले क्रेडिट कार्ड वा सरकारी परिचयपत्र प्रयोग गरी आफ्नो उमेर प्रमाणित गर्न सक्नेछन्।

यसको तुलनामा मेटाले फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा यसअघि सुरु गरेको यस्तै टुलमार्फत प्रयोगकर्ताले सिस्टमले गरेको उमेर अनुमान गलत भएमा सजिलै सेटिङ परिवर्तन गर्न सक्ने सुविधा दिएको छ।

प्रकाशित: १५ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया