भारत अमेरिकामा स्मार्टफोन निर्यात गर्ने प्रमुख देश बन्न सफलः क्यानालिस

Technology Khabar १५ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

अमेरिकामा बिक्री गरिने स्मार्टफोनको प्रमुख उत्पादन केन्द्रको रूपमा भारतले चीनलाई उछिनेको छ। क्यानालिसको पछिल्लो रिपोर्टले अप्रिल–जुन अवधि (दोस्रो त्रैमासिक) को लागि सबै अमेरिकी स्मार्टफोन आयातको ४४ प्रतिशत भारतमा निर्माण गरिएको देखाएको छ।

यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि भएको बताइएको छ भने गत वर्ष भारतले सबै अमेरिकी स्मार्टफोन आयातको केवल १३ प्रतिशत र चीनले ६१ प्रतिशत हिस्सा ओगटेको थियो।

अमेरिकामा स्मार्टफोन निर्यात गर्ने प्रमुख देशको रूपमा भारतको उदयमा एप्पलले प्रमुख भूमिका खेलेको उल्लेख छ। ट्रम्प प्रशासनको “लिबरेशन डे” ट्यारिफ पछि ट्यारिफ प्रहारहरू सहन क्युपर्टिनोले आईफोन इन्भेन्ट्री भण्डारण गरिरहेको बताइएको छ।

यो कदम चीनबाट टाढा आईफोन उत्पादन विविधीकरण गर्ने एप्पलको लामो समयदेखिको प्रयासको एक हिस्सा पनि हो। एप्पलले भारतमा आईफोनहरूमा प्रारम्भिक उत्पादन कार्य गरिरहेको र क्युपर्टिनोले अर्को वर्षसम्ममा सबै अमेरिकी आईफोन उत्पादन भारतमा स्विच गर्ने योजना बनाएको अक्टोबरको एक रिपोर्टले सुझाव दिएको छ।

त्यसैगरी केवल एप्पलले मात्र नभइ अब सामसङ र मोटोरोलाले पनि भारतबाट आफ्नो स्मार्टफोन आपूर्ति बढाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

तथ्याङ्क अनुसार, दोस्रो त्रैमासिकमा १ करोड ३३ लाख ढुवानी र ४९ प्रतिशत बजार हिस्सासहित एप्पल अमेरिकी स्मार्टफोन परिदृश्यमा पहिलो स्थानमा आएको छ। सामसङ अनुमानित ८ करोड ३० लाख ढुवानी र ३१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा रहेको मोटोरोलाले ३२ लाख ढुवानी र १२ प्रतिशत बजार हिस्सा ओगटेको छ।

गुगल र टीसीएल प्रत्येकले ३ प्रतिशत बजार हिस्सा बाँडेका छन् जसमा १० लाखभन्दा कम त्रैमासिक ढुवानी भएको जनाइएको छ। दोस्रो त्रैमासिक अवधिमा अमेरिकामा कुल २ करोड ७१ लाख स्मार्टफोन ढुवानी गरिएको र जुन १ प्रतिशतको वार्षिक वृद्धि भएको बताइएको छ। वर्षको दोस्रो भागमा अमेरिकी स्मार्टफोनको माग तटस्थ रहने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया