Technology Khabar १४ श्रावण २०८२, बुधबार
काठमाडौं ।
हालैका वर्षहरूमा स्मार्टफोन संसारमा एउटा अनौठो र निराशाजनक समस्या व्याप्त छ। हाई–इण्ड फोनहरूमा र विशेष गरी ओएलईडी स्क्रिनहरूमा एक्कासी ठाडो हरियो रेखा देखा पर्ने गरेका छन्।
यो समस्याको बारेमा सुरुमा सन् २०२० को आसपास सामसङ ग्यालेक्सी एस२० सिरिज, वानप्लस ८ र ९ प्रो, र आईफोन एक्स जस्ता डिभाइसहरूका प्रयोगकर्ताहरूबाट रिपोर्टहरू देखा परेका थिए। समय बित्दै जाँदा यो समस्या थप बढ्दै गएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
ग्यालेक्सी एस२१ अल्ट्रा युगमा पुग्दा, भर्टिकल (ठाडो) नियोन लाइन (रेखा)हरू विशेष गरी हरियो रेखाहरू व्यापक टाउको दुखाइ बनेका थिए। आज, ग्यालेक्सी एस२५ र वानप्लस १३ को युगमा प्रवेश गर्दा पनि, यी चम्किला, पातलो धर्काहरू हटेका छैनन्।
हरियो रेखा सबैभन्दा सामान्य हो भने गुलाबी, सेतो र बैजनी रेखाहरू पनि पार्टीमा सामेल भएका छन् जसले गर्दा धेरै प्रयोगकर्ताहरूले एउटै कुरा सोधिरहेका छन्ः हाम्रो स्क्रिनमा के भइरहेको छ?
१. ओएलईडी विफलताको चिरफार
यो समस्याको बारेमा मूल कारण बुझ्ने क्रममा यसले ओएलईडी डिस्प्लेले कसरी काम गर्छ भनेर बुझ्न मद्दत गर्दछ। ब्याकलाइटमा निर्भर एलसीडीहरू भन्दा फरक हुने गरेको ओएलईडी प्यानलहरूले लाखौं साना सेल्फ–इमिसिभ पिक्सेलहरू प्रयोग गर्छन् जुन प्रत्येक थिन–फिल्म ट्रान्जिस्टर्स (टीएफटीहरू) र नाजुक सर्किटरीद्वारा नियन्त्रित हुन्छन्।
एउटा मात्र ट्रान्जिस्टर असफल भएको खण्डमा, परिणामहरू नाटकीय हुन सक्छन्। उदाहरणका लागि, यदि ग्रिन (हरियो) सब–पिक्सेल कोलमले आफैलाई “अन” अवस्थामा लक गर्छ भने, यसले तपाईंको डिस्प्लेमा हरियो रंगको एक भर्टिकल स्ट्राइपलाई उज्यालो बनाउन सक्छ। यो सफ्टवेयर ग्लिच नभइ यो एक भौतिक दोष हो।
यी रेखाहरू हार्डवेयर–लेभल फेल्युअर अर्थात् हार्डवयर स्तरको विफलता) को लक्षण हुन् भन्ने तथ्यमा धेरैजसो विज्ञहरू सहमत रहेका छन्। धेरै अवस्थामा, यो खराब सोल्डर जोइन्ट, कमजोर डिस्प्ले कनेक्टर वा प्यानलमा नै त्रुटिको कारणले हुन्छ र जुन महिनौं प्रयोग पछि मात्र सतहमा आउँछ।
अन्य अवस्थामा, तापले पनि विशेष भूमिका खेल्ने गर्दछ जस्तै; चार्जिङ, गेमिङ वा सफ्टवेयर अपडेट स्थापना गर्दा थर्मल स्ट्रेस (तनाव) ले पहिले नै कमजोर कम्पोनेन्टलाई किनारामा धकेल्न सक्छ।
विडम्बनाको कुरा, हरियो रेखाहरूको लागि सबैभन्दा ठूलो ट्रिगरहरू मध्ये एक भनेको सफ्टवेयर अपडेटहरू पनि हुन्। ओटीए अपडेटपछि अनगिन्ती प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेहरू फेल भएको रिपोर्ट गरेका छन्।
यद्यपि, यो सहसम्बन्ध सम्भवतः परिस्थितिजन्य जस्तो देखिन्छ। अपडेटहरूले प्रणालीलाई स्ट्रेस (तनाव) दिन्छ, रिबुटहरू आवश्यक पर्दछ, डिस्प्ले ड्राइभरहरू रिक्यालिब्रेट गर्छ र आन्तरिक तापक्रमलाई छोटो समयको लागि बढाउन सक्छ।
यदि तपाईंको ओएलईडी प्यानलमा यो समस्या छ भने यो देखिने क्षति निम्त्याउनको लागि पर्याप्त हुन सक्छ। अपडेट आफैंमा समस्या होइन तर यसले स्ट्रेस टेस्ट (तनाव परीक्षण) को प्रतिनिधित्व गर्दछ।
कुन फोनहरू बढी प्रभावित छन्?
यो समस्याबाट प्रभावित हुने फोनहरूको सूची लामो रहेको छ। सामसङको ग्यालेक्सी एस२०, एस२१ र एस२२ सिरिनहरू सबैभन्दा बढी प्रभावित भएका मध्ये केही हुन्।
एस२०+ र नोट २० अल्ट्रा यस समस्याको प्रतिनिधि डिभाइस नै बन्न पुगेका थिए भने रेडिट थ्रेडहरू र सामसङ फोरमहरू प्रयोगकर्ताहरूले आफ्ना चम्किला हरियो धर्काहरू पोस्ट गर्नेहरूले भरिएका थिए।
विशेष गरी ८टी, ९आर र ९ प्रो जस्ता वानप्लस फोनहरूमा व्यापक असफलताहरू देखिएको हुनाले कम्पनीले भारतमा आजीवन डिस्प्ले वारेन्टी लन्च गरेको थियो।
एप्पल पनि यसबाट मुक्त हुन नसकेको र केही प्रारम्भिक आईफोन एक्स एकाइहरूले “हरियो रेखा” को समस्या भोगेको उल्लेख गरिएको छ। यद्यपि एप्पलले यसलाई चाँडै हार्डवेयर दोषको रूपमा ट्रिट गर्दै र वारेन्टी अन्तर्गत प्रतिस्थापन प्रस्ताव गरेको थियो।
यो समस्या कुनै एकल ब्राण्ड वा क्षेत्रको लागि मात्र नभएको बताइएको छ। पिक्सेल ६ प्रयोगकर्ताहरू, ओप्पो र भिभो प्रयोगकर्ताहरू र केही शाओमी मालिकहरूले पनि समान समस्याहरू देखेका छन्। यी सबै डिभाइसहरूले ओएलईडी स्क्रिन साझा गर्दछन्।
उत्पादन दोषहरूः
उत्पादनमा नियमितताको कमि यो समस्याको अर्को सम्भावित कारण हुन सक्ने बताइएको छ। विशेष गरी कम्पनीहरूले पातलो डिस्प्ले, टाइट बेजेल र उच्च रिफ्रेस रेटहरूको लागि जोड दिँदा ओएलईडी प्यानलका केही ब्याचहरू अरूको तुलनामा असफलताको लागि बढी जोखिमा हुन सक्छन्।
उत्पादनको क्रममा सर्किटरीमा हेयरलाइन क्र्याक होस् वा थोरै गलत तरिकाले मिलाइएको फ्लेक्स केबल जस्ता कुनै पनि सानो दोष महिनौंपछि उज्यालो, अवाञ्छित रेखाको रूपमा प्रकट हुन सक्छ।
त्यसैगरी जलवायुले पनि यो समस्याको लागि भूमिका खेल्ने केही प्रमाणहरू भेटिएका छन्। भारत र दक्षिणपूर्व एशिया जस्ता उच्च गर्मी र ह्युमिडिटी भएका क्षेत्रहरूमा यो समस्या बढ्ने रिपोर्टहरू गरिएका छन्।
ओएलईडी प्यानलहरू मोयस्चर र थर्मल साइक्लिङ दुवैको लागि संवेदनशील हुन्छन्। त्यसैले कठोर वातावरणमा लामो समयसम्मको एक्सपोजरले वेयर एण्ड टियरको गति बढाउन सक्ने उल्लेख गरिएको छ।
के गर्न सकिन्छ?
यसको कठिन पक्ष भनेको यो समस्याको लागि कुनै सफ्टवेयर समाधान उपलब्ध छैन। यदि तपाईंको फोनमा हरियो रेखा विकास हुन्छ भने, यो लगभग सधैं स्थायी रुपमा नै रहनेछ र यसको एक मात्र वास्तविक समाधान भनेको पूर्ण स्क्रिन प्रतिस्थापन हो।
केही निर्माताहरूले यसको लागि कदम चालेका छन्। सामसङले भारतमा प्रभावित ग्यालेक्सी मोडेलहरूको लागि निःशुल्क डिस्प्ले प्रतिस्थापन प्रस्ताव गरेको छ र केही क्षेत्रहरूमा वानप्लसको लाइफटाइम वारेन्टी कार्यक्रमले वारेन्टी स्थितिको पर्वाह नगरी समस्यालाई समेट्ने गरेको छ।
तर यी उपायहरू विश्वव्यापी नभएको र धेरै प्रयोगकर्ताहरूका लागि उनीहरु आफैंले समर्थन च्यानलहरू नेभिगेट गर्नु पर्ने उल्लेख गरिएको छ।
हरियो रेखाको समस्या उद्योगको लागि एक वेक–अप कल बनेको छ। ओएलईडीले स्मार्टफोनहरूमा भिजुअल एक्सपिरियन्स (दृश्य अनुभव) लाई परिभाषित गर्न जारी राख्दा, निर्माताहरू अब पहिलो दिनमा जीवन्त रङ्गहरू मात्र नभई दीर्घकालीन विश्वसनीयता सुनिश्चित गर्न दबाबमा परेका छन्।
केही रिपोर्टहरूले सन् २०२४ देखि उत्पादन भइरहेका नयाँ एएमओएलईडी प्यानलहरूमा यस प्रकारको विफलतालाई कम गर्न डिजाइन परिवर्तनहरू समावेश गरिएको सुझाव दिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ श्रावण २०८२, बुधबार