Technology Khabar १४ श्रावण २०८२, बुधबार
काठमाडौं ।
इए (EA) र डाइस (DICE) ले अन्ततः ब्याटलफिल्ड ६ (Battlefield 6) को पहिलो लुक जारी गरेको छ र ट्रेलर आउने बित्तिकै गेमिङ समुदायमा ठूलो उत्साह छाएको छ। यस पटक अभियान प्याक्स आर्माटा (Pax Armata) नामक निजी सैन्य समूहमा केन्द्रित हुनेछ, जसमा विश्वभरबाट आधुनिक युद्ध, राजनीति र नयाँ पुस्ताको प्राविधिक लडाइँहरू देखिनेछन्।
ट्रेलरमा न्यूयोर्कको ब्रुकलिन ब्रिज, हिउँले ढाकिएका पहाडहरू, मरुभूमिहरू र उच्च-स्तरीय सिनेम्याटिक विनाशका दृश्यहरू देखाइएको छ। गेमको वातावरण र ध्वनि डिजाइनले वास्तविक युद्ध क्षेत्र जस्तो अनुभूति दिइरहेको छ।
सबैजना मल्टिप्लेयर गेमप्लेको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन् र अब कम्पनीले पुष्टि गरेको छ कि यसको मल्टिप्लेयर जुलाई ३१ मा मध्यरात १२ः१५ बजे (नेपाली समय) विश्वव्यापीरुपमा लाइभ इभेन्टमार्फत अनावरण हुनेछ। यस कार्यक्रममा, डेभलपरहरूले खेलको नयाँ र पुरानो मोडहरू, नक्सा, सवारी साधनहरू र सुविधाहरू सिधै देखाउनेछन्। साथै, खेलाडीहरूले आफ्नो मनपर्ने टोलीको ट्रेलर र ठूला भवनहरू ढल्ने सिनेम्याटिक मोड हेर्न सक्षम हुनेछन्।
यस पटकको सिरिजमा सिंगल प्लेयर मोड फर्किएको छ, जुन सन् २०४२ पछि पहिलो पटक भइरहेको छ। प्याक्स आर्माटा विरुद्धको अमेरिकी सेनाको मिसनको कथामा राजनीति, उच्च-प्रविधि हतियार र क्लासिक ब्याटलफिल्ड एक्शन दुवै हुनेछन्। साथै, ट्याङ्क, हेलिकप्टर, लडाकु जेट र विध्वंस पुरानो अनुभूतिसहित फर्किरहेका छन्।
लीक भएका रिपोर्टहरूका अनुसार, गेम अक्टोबर २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ, यद्यपि आधिकारिक पुष्टि हुन बाँकी छ। यो गेम पीएस ५,एक्सबक्स सिरिज एक्स/एस र पिसी प्लेटफर्महरू (स्टीम, एपिक स्टोर) मा उपलब्ध हुनेछ।
विकासकर्ताहरूले वारजोन जस्ता ठूला शीर्षकहरूलाई कडा प्रतिस्पर्धा दिन सक्ने फ्रि-टु-प्ले ब्याटल रोयाल मोडको पनि चर्चा गरेका छन्। अगस्टमा ओपन बिटा आउने चर्चा छ, जसको अर्थ मल्टिप्लेयर खेल्नेहरूले पनि प्रारम्भिक पहुँचको अवसर पाउनेछन्।
हेर्नुस् ट्रेलर भिडियो-
प्रकाशित: १४ श्रावण २०८२, बुधबार