स्मार्ट सीमा प्रणालीः युरोपमा डिजिटल सुरक्षाको नयाँ युग सुरु हुँदै

Technology Khabar १४ श्रावण २०८२, बुधबार

काठमाडौं ।

युरोपेली सङ्घ (ईयू) ले गैर–ईयू देशका नागरिकहरूको सीमाना जाँचका लागि ‘नयाँ प्रवेस र निस्कने प्रणाली’ (इन्ट्री/एक्जिट प्रणाली) यही अक्टोबर १२ गतेदेखि लागू गर्ने घोषणा गरेको छ। यो प्रणाली लागू भएपछि यात्रुहरूका पासपोर्टमा छाप (स्ट्याम्प) लगाइने पुरानो तरिका हटाइनेछ।

यस नयाँ विधिबाट युरोप आउन र फर्कन चाहने व्यक्तिको विवरण- आउँदाको मिति, फर्किने मिति, सीमा नाघ्ने प्रयास वा तोकिएको समयभन्दा बढी बस्ने अवस्था- सबै कम्प्युटर प्रणालीमा सुरक्षित गरिनेछ।

सीमा पार गर्दा यात्रुको अनुहारको फोटो र औँलाको छाप पनि लिइनेछ। यसले यात्रुको वास्तविकता पुष्टि गर्न सहयोग गर्नेछ।

युरोपेली आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने,“यस प्रणालीले हाम्रो सुरक्षा बलियो बनाउनेछ। यसले अवैध रूपमा लुकिछिपी बस्नेहरू पहिचान गर्न, नक्कली कागजात प्रयोग रोक्न र सीमामा हुने अनियमित गतिविधि घटाउन मद्दत पुर्याउनेछ।”

यो प्रणाली सन् २०१७ मै तयारी गरिएको भए पनि केही देशहरू समयमै तयार नभएकाले कार्यान्वयन ढिला भएको थियो। अहिले भने सबै देश तयार भएकाले यसलाई चरणबद्ध रूपमा लागू गरिने भएको हो।

युरोपका २७ सदस्य देशहरूमा यो नयाँ व्यवस्था लागु हुनेछ। तर आयरल्याण्ड र साइप्रसमा भने हाललाई प्रयोग गरिने छैन। यस्तै, युरोपेली सङ्घमा नपरेका तर शेंगेन क्षेत्रका सदस्य नर्वे, स्वीट्जरल्याण्ड, आइसल्याण्ड र लिचटेन्स्टाइनले पनि यस प्रणालीलाई प्रयोग गर्नेछन्।

यात्रुहरूलाई सजग बनाउनका लागि विमानस्थल, जलमार्ग, रेल मार्ग तथा अन्य नाका क्षेत्रमा सूचना दिने अभियानहरू सञ्चालन गरिने छन्। यात्रु, व्यवसाय र कर्मचारीहरूलाई प्रणालीअनुसार ढालिनका लागि छ महिना समय दिइनेछ।

ब्रिटेनको परराष्ट्र मन्त्रालयले यात्रुहरूलाई सचेत बनाउँदै भनेको छ,“यो प्रक्रिया सुरु भएपछि प्रत्येक यात्रुबाट केही समय बढी लाग्नेछ। त्यसैले सीमा पार गर्दा केही समय कुर्नुपर्ने हुन सक्छ।”

प्रारम्भमा सबै नाकामा एकैपटक लागू नगरी, पहिलो तीन महिनाभित्र आधा नाकाहरूमा प्रयोग गरिनेछ। त्यसपछि छ महिनाभित्र सबै सीमाना नाकाहरूमा पूर्ण रूपमा यो नयाँ प्रक्रिया लागू गरिने योजना छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया